‘सातै प्रदेशवासीले विभिन्नप्रकारका नेपाली हावामा आनन्द लिई निरोगी जीवन बिताउन पाऊन्,’ कृषिविद् मदन राईले कामना गरे, ‘पृथ्वी तताउने दोषबाट मुक्त होऔं ।’
हावा पानीजस्तो जटिल नभए पनि मानिसको स्वास्थ्य र आर्थिक विकाससँग गहिरो सम्बन्ध राख्छ । पृथ्वी क्रमशः तातिनुमा मुख्य भूमिका मानिसले खेलेका छन् । उसले आफू बस्ने कोठाको हावालाई तातो र चिसो बनाउन प्रयोग गर्ने विभिन्न रासायिनिक तत्व कोइला, डिजेल, पेट्रोल र ग्यासजस्ता खनिज पदार्थ र दाउराको धुवाँ प्रमुख हुन् । ‘उत्तरी ध्रुवमा बसोवास गर्ने धनी देशका मानिसले चिसो हावालाई तताउन, भूमध्येरेखावरिपरि र गर्मी क्षेत्रमा बस्ने मानिसले तातो हवालाई चिसो बनाउँदा रासायिनिक तत्व प्रयोग गर्छन्,’ कृषिविद् राईले सुनाए, ‘त्यसले धुवाँ धेरै निकाल्छ । धुवाँकै कारण पृथ्वीको वायुमण्डल तातिएको हो ।’
‘हामीसँग हाम्रो भूगोलमा सबै समय सबैखाले हावा उपलब्ध छ । तसर्थ, हामी नेपाली भाग्यमानी हौं,’ उनले खुसी व्यक्त गरे, ‘पहाडको एक कान्लामुनि तराई–मधेसमा असोजदेखि फागुनसम्म, तराई–मधेसको एक कान्लामाथि, हिमालको एक कान्लामुनि पहाडी क्षेत्रमा बाह्रै महिना र हिमाली क्षेत्रमा चैतदेखि असोजसम्म मानिसको शरीरलाई मिल्ने र तताउन नपर्ने, र चिसो बनाउन नपर्ने हावा प्रकृतिले दिएको छ ।’ यसर्थ, हामीलाई न तातो न त चिसो बनाउन खर्च लाग्छ । न धुवाँ निकालेर पृथ्वी तताउने दोष बेहोर्नुपर्छ । स्वच्छ हावाका कारण हामी सदावहार स्वस्थ्य रहन सक्छौं । उत्पादनशील हुन र रमाउन सक्छौं ।
भौगोलिक विकटता, गरिबी र अज्ञानताले सबै नेपालीले नेपालभरिको प्रकृति बुझ्न र भोग्न पाएका छैनन् । यसबाट सबैभन्दा धेरै तराई–मधेसवासी वञ्चित छन् । शिक्षक र कर्मचारी जागिरका लागि गएकाबाहेक तराई–मधेसवासीले नेपालको पहाडी र हिमाली हावाको स्वाद लिन पाएका छैनन् । तुलनात्मक रूपमा पहाड र हिमालमा बसोवास गर्नेहरू भने तराई–मधेस झरेर त्यहाँको न्यानो हावा र सुनौला रङमा रमाउन जानिसकेका छन् । ‘तराई–मधेस, पहाड र हिमालको हावाको स्वच्छन्दता सबै प्रदेशवासीले समान रूपमा उपभोग गर्न पाउने व्यवस्था मिलाउन आवश्यक छ,’ उनले थपे, ‘अबको २० वर्षमा सबै नेपालीको एउटा घर तराई–मधेसको न्यानो भूगोलमा र अर्को घर हिमाल र पहाडको चिसो भूगोलमा होस् । सबैको दुई घर भए स्वस्थ, सम्पन्न र सुखी हुन सकिन्छ ।’
‘प्रत्येक सहर, गाउँ, टोलमा बस्ने नेपाली–नेपालीबीच थुप्रै नराम्रा कुरा भएका छन्,’ उनको भनाइ छ, ‘हेपिने, दबिने, थिचिने, मिचिने, पेलिनेदेखि कुटिने, काटिने र मारिनेसम्म कति भए कति । प्रत्येक घटना सम्झेर बदला लिने हो भने संसार लोप भइसक्थ्यो ।’ तर मानिसमा बुद्धि, विवेक, क्षमाशील, दयाभाव भएकाले नराम्रो गर्नेलाई दण्डका साथै क्षमा दिँदै गए । जसले क्षमा दिए, उसैले शान्ति र उन्नति गर्दै गए । दुःख भोग्नेले सबैलाई क्षमा गर्दै र दुःख दिनेले गल्ती अनुभूति गर्दै हेप्ने र होच्याउने होइन, एकले अर्कालाई सहयोग गर्दै हातमा हात, काँधमा काँध मिलाएर नेपाललाई संसारकै सुन्दर र सम्पन्न देश बनाउन सकिन्छ ।
‘सातै प्रदेशवासीले ठूला नदीको पानी, भारत र चीनको बजार र नेपालको तीनवटै भूगोलको स्वच्छ हवामा समान पहुँच पुगोस्,’ कृषिविद् मदन राई उत्तिकै आशावादी छन्, ‘त्यसो भयो भनेमात्रै अबको २० वर्षपछि हामीले कल्पना गरेअनुसारको समृद्ध देश बन्नेछ ।’