गाउँ


यो गाउँको नाम रामगढवा हो
यहाँ एक दिन बिताउने मौका पायौ भने
तिमीलाई थाहा हुनेछ
यो गाउँ र सुक्खाले खाएको खेतमा
कति समानता छ

सखारै यो गाउँ व्युँझन्छ
खेतमा जान्छ
हलो चलाउँछ
माटो सम्याउँछ
थाकेको गोरुलाई माया गर्छ
र गीत गाउँछ
‘जोवनवा हमरा बित गइल होऽऽऽ’
दिनभरि कडा मिहिनेत गरेर
जब पेटभरि खान पाइँदैन
तब तिमीलाई थाहा हुनेछ
खेतमा थाकेको गोरुलाई माया गर्दै
गाइने गीतको अर्थ के हो
राति यो गाउँ एकठाउँमा भेला हुन्छ
कहिले चोकटाकहाँ
कहिले बगडा भाइकहाँ
कहिले मखना काकाकहाँ
घुर ताप्छ
कुराकानी गर्छ
पानी परेन
बाली सप्रेन
बूढो साहु मरेन
परालको आगो तापेर एकरात
यहाँ बिताउने मौका पायौ भने
तिमीलाई थाहा हुनेछ
ब्याजको दर र बूढो साहुको लामो आयु
दुवै कति दुःखदायी हुन्छ

तिमी रामगढवामा एकरात जरुर बिताऊ
घर–आँगनमा डुल
खेत–खलियानमा जाऊ
र यहाँका मानिससँग भेट
तिमीलाई थाहा हुनेछ
यो गाउँ र सुक्खाले खाएको खेतमा
कति समानता छ

प्रतिक्रिया दिनुहोस्