
टेम्के । आकर्षणको केन्द्र । पुगेरै हेर्ने उत्कट रहर । टेम्के कम्ती रमणीय लागेन । किरात संस्कृति बोकेको उन्नत र पवित्र थलो ।
मुन्दुम पदमार्गले टेम्के पुग्न केही सजिलो बनाइदिएको छ । सडक सञ्चालनमा रहे पनि बर्खामासमा पहिरो पन्छाउँदै यात्रा गर्नुपर्ने बाध्यताले पट्यारलाग्दो बन्ने नै भयो । हामी टेम्के पुग्दा सडकमा यत्रतत्र गिटी थुपारिएको थियो । पहिरोले लडाएका रुखले सडक अवरुद्ध गरेको देख्दा नमीठो लाग्यो । यस्ता समस्याले यात्रुलाई असहज बनाउने नै भयो । तसर्थ, समय–समयमा सडक मर्मत–सम्भार गरिरहनुपर्छ ।
भ्रमणमा आइपुगेकालाई खाने, बस्ने प्रबन्ध मिलाउन ढिला गर्न हुँदैन । ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, धनकुटा, भोजपुर र खोटाङे सवारीसाधन रिजर्भ गरेर टेम्के पुग्दारहेछन् । कतिपयचाहिँ टेम्केको आधारशिविरबाट पैदलै डाँडा पुगेर एकरात बिताउँदारहेछन् । टेम्केडाँडाभन्दा केही तलतिर कम्तीमा बास बस्ने प्रबन्ध मिलाउन आवश्यक देखियो । खानेपानी असुविधा छँदै छ । त्यसका लागि महाङ्कालबाट लिफ्टिङ गरेर खानेपानी व्यवस्था गर्न सकिने रहेछ । आधारशिविरलाई लिम्चुबुङ होटलका रूपमा सञ्चालनमा ल्याउन प्रयत्न थालिएको जानकारी गराइयो । यो असाध्यै सराहनीय काम हो । यस कामलाई चाँडोभन्दा चाँडो कार्यान्वयनमा ल्याउन सके पलासको फूलमा सुगन्ध भेटेसरह टावरका लागि खनिएको खाल्डोले टेम्केलाई कुरूप बनाएको छ ।

टेम्केमा टावर कहिले बन्ला भनेर कतिपयलाई जिज्ञासा लाग्नु स्वाभाविकै हो । खाल्डो खन्दा भेटिएको बहुमूल्य सामग्री गायब गरिएको हल्लाखल्ला गुपचुप रहेन । योजना सञ्चालनमा लापरबाही गरिँदा हल्लाखल्ला गर्न मलजल गरेको बुझिन्छ ।
टेम्केलाई रहरलाग्दो पर्यटकीय स्थल बनाउन सकिन्छ । यसलाई केवल सजाउनमात्रै पर्नेछ । यसलाई रहरलाग्दो पर्यटकीय स्थलमा विकसित गर्न सम्बन्धित स्थानीयले अलि धेरै चासो राख्नुपर्छ । यहींबाट मैयुङ, साल्पापोखरी (सिलिचुङ) हुँदै सोलुखुम्बुतिर यात्रा सोझ्याउन सकिन्छ । सगरमाथासँग जोड्न सके टेम्केको उचाइ झन् बढ्ने थियो ।
पंक्तिकारसहित शान्ता चाम्लिङ, मोनिका चाम्लिङ (एलिसा), गौतम चाम्लिङ, इन्द्रजित चाम्लिङ, त्याँश्वम किराती साकेला गाउँपालिका–१ बाझेच्यानडाँडा धुमाबाट ६ घन्टा पैदल हिँडेर टेम्के पुगेका थिए । हामी टेम्केमा दुई घन्टा अलमलियौं । यहाँबाट आँखाले भ्याउनेजति विचरण गरेको त्यो क्षण शब्दमा व्यक्त गर्न त्यति सजिलो छैन । टेम्केबाट धुमा फर्कन चार घन्टा लाग्यो । यसरी हामीले तम्तमाइलो टेम्के यात्रामा १२ घन्टा खर्चियौं । हामीले गरेको यात्रामध्ये टेम्के पनि त्यस्तै अविस्मरणीय बन्यो ।



