भ्रमणयोग्य भुलभुले



सडकबाटै भुलभुले दूधकुण्ड देउधामको प्रवेशद्वार देखिन्छ । मध्य–पहाडी लोकमार्गको भुल्के  (नेर्पा)मा रोकिएका पाइला सिँढी उक्लँदै जाँदा भुलभुले दूधकुण्ड देउधाम प्रवेशद्वार पुगिन्छ । त्यहाँबाट बायाँपट्टि सातवटा ढुंगेधाराबाट आइरहेको पानी हेरिरहूँजस्तो लाग्छ । प्रवेशद्वारबाट अघि बढेका पाइला पोखरीमा पुगेपछि रोकिन्छन् । पोखरीबीचमा किराती राजा यलम्बरको लोभलाग्दो प्रतिमा देखिन्छ ।

पोखरीको दायाँ–बायाँ जताबाट गए पनि भुलभुलेको मुहान पुगिन्छ । रूखको फेदमा रहेको ढुंगाको चेप (आड)बाट पानी भुलभुल आउने भएकाले यस ठाउँलाई भुलभुले भन्न थालिएको हो । भुलभुलेको मुहानमै सानो कुवा छ । कुवाको सङ्लो पानीमा पौडिइरहेको माछा देख्दा जोकोही आनन्दित हुन्छन् । आफ्नै सुरमा पौडिइरहने माछाले भुलभुलेको शोभा बढाएकै छ । ‘माछा पहिले जस्तो थियो, अहिले पनि त्यस्तै छ,’ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाले भुलभुले दूधकुण्ड देउधाम रेखदेखका लागि खटाएका ध्यानबहादुर राईले जानकारी गराए, ‘यहाँका असला माछा कहिल्यै ठूलो हुँदैन । म सानोछँदा बाउआमाले यहाँका माछा छुए बिरामी हुइन्छ भनेर सचेत गराउँथे । यहाँ नुहाउन पाइँदैन । यहाँ चढाइएका भेटी आफूखुुसी झिक्नेको बस्तुभाउ बिरामी पर्छ ।’

ध्यानबहादुर राईको भनाइ सुनेर हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान तल्लो कात्तिकेनिवासी शिवकुमार राई अचम्मित भए । ‘अचम्म,’ हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान तल्लो कात्तिकेनिवासी राईले भने, ‘कस्तो त नुहाउन त भएन–भएन माछासमेत छुन नहुने ।’

‘यहाँका माछाले रंग परिवर्तन गर्छन् कि के हो ?,’ भुलभुलेमै भेटिएका सप्तरीनिवासी महुली लघुवित्त वित्तीय संस्था लिमिटेड दिक्तेल सहायक अधिकृत विनोदप्रसाद साहले सुनाए, ‘दुई वर्षअघि आउँदा पहेंलो माछा देखेको थिएँ । दुई वर्षपछि आउँदा ती माछा देखिएनन् ।’

भुलभुलेको मुहानछेउमै नागमाथि सुतिरहेका बूढानीलकण्ठको प्रतिमा देखिन्छ । नागबाहेकका बूढानीलकण्ठको आकृतिको ढुंगा प्राकृतिक हुन् । यसलाई रामचन्द्र राईले कलात्मक बनाएका थिए । कलात्मक बनाउँदा केही टुटफुट भए पनि पुनः जोडजाड पारिएको थियो । बूढानीलकण्ठको आकृति कलात्मक बनाउन नागचाहिँ पछि थपिएका हुन् ।

भुलभुले मुहानको दक्षिणपट्टि प्राकृतिक पोखरी बनाइएको छ । मुहानको पानी पोखरीमा जम्मा हुन्छ । प्राकृतिक पोखरीबीचमा पहिलो किराती राजा यलम्बरको पूर्णकदको प्रतिमा ठडिएको छ । कलाकार रोजन राईले बनाएको यलम्बरको प्रतिमाको फोटो खिच्न लोभिने त्यत्तिकै हुन्छन् । स्थानीय प्रतापसिंह राई (हाल : बेलायत)ले चन्दा संकलन गरेर निर्मित प्रतिमाले भुलभुलेको आकर्षण थपेको छ । प्रतापसिंहले थालेको अभियानलाई ध्यानबहादुर राईले साथ दिएका थिए ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले प्रवद्र्धन गर्न लागेको नगरका १० पर्यटकीय स्थलमध्ये भुलभुले प्राथमिकतामा परेको नगर उपप्रमुख वीणादेवी राईले जानकारी गराइन् । नगरले ४० लाख खर्चेर भुलभुले दूधकुण्ड देउधामको स्तरोन्नति गरेको थियो । आकर्षक प्रवेशद्वार, राउन्ड पोखरी, रेलिङसहितको सिँढी, ढुंगा काटेर बनाइएको कम्पाउन्ड, छानासहितको पाँचवटा फलामे बेन्च र सातवटा ढुंगेधारा जीर्णोद्धार गरिएपछि भुलभुले बेहुलीझै सिँगारिएको नगर उपप्रमुख राईले सगर्व बताइन् । उनी नगर उपप्रमुखमा निर्वाचित हुनुअघि नै मेला भर्न भुलभुले पुगेकी थिइन् ।

