परोपकारी काम गर्दै जन्मदिन मनाउने अध्यक्ष


दुर्छिम (खोटाङ) । तुवाचुङ मारातिका यातायात प्रालि अध्यक्ष टेकिन राईले परोपकारी काम गरेर जन्मदिन मनाएका छन् । तुवाचुङ मारातिका यातायात प्रालि अध्यक्ष राईले शारीरिक रूपमा अशक्त किरण राईलाई आर्थिक सहयोग गरेर तीसौं जन्मदिन मनाएका हुन् ।

‘यसपटक केक काटिएन । क्यान्डल निभाइएन,’ उनले सुनाए, ‘आफन्त तथा इष्टमित्र बोलाएर भोज पनि खुवाइएन । तर पनि असाध्यै आनन्द लाग्यो । यसपटकदेखि परोपकारी काम गरेर जन्मदिन मनाउन थालेको छु । यो कामले निरन्तरता पाउनेछ ।’

किरात राई पत्रकार संघ, खोटाङ अध्यक्ष असल चरित्रले किरण राईलाई ११ हजार १११ रुपैयाँ हस्तान्तरण गरेका थिए । तुवाचुङ मारातिका यातायात प्रालि अध्यक्ष टेकिन राईले गरेको आर्थिक सहयोग हस्तान्तरण गर्दै किरात राई पत्रकार संघ, खोटाङ अध्यक्ष असल चरित्रको भने, ‘जन्मदिनमा केक किन्ने र भोज खुवाउने पैसा परोपकारी काममा सदुपयोग गर्नुलाई तपाईं–हामी सबैले अर्थपूर्ण तरिकाले हेर्न सक्नुपर्छ । यस कार्यले नेपाली समाजलाई सवक सिकाएको छ ।’

तुवाचुङ मारातिका यातायात प्रालि अध्यक्ष टेकिन राई

हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिम, डाँडाटोल खोटाङनिवासी किरण राईले आर्थिक सहयोग लिँदै खुसी व्यक्त गरेका छन् । राईले कामना गरे, ‘तुवाचुङ मारातिका यातायात प्रालि अध्यक्ष टेकिन राईलाई यस्तै परोपकारी काम गर्न पुगिरहोस् ।’

‘सामाजिक काम थालेर जन्मदिन मनाउन थालेकोमा कम्ती खुसी लागेन,’ शिक्षासेवी तथा समाजसेवी भूपेन्द्रकुमार राईको भनाइ छ, ‘यस्तो पवित्र, परोपकारी, उपकारी काम थालेकोमा टेकिन राईको उच्च प्रशंसा गर्छु ।’

‘किरात राई समुदायको सामाजिक बनावटै परोपकारी छ,’ मुन्दुम अध्येता भोगीराज चाम्लिङ भन्छन्, ‘किरात राई भनेको परोपकारी काम गर्ने, ठगठाग नगर्ने समुदाय हो । त्यसकारण टेकिन राईले जे गरेका छन्, त्यो पनि किरात राई समुदायको विशिष्टता हो । यस्तो काम धेरैभन्दा धेरै हुनुपर्छ । गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्