विशेषतः किरात समुदायले जोरमुरली बजाउने गर्छन् । दुई मुरलीलाई आपसमा जोडेर बनाइने यो मुरली पूर्व–पश्चिम पहाडी भेगका युवाले गोठाला, खेताला, मेलापर्म, घाँस–दाउरा जाँदा बजाउने गर्छन् ।
यस समुदायका मानिसले विशेषगरी गाईबस्तु चराउन जाँदा यो मुरली बजाउने गर्छन् । यो मौलिक बाजामध्ये एक हो । हिजोआज जोरमुरली बजाउने घट्दै गएका छन् । प्राचीन ग्रीक बाजाहरूमध्ये यो पनि एक हो । ग्रीक सङ्गीतमा जोरमुरलीलाई ‘अउलस’ भनिन्छ । भारतमा भने जोरमुरलीलाई ‘अलगोजा’ भनिन्छ ।
सुरबाजाअन्तर्गत पर्ने जोरमुरली किरात समुदायमै लोकप्रिय मानिन्छ । यो बाजा बाँस प्रजातिको मालिङ्गोेबाट बनाइएको हुन्छ । दुईवटा उस्तै मुरली जोडेर बनाइएका हुनाले यसलाई जोरमुरली भनिएको हो । किरात समुदायका पछिल्लो पुस्ताले जोरमुरलीप्रति त्यति वास्ता गरेको देखिँदैन । त्यसैले गर्दा यो बाजा लोप हुने अवस्थामा रहेको छ । यो बाजा बजाउनमात्रै होइन, बनाउन पनि त्यत्तिकै अप्ठ्यारो भएकाले लोप हुँदै गएको हो ।
किरात समुदायको बिहेबटुल अनि सांस्कृतिक कार्यक्रमतिर आक्कलझुक्कल यो बाजा बजाइएको देख्न सकिन्छ । जोरमुरलीलाई समेटरेर थुप्रै लोकगीत सिर्जना गरिएका छन् । सिर्जित लोकगीत पूर्वी नेपालका पहाडी जिल्लामा रनवन घन्किनेगरी गाउने गरिन्छ ।