तुच्छ जीवनको महान् गाथा


यो धर्तीको जुठे नामको तुच्छ गरिब
नाइँ
म बन्न सक्तिनँ महान्

रामप्रसाद शर्मा
आम्मै ! आम्मै
उनको बाजेको थियो सात गाउँ लेखोपाखो विर्ता
दुई बीस हिउँद–वर्षा
मेरा बाउले उनकै घरमा काट्थे हलीको जुनी
तर कति त्यागी मान्छे
छाडिदिए त्यस्तो लाखोपाखो अरूका लागि
म त रामप्रसाद शर्मा होइन
म बन्न सक्तिनँ महान्

हिक्मतसिंह ठकुरी
लौन ! लौन
उनको बाउको तीस गाउँमा कस्तो थियो रवाफ
मेरो घरमा मुत गन्हाउने थाङ्नो थिएन
उनी घोडा छाडेर पातिँदै गर्थे रैतीका काँधमा ढलीमली
तर अचम्मकै भलादमी
त्यागिदिए त्यत्रो हालहुकुम अरूका लागि
चल्ने नै भयो सर्वत्र उनको नाम
म त हिक्मतसिंह ठकुरी होइन
म बन्न सक्तिनँ महान्

हरिनारायण झा
राम ! राम
आँगनीमा तुलसीका मठ घुम्थे चाँदीका थाली
अठार गाउँका मालिकका प्यारा छोरा उनी
आधा उमेर बित्यो उनको पिँढीमा सिनो फालीफाली
तर कति ठूला धर्माती
च्यातिदिए जातभातको पर्दा हाम्रा लागि
हुने नै भयो नि उनको पूजा
म त हरिनारायण झा होइन
म बन्न सक्तिनँ महान्

तुलसीलाल श्रेष्ठ
सत्ते ! सत्ते
किताबका खातमाथि जन्मिएका थिए
उनको बाजेदेखि राइटर खलक
सानो छँदा घुर्की लाउँथे किताब फालीफँली
तर साँच्चैका ठूला नेता
फालिदिए सर्टिफिकेट
छाडिदिए जागिर राष्ट्रका लागि
बन्ने नै भयो उनको सालिक
म त तुलसीलाल श्रेष्ठ होइन
म बन्न सक्तिनँ महान्

मसँग गुमाउन बाजेको विर्ता छैन
छाडिदिन खानदानको ठूलो हालहुकुम छैन
त्यागिदिन मेरो उच्च जातभात छैन
लात मार्न जागिरलाई कुनै सर्टिफिकेट छैन
नाइँ ! नाइँ
यो धर्तीको म जुठे नामको तुच्छ गरिब
म कदापि बन्न सक्तिनँ महान्

म खेतहरूमा गोरु जोत्छु
कारखानाहरूमा पेचकिला कस्छु
जानेको, सकेको सबै–सबै गर्छु
बच्चा बिरामी हुँदा रातभरि जाग्छु
छिमेकमा मर्दापर्दा अल्छी नमानी लास बोक्छु
छिमेकीको रमाइलोमा कम्मर भाँचेर नाच्छु
आनन्दसँग एक निद्रा बच्चाहरूलाई च्यापेर
सधैं–सधैं निदाउन पाएको सपना देख्छु
ढाँटेको भए मरिजाऊँ
बल्लबल्ल भ्याएर
जुलुसमा कहिलेकाहीं उभिन पुग्छु
नाइँ
यो धर्तीको म जुठे नामको तुच्छ गरिब
यस्तै छ मेरो तुच्छ संसार
म बन्न सक्तिनँ महान्

 

प्रतिक्रिया दिनुहोस्