खार्तम्छा (खोटाङ) । ‘जन भयो,’ ढाल तरवार गढीबाट फर्कंदै गरेका धनप्रसाद विश्वकर्माले दुःख व्यक्त गरे, ‘धनचाहिँ छैन हजुर !’
केपिलासगढी गाउँपालिका–२, खार्तम्छा नागीका विश्वकर्मा २० छोराछोरीका बाबु हुन् । उनले ‘जन भयो’ भनेर २० छोराछोरीलाई संकेत गरेका हुन् । ‘धन’ छैन भने पनि उनको नाममा २०/२५ रोपनी पाखो बारी रहेछ ।
आफूभन्दा पाँच वर्ष जेठी (दिप्सुङ)सँग उनले बिहे गरे । संवत् २०२६ सालमा जन्मेका उनी ५५ वर्ष पुग्दा २० छोराछोरीका बाबु बने । १९ वर्षमा पहिलो बिहे गरेका उनको जेठी श्रीमतीबाट सात छोरी र चार छोराको जायजन्म भयो । जेठीपट्टिका ६ छोरीले बिहे गरिसकेका छन् ।
१९ वर्षअघि कान्छी (सुङ्देल)सँग दोस्रो बिहे गरे । नाताले भदैनी पर्ने कान्छी श्रीमती उनीभन्दा १६ वर्ष कान्छी हुन् । ‘लभ म्यारिज गरेको,’ उनले खुसी व्यक्त गरे, ‘प्रस्ताव हामी दुवैले राख्यौं । अस्वीकृत गर्ने कुरै थिएन ।’
भोजपुर बस्दै आएकी कान्छीबाट पाँच छोरी र चार छोराको जन्म भयो । सबैभन्दा कान्छो छोरा २२ महिनाका छन् । कान्छीपट्टिका एक छोरीको बिहे भइसकेको छ ।
‘अबचाहिँ बच्चाको रहर नगर्ने,’ उनले इमानदारपूर्वक भने, ‘झुक्किएर जायजन्म भइहाल्यो भने म पक्राउ पर्नु भएन ।’
नाताले फुपू–भदैनी भएकाले जेठी र कान्छी श्रीमती बाझाबाझसमेत गरेका छैनन् । ‘जिल्ला प्रशासन कार्यालय खोटाङ लगेर बिहे दर्ता गरिदिएँ,’ उनले गौरव गरे, ‘नागरिकता दिलाइदिएँ । अब केका लागि झगडा गर्नु !’
दुवै श्रीमतीलाई बराबर माया गर्ने धनप्रसाद विश्वकर्मालाई घरपरिवार चलाउन त्यति सजिलो छैन । भएको पाखो बारीबाट उत्पादित अन्नबालीले वर्षभरि खान पुग्दैन । एकताका वैदेशिक रोजगारीका लागि मलेसिया पुगे पनि सोचेजस्तो कमाइ भएन । पाँच वर्ष मलेसिया बसेर फर्केपछि मिस्त्री (घर बनाउने) काम थालेका छन् । काम सधैं पाइँदैन । तैपनि, आफू र परिवारको पालनपोषणका लागि आफ्नो टाउकोमाथि विशाल जाँतो झुन्डिएको उनले अनुभूति गरिरहेका छन् ।