पितृसम्मान दिवस घर–घरमै मनाउन आह्वान


काठमाडौं । भाद्र कृष्ण औँसीका दिन मनाइने कुशेऔँसी बुधबार वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदै छन् ।

शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभरि प्रयोग गर्न सकिने र अरू दिन उखेलिएको कशु त्यसै दिनमात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चांग निर्णायक समिति अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले बताए ।

सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गरेको धार्मिक विश्वास छ । आजका दिन घर–घरमा राखिएको कुश वर्षभरि हुने देवकार्य एवम् पितृकार्यमा प्रयोग गरिन्छ ।

पितृ सम्मान दिवस

यही अवसरमा छोराछोरीले परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाइ तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्छन् । बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् ।

उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तर–पूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ । यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिरपरिसरमा दिवंगत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भीड लाग्ने गरे पनि यस वर्ष कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले मन्दिर क्षेत्र पूर्ण रूपमा सिल गरिएको छ ।

मन्दिर छिर्ने चारवटै नाकामा प्रहरी राखिएको गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले जानकारी दिए । यसैगरी। रसुवा र नुवाकोट संगमस्थल बेत्रावतीमा लाग्ने मेला पनि यस वर्ष कोरोनाका कारण प्रभावित भएको छ । गोकर्णेश्वर नगरपालिकाले सुरक्षित रूपमा घर–घरमै पितृसम्मान दिवस मनाउन आह्वान गरेको छ ।

‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । बाबु परलोक भइसकेकाहरूले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कुल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ ।

आज थोरै दान गरे पनि हजारौं गुणा बढी फल पाइने भएकाले पुण्य चाड पनि भनिन्छ । दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ रहेको धर्मशास्त्रविद् गौतमले सुनाए । अरू दान दीनदुःखीलाई दिए पनि संकल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ ।

यस वर्ष औँसी श्राद्ध मङ्गलबार नै परेकाले धेरै भक्तजन गोकर्ण क्षेत्रमा आउन चाहे पनि उपत्यकामा बढ्दै गएको कोरोनाका कारण सबैको स्वास्थ्यलाई ध्यान दिँदै प्रवेशमा रोक लगाउनुपरेको गोकर्णेश्वर महादेव मन्दिरको पुजारी जगदीशचन्द्र भट्टले बताए । सालिन्दा भाद्रकृष्ण औँसीका दिन गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा देशका विभिन्न भाग एवम् भारतबाट हजारौँ भक्तजन पितृतृप्तिको कामनाले आउने गरेका थिए ।

(तस्बिर : रातोपाटी डटकमबाट)

प्रतिक्रिया दिनुहोस्