उत्तरगयामा यसपटक गोकर्णे औंसीको मेला नहुने


काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले वडा नं ४ मा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा भाद्र कृष्ण औंसीका दिन मेला नलाग्ने जनाएको छ । बाबुको मुख हेर्ने दिन बुधबार मन्दिरमा लाग्ने मेला यस वर्ष स्थगित गर्ने निर्णय नगरपालिकाले गरेको छ ।

नगर कार्यपालिकाको गत सोमबारको बैठकले उपत्यकामा कोरोना भाइरस संक्रमण बढ्दै गएकाले मन्दिरमा लाग्ने धार्मिक मेला नगर्न नगराउन आह्वान गरिएको नगर प्रमुख सन्तोष चालिसेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कोरोनाको महामारीका बेला घरघरमै सुरक्षित बसेर पितृप्रति सम्मान गर्न पनि नगरपालिकाले आह्वान गरेको छ ।

नगरपालिकाको निर्णयअनुसार मंगलबार बिहानैदेखि गोकर्णेश्वर मन्दिर छिर्ने सबै नाकामा प्रहरी राखेर धार्मिक गतिविधि गर्ने गरी जान नपाउने व्यवस्था गरिएको वडा नं ४ को अध्यक्षसमेत रहेका गोकर्णेश्वर मन्दिर क्षेत्र प्रबन्ध समिति अध्यक्ष श्रीकुमार श्रेष्ठले जानकारी दिए ।

पशुपतिनाथको मूल मन्दिर क्षेत्र कोरोनाबाट बच्न गत चैत ११ गतेदेखि नै बन्द गरिएपछि गत साउनको पहिलो सातामा गोकर्णेश्वर मन्दिरमा भक्तजनको भीड लागेको थियो । मन्दिरमा लागेको भीडका कारण कोरोना फैलने जोखिम उच्च भएपछि साउन दोस्रो सातादेखि मन्दिर बन्द छ ।

बाबुको मुख हेर्ने दिन पिता दिवंगत भएका छोराछोरी यहाँ आई तर्पण, सिदादान र पिण्डदानसहित श्राद्ध गरेमा २१ पुस्तासम्मका पितृले मुक्ति पाउने धार्मिक विश्वास रहेको छ । यसै विश्वासका आधारमा सालिन्दा कुशे औंसीसमेत भनिने भाद्रकृष्ण औंसीका दिन यहाँ हजारौँ भक्तजनको भीड लाग्ने गरेको छ । मेलाका कारण हुने भीडले जोरपाटीबाटै मूल सडक बन्द हुने गरेको थियो । यसैले भाद्रकृष्ण औंसीलाई गोकर्णे औंसी पनि भनिन्छ ।

अरूको घरमा डेरा गरिबसेका मानिस सोह्रश्राद्धमा गोकर्णेश्वर मन्दिर क्षेत्रमा श्राद्ध गर्न आउने भक्तजनको भीड लाग्छ । उत्तरगयासमेत भनेर चिनिने गोकर्णेश्वर क्षेत्रमा सत्य युगमा भगवान् विष्णुले दायाँ पाउ टेकेको विष्णुपादुका छ । जसलाई महत्वसाथ पुजिन्छ । शास्त्रीय एवम् पौराणिक रूपमा महत्वको गया क्षेत्र भए पनि सरोकार भएका सरकारी निकायको बेवास्ताका कारण गोकर्णेश्वर क्षेत्र ओझेलमा पर्दै आएको छ ।

पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बालयन्त्रको पूजा आराधना गरिने भएकाले पनि यहाँको धार्मिक एवम् सांस्कृतिक महत्व रहेको यस विषयमा खोज गरिरहेका संस्कृतिविद् गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ ले बताए ।

गोकर्णेश्वर महादेव मन्दिरका नाममा रहेको ३९६ रोपनी गुठी जग्गा मासिएपछि यहाँको पूजा विधिसमेत छोटो बनाइएको थियो ।

यस वर्ष गोकर्णेश्वर नगरपालिकाले पूजा सञ्चालनका लागि ७५ लाखको अक्षय कोष स्थापना गरेपछि साउन १ गतेदेखि पुरानै परम्पराअनुसार बाजागाजासहित पूजा आराधना सुरु भएको छ । कोरोनाका कारण मन्दिरमा लाग्ने मेला, जात्रालगायत भीडभाड हुने कार्यक्रम बन्द गरिए पनि नित्य पूजा आराधना भने यथावत् रहने समितिले जनाएको छ ।

विगत वर्षहरूमा भाद्रकृष्ण औंसीको तीन दिन अघिदेखि नै भक्तजन मन्दिर क्षेत्रमा आएर बस्ने गरेकामा यस वर्ष कोरोनाका कारण चहलपहल नभएको पुजारी जगदीशप्रसाद भट्टले जानकारी दिए । भाद्रकृष्ण औंसीका दिन गोकर्णेश्वर क्षेत्रवरपर हजारौँ मानिस दिवंगत पितृप्रति सम्मान गर्न उपस्थित हुने गरेका थिए ।

कोरोनाको जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले पनि चाडबाड, मेला, जात्रामा हुने भीडभाड यस वर्ष बन्द गर्ने निर्णय गरेको थियो । कोरोनाकै कारण यस वर्ष रातो मच्छेन्द्रनाथको जात्रासमेत रोकिएको छ । यसैगरी इन्द्रजात्रा पनि स्थगित गरिएको छ ।

हरितालिका (तीज) समेत तामझामसाथ नगर्न नगरपालिकाले नगरवासीमा अनुरोध गरेको छ । नगरपालिकाको कार्यालय र अन्तर्गतका वडा कार्यालयबाट प्रवाह गरिने अत्यावश्यकबाहेकका सबै सेवा पनि भदौ ९ गतेसम्मका लागि बन्द रहने नगर प्रमुख चालिसेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्