किताब



अब एउटा नयाँ किताब लेखिँदै छ
मानिसहरू भन्दै छन्
राजाको जुँगावाला टोपीले शिर उठाउने छैन
रानीको कुटील मुस्कान कतै पोतिने छैन
युवराजका कामुक ठट्टाहरूको विवरण हुने छैन
युवराज्ञीको शिरमा दैवी शक्तिको ताज हुने छैन
के–के होला त त्यो किताबमा ?

किताबका कुनै पनि खण्डमा
पार्टीका अड्डाहरू
कसैका टाँगन घोडा बाँध्ने अस्तबल हुने छैन
मन्त्रालयका नयाँ कुर्सीमा
पुरानो कालो छायाँले जागिर खाने छैन
व्यापारीका बगैंचाका झ्याङहरूमा
व्यभिचारका सन्तानजस्ता फलफूल फल्ने छैन
कुनै पनि सिंहदरबारका फायलहरूको सुरक्षाका निम्ति
कुनै बन्दुकको राइफल भर्ती हुने छैन
के–के होला त त्यो किताबमा ?

किताबको कुनै पनि दफामा
महिलाका स्वच्छन्द आँखा थुन्ने जेल उभिने छैन
रैथाने मानिसको किपटका पर्खालबाट ढुंगाहरू थुतेर
कसैको पुराण वाचन गर्ने आसन निर्माण हुने छैन
स्वदेशगानका धुनहरूको बाढी चल्दा
अपहेलित दलितहरूको ढुकढुकीलाई पहिरोले तान्ने छैन
मधेसको बगैंचाबाट निस्किरहेका सुगन्धहरूलाई कसैले
देशद्रोही कुर्ता र अनागरिक सुरुवाल पहि¥याउने छैन
कर्णालीको नौरंगे डाँफेलाई फसाउने ढोडिया हुने छैन
के–के होला त त्यो किताबमा ?

किताबको कुनै पनि हरफमा
लिम्बुवानको कञ्चनजंघालाई कैद गर्ने पिँजडा हुने छैन
खम्बुवानको अरूणलाई छेक्ने पहरा हुने छैन
तमुवान र मगराँतलाई बगाउने गण्डकी हुने छैन
थरूहट र तामाङसालिङको निधारमा कालो बादल हुने छैन
झुप्राहरूका छाना उडाउने बतासको तुफान हुने छैन
खलङ्गातिर झरिरहेको बहुमूल्य जडीबुटी
कुनै कथाको घाइते पात्र हुने छैन
तराईका अन्न चण्डालको लोकगीतको गेडा हुने छैन
के–के होला त त्यो किताबमा ?

किताबको कुनै पनि अनुसूचीमा
मानिसको मुटु कलेजो भेदन गर्ने तीर हुने छैन
छोरीबुहारीको अस्मितालाई मुढाझैं चिर्न खन्जहर हुने छैन
किसानको खेत थारो बस्ने मौसम हुने छैन
मजदुरहरूका हातहरूलाई तुरुङ ठोक्ने शान्ति हुने छैन
विद्यार्थीका पठनपाठन रोक्ने घडी घुम्ने छैन
गायकको गीत गाउँदा कुनै हुकुमी ताल बज्ने छैन
कविहरूको अराजक उडानलाई बाँध्ने संहिता हुने छैन
स्वर्गजस्तो यो मेरो मुलुकमा
राक्षस उत्पादन गर्ने कारखाना हुने छैन
अब तिमी नै भन
के–के होला त्यो किताबमा ?

 

प्रतिक्रिया दिनुहोस्