जुठी दमिनीको अभिव्यक्ति



जदौ हजुर ।
मालिक अलिक टाढै बस्नूस्
नाउँ लक्ष्मी, आमाबाकी एउटी छोरी
न जेठी न कान्छी
न ठूली न सानी
गरिबको घरमा बत्ती बलेकी थिएँ, हजुर बत्ती ।

तर, कर्मको खोटी
अलच्छिन मोरी
बाह्र वर्ष नपुग्दै
पोलिखाएँ बा–आमा
असारको पैह्राले किचेर
एकैचिहान परे कठै
हाट भरेर फर्केकाहरू ।

कहाँ जाने अभागिनी र
आँखाको सोझी
मावल हुत्तिएकी ।
सौतेनी माइज्यू
छोरीका रूपमा यो त डङ्किनी पो रहिछ
आमाबाबु जिउँदै खाई भन्दै
भुत्ल्याउने गर्थी ।

हजुर मालिक, मेरो बिहे भएको होइन
ढाँटेर के हुन्छ र
सौतेनी माइज्यूले उसैको भाइको
सौता हालिदिएकी
मेरी जेठी पिण्ड रोगी
म त काम गर्न आएकी
पन्ध्र पुगेर सोह्रमात्र टेकेकी ।

ऊ त्यो लालुपातेको फूलजस्तै थिएँ हजुर
यो दमिनीको कत्रो रूप भनी
र्याल काढ्थे बूढा बिष्टहरू ।

मालिक हजुर र कसैको जुठो खाएर हुर्केकी होइन
म त आएको तीन दिनमै
मुखेनीले न्वारान गरिदिई– जुठी
जेठीमाथि सौता हुन्
जुठे दमैसँग पोइल आएकी
म जुठी कान्छी ।

पुर्पुरोमा यस्तै रहेछ मालिक
सबै जुठी कान्छी भन्छन्
हाम्लाई यस्तो मायापिरती क्यै थाहा छैन हजुर
आइमाईको जातले छोराछोरी पाउनु
कुन महाभारत भयो र

टालाटुली बटुली
आफैं सिलाकी यो चोली
जुम्रा पर्छ घरीघरी
केलाउन पस्नुपर्छ कुनाकानी ।

लाजशरम एउटै हो हजुर आइमाई जात सबैको
रुझ्नु, भिज्नु, चिसिइनु, खट्नु
सुक्खा खोकी लाग्छ, ज्वरो आउँछ रातभरि
मर्ने काल आउँदैन, बाँच्ने मन छैन मालिक ।

साह्रै नै बाँझो भएको छ,
ऊ त्यो वनमारा फैली झ्यामिएको पाखाजस्तै
सक्नुहुन्छ भने दख्खल गरिदिनुस्, जोतिदिनुस् क्यार
जदौ हजुर ।
बीउ छर्नलायक बनाइदिनुस् क्यार ।

प्रतिक्रिया दिनुहोस्