बाहुनीडाँडा (खोटाङ) । सुर्तीभित्र गाँजा लुकाई अवैध कारोबार गर्दै गरेको अवस्थामा साबिक बाहुनीडाँडा–१ बयक्ताका सुवास राई पक्राउ परेका छन् ।
काँग्रेस खोटाङ क्षेत्र नम्बर १ का क्षेत्रीय सदस्यसमेत रहेका राई ७ किलो गाँजासहित बुधबार दिउँसो ५ बजे आफ्नै घरबाटै पक्राउ परेको इलाका प्रहरी कार्यालय हलेसी प्रमुख दिनेश खरेलले बताए ।
पक्राउ परेका उनलाई बुधबार साँझ सात बजेतिर इलाका प्रहरी कार्यालय हलेसी चलान गरिएको थियो । एकरात इप्रका हलेसी राखी बिहीबार १० बजे दिक्तेल पुर्याइएको इलाका प्रहरी कार्यालय हलेसी प्रमुख खरेलले जानकारी गराए ।
‘अहिले हामी लागूऔषध कारोबारीसँग छौं,’ जानकारीका लागि पहिलोपटक टेलिफोन गर्दा हुर्लुङ पुगेका उनले भने, ‘विस्तृत जानकारी दिक्तेल पुगेपछि गराउनेछु ।’
दोस्रोपटक टेलिफोन गर्दा उनले थपे, ‘पत्रकार सम्मेलनका लागि तयारी गरिरहेका छौं । पत्रकार सम्मेलनपछि प्रेस विज्ञप्ति उपलब्ध गराउनेछौं ।’
लागूऔषध कारोबारमा पक्राउ परेका राई पहिले कुखुरा पालन गर्थे । बयक्तामा कुखुरा पालेर हलेसीमा मासु पसल खोलेका थिए । मरेको कुखुराको मासु बेचेको आरोपसमेत खेपेका उनले कुखुरा पाल्न छाडेर तरकारी खेतीमा लागेका थिए ।
पहिलो र दोस्रो खेती उँभो नलागेपछि तेस्रो बाटो समातेका हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडानिवासी उनी अन्ततः कानुनले वर्जित गरेको कारोबारमा लाग्दा लागूऔषधसहित रंगेहात पक्राउ परेका हुन् ।