बोसे–आराखा फुटबल प्रतियोगिताको उपाधि जयराम फुटबल क्लबलाई


दुर्छिम (खोटाङ) । भाषा, संस्कार, संस्कृति र पहिचानसहित स्थानीय खेलाडीलाई प्रोत्साहित गर्ने उद्देश्यले आयोजित बोसे–आराखा फुटबल प्रतियोगिता–२०८१ को उपाधि जयराम फुटबल क्लब (बाहुनीडाँडा)ले उचालेको छ ।

किरात युवा समाज (गणेशटार, दुर्छिम) द्वारा आयोजित बोसे–आराखा फुटबल प्रतियोगिता–२०८१ मा गुराँसे–पात्ले फुटबल क्लब (हलेसी) दोस्रो र किरात युवा समाज (गणेशटार, दुर्छिम) र साइनो स्पोर्ट्स क्लब (रातमाटे, दुर्छिम) सेमिफाइनलिस्ट भएका छन् ।

प्रतियोगितामा प्रथम हुने जयराम फुटबल क्लबले २० हजार रुपैयाँबराबरको बोसे (सुँगुर), दुई कठुवा आराखा (रक्सी), मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने दोस्रो हुने गुराँसे–पात्ले फुटबल क्लबले १५ हजार रुपैयाँबराबरको बोसे, दुई कठुवा आराखा, मेडल र प्रमाणपत्र हात पारेको छ ।

यसैगरी, सेमिफाइनलिस्ट किरात युवा समाज (गणेशटार, दुर्छिम) र साइनो स्पोर्ट्स क्लब (रातमाटे, दुर्छिम) ले २५ सय रुपैयाँबराबरको रातो भाले, एक कठुवा आराखा, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

मायाराजाहोंछा प्रतिष्ठान अध्यक्ष डिल्ली चाम्लिङ र महासचिव राजुविक्रम चाम्लिङले उपाधि चुम्न सफल जयराम फुटबल क्लब (बाहुनीडाँडा)लाई संयुक्त रूपमा पुरस्कार प्रदान गरेका थिए ।

किरात युवा समाजका अभिभावक कुवेर राई, जनप्रतिनिधि गमिता राई र इलाका प्रहरी कार्यालय हलेसी प्रमुख हेमन्त राईले दोस्रो बन्न सफल गुराँसे–पात्ले फुटबल क्लब (हलेसी) लाई संयुक्त रूपमा पुरस्कार प्रदान गरे ।

त्यस्तै, फुटबल मैदानका जग्गादाता दिलकुमार राई र मायाराजाहोंछा प्रतिष्ठानका महासचिव राजुविक्रम चाम्लिङले सेमिफाइनलिस्ट किरात युवा समाज (गणेशटार, दुर्छिम) र साइनो स्पोर्ट्स क्लब (रातमाटे, दुर्छिम) लाई संयुक्त रूपमा पुरस्कार प्रदान गरेका थिए ।

‘भाषा, संस्कार, संस्कृति र पहिचानसहित स्थानीय खेलाडीलाई प्रोत्साहित गर्ने उद्देश्यले सालिन्दा प्रतियोगिता आयोजना गरिँदै छ,’ किरात युवा समाज अध्यक्ष शुभलाल राईले भने, ‘वडास्तरीय फुटबल प्रतियोगितामा वडाकै खेलाडी मात्रै सहभागी हुन पाउनेछन् । यो प्रावधानले स्थानीय खेलाडीलाई प्रोत्साहित गर्न सघाउन पुग्नेछ ।’

हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिम, गणेशटारमा रहेको दिलकुमार–इन्द्रबहादुर राई रंगशालामा कात्तिक ६ गतेबाट सुरु भएको बोसे–आराखा फुटबल प्रतियोगिता–२०८१ मा ३४ फुटबल टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्