 

‘पहिले भुलभुले देवीथान भनिन्थ्यो,’ डा. धनप्रसाद सुवेदीले सुनाए, ‘हिजोआज पर्यटकीय स्थल बन्दै गएको छ । कामविशेषले दिक्तेल पुग्नेहरू भुलभुले पुग्न मन पराउँछन् । भुलभुलेसम्म बाटो पुग्यो । सञ्चारमाध्यम र सामाजिक सञ्जालमा बाक्लै प्रचार–प्रसार भएपछि भुलभुले आकर्षक गन्तव्य बन्दै गएको हो ।’

साबिक नेर्पा गाउँ विकास समिति–५ भुल्केमा रहेको भुलभुलेको पाखामा रहेको ढुंगाको आडबाट पानी आउने भएकाले जोकोही अचम्मित हुन्छन् । कात्तिके पूर्णिमामा लाग्ने मेला भर्न भुलभुले पुगेको डा. सुवेदीले बिर्सेका छैनन् ।

स्थानीय सरकार आएपछि भुलभुलेको स्वरूप बदलिएको छ । ‘म ६/७ वर्षको हुँदा र हिजोआजको भुलभुलेमा आकाश–पातालको फरक देखिएको छ,’ ८० वर्षीय ध्यानबहादुर राईले अतीत सम्झे, ‘पहिले यस ठाङमा जंगल थिएन । पानीचाहिँ अलि ठूलो थियो । घाँस–दाउरा, गोठाला–खेतालाले यहाँ बिसाएर पानी खान्थे ।’

हिजोआज तीनकन्या जालपादेवी, शिव, गणेश, सिद्धसिकारीको पूजाआजा गर्न भुलभुले पुग्ने बढ्दै गएका छन् । भुलभुले पुग्नेले जीर्णोद्धार गरिएको पुरानो शिव मन्दिर, जालपादेवी मन्दिर, बगैंचा र गणेशका लोभलाग्दो मूर्तिसमेत देख्न सक्छन् ।

सालिन्दा साउनको प्रत्येक सोमबार, बालाचतुर्दशी र कात्तिके पूर्णिमामा भुलभुलेमा भीड लाग्छ । मेलाविशेषमा दुई/तीन सय मानिस भुलभुले पुग्ने गरेको बताइन्छ । नत्र दैनिक १०/२० जना त पुगेकै हुन्छन् रे ।

भुलभुले मेरो पुर्खा जागमान राई पत्ता लगाएको हो नि भन्दै ध्यानबहादुर राईले खुसी व्यक्त गरे । ‘मेरा बाजे जागमान राईको भुल्केमा गोठ थियो । बजु सेतुमाया राई गोठबाट पानी भर्न भुलभुले झरिन् । पानी भर्न खोज्दा दूधको तर परेको देखिन् । उनी अचम्मित भइन्,’ राईले सुनाए, ‘अब यस्तै पानी भए पनि लैजानुपर्यो भन्ने निष्कर्ष निकालिन् । गोठ पुर्याएर पानी तताइन् । तताउँदा पानी सङ्लो देखियो । चाख्दा पानी मीठो न मीठो भयो । बजुले बाजेलाई यथार्थता सुनाइन् । तँलाई दूध खान मन लागेर यस्तो सुनाउँदै छस् भनेर बाजेले बजुलाई झपारिन् ।’

बजुले प्रतिकार गरिनन् । त्यसपछि ? ‘बाजे पनि एक दिन पानी भर्न भुलभुले झरे । त्यतिबेला बाँसको ढुंग्रोमा पानी भर्ने गरिन्थ्यो । बाजेले पनि भुलभुलेमा दूधको तरसरिको पानी देखे,’ उनले प्रसंग जोडे, ‘हातले पानी उभाएर खाँदा पानी दूधभन्दा मीठो भयो रे । त्यसपछि बाजेले पानी गोठ पुर्याए । दूधजस्तो पानी तताउँदा सङ्लो भयो । लगत्तै मेरो बाजे अर्थात् जागमान राईले भुलभुले दूधकुण्ड भनेर यस ठाउँको नामकरण गरे । यो संवत् १९६० भन्दाअघिको कुरा हो । बाजे १२० वर्षसम्म बाँच्नुभएको थियो ।’

त्यतिबेला निश्चित तिथिमितिमा मात्रै भुलभुलेमा दूधसरिको पानी देखिन्थ्यो । जुन पानी जागमान साम्पाङ राई र सेतुमाया राईले देखेका थिए । भुलभुलेमा पहिल्यैदेखि दूध चढाइन्थ्यो । धुपबत्ती बालिन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्