
‘राजनीतिक नेताका सोच र भ्रष्टाचारको ग्राफ हेर्यो भने अत्तालिन्छु,’ साहित्यकार बोधराज पौडेलले सुनाए, ‘लिकबाहिर गएको देशको अवस्था कसरी सुधारिएला सोचमग्न हुन्छु ।’
साहित्यका विद्यार्थीले सोच्ने यत्तिमात्रै त हो । ‘बगर र काँसहरू’ कवितासंग्रह (२०७५), ‘सोकेसको ऐना’ (२०७८) र धमिराको देवल’ (२०८२) निबन्धसंग्रह प्रकाशनमा ल्याइसकेका पौडेल पत्रकारितामा समेत रमाइरहेका छन् । उनले प्रकाश साप्ताहिक र जलस्रोत डटकममा सम्पादकको भूमिका निर्वाह गरिसकेका छन् भने अर्थ विश्लेषण डटकममा सम्पादककै भूमिकामा छन् ।
‘आधा शताब्दीको नजिक छु । ज्यानलाई सन्चै छ । अहिलेसम्म ‘होलबडी चेकअप’ गरेको छैन,’ पत्रकारसमेत रहेका पौडेलले स्वस्थ रहनुको रहस्य खुलाए, ‘अनावश्यक तनाव लिन्न । ‘यो’ वा ‘त्यो’ भएन प्राथमिकतामा पर्दैन । जे हुन्छ, राम्रोका लागि हुन्छ भन्ने मान्यता राख्छु ।’ तनाव लिइएन भने स्वस्थ रहन सकिन्छ भन्ने मान्यता राख्ने साहित्यकार बोधराज पौडेलसँग तुवाचुङ डटकमका लागि दीपेन्द्र राईले गरेको कुराकानीका सम्पादित अंश :
मासुका परिकार पकाउने जिम्मा मेरो
‘यो’ वा ‘त्यो’ भन्ने छैन । सहज तरिकाले भेटिने खानेकुरा ग्रहण गर्छु । प्रायः खाने भएरै होला दालभात मन पर्छ । मन नपर्ने केही छैन । छोरीहरूले अनुरोध गरेपछि रेष्टुरेन्ट पुग्छु । रहर पूरा गर्न उनीहरूलाई पछ्याउँछु । उनीहरूले नै ‘अर्डर’ गर्छन् । बिल तिर्दा ठुली गम्भीर हुन्छिन् भने सानी मुस्कुराउँछिन् । छोरीहरूलाई पछ्याउँदा झानेको मुस्ताङ आलु ‘अर्डर’ गर्छु । हाँसको छोयला पनि मन पर्छ । मासुका परिकार पकाउने जिम्मा मेरै हुन्छ । पक्कु र रोस्ट मीठो बनाउनुहुन्छ भनेर छोरीहरूले प्रतिक्रिया दिन्छन् ।
नफाटेसम्म अर्को किन्दिनँ
विशेषतः सिलाएको सर्ट–पाइन्ट लगाउँछु । ज्याकेट, क्याप, टोपी भने ‘रेडिमेडै’ किन्छु । नफाटेसम्म अर्को किन्दिनँ । सेतो, खरानी र नीलो रङका पोसाक प्राथमिकतामा पर्छन् । कतिपय अवस्थामा सेट मिलाउन ज्याकेट र कालो क्याप किन्छु । कपडा सिलाउन सुप्रिम सुटल्यान्ड नयाँबानेश्वर काठमाडौं र यदाकदा टिपटप कौशलटार भक्तपुर पुग्छु । अरूभन्दा कटनको सर्ट मन पर्छ । रङ नखुइलिने र भुवा नजाने कपडा हो कि होइन भनेर सोध्छु । प्रायः पाल्पाली ढाकाटोपी र चीनबाट आयातीत क्याप लगाउँछु ।

योगामा ध्यान
ध्यान र योगा गर्छु । तर, नियमित छैन । मर्निङवाक गर्ने बानी छैन । पूजा, अनुष्ठानबाहेक ‘डाइटिङ’ छैन । यात्रा गर्दा आफूले रोजेको खान पाइँदैन । बाँकी समय उपवास बस्ने चलन छैन । भाडाको घरमा बस्छु । जहाँ आफ्नो अनुकूलको स्थान हुँदैन । चाहेको ठाउँ पाउन आम्दानीको स्रोत छैन । तसर्थ, फिटनेस सामग्री खरिद गरेको छैन ।
निजी पुस्तकालयमा ३ हजार किताब
मुकाम रणमैदान (मोहन मैनाली) र भिक्षु, व्यापार र विद्रोह (सुधीर शर्मा) पढिसकें । अहिले एक ज्यान दुई जुनी (देवेन्द्रराज पाण्डे), सुनेको शासन भोगेको प्रशासन (उमेशप्रसाद मैनाली) पढ्दै छु ।
इतिहास र रोचक विषयले तान्छ । केही धार्मिक पुस्तक पढ्छु, त्यहाँ जीवनको मोहक र संघर्षको कथा हुन्छ । जसले मुर्झाउन लागेको जीवनमा ऊर्जा थप्छन् । केही समयअघि मेरो ‘धमिराको देवल’ निबन्धसङ्ग्रह प्रकाशन भएको छ । छन्द कविता र निबन्ध लेखिरहेकै छु । मसँग तीन हजार बढी किताब होलान् । तर, पुस्तकालय बनाउन सकेको छैन ।
सिंगापुर पुग्ने रहर
घुमफिरमा रुचि छ । विभिन्न कारणले चाहेको ठाउँ पुग्न सकेको छैन । कामविशेषले १५ जिल्ला पुगेको छु । चार जिल्लालाई कार्यक्षेत्रै बनाएर काम गरें । भारतको दार्जिलिङ, सिक्किम, नयाँदिल्लीसम्म पुगेको छु । घुमेकामध्ये हावापानीका हिसाबले दार्जिलिङ राम्रो लाग्यो । उनीहरूको आत्मीय र आतिथ्य लोभलाग्दो छ । जीवनमा एकपटक सिंगापुर पुग्ने रहर छ ।
साइत कमै जुर्छ
फुर्सद भनेको आफूले निकाल्ने हो । भागदौड त जीवनमा चलिरहन्छ । साहित्यिक कार्यक्रमको निम्ता पाउँदा पुग्ने प्रयत्न गर्छु । जहाँ नयाँ र पुराना सर्जकसँग भेट हुन्छ । कामबाट थाक्दा कहिलेकाहीँ बिदा लिन्छु । थकानले शरीर गलाउँछ । मस्तिष्क शून्य बनाउँछ । त्यसलाई पुनःजागरण गराउन आराम गर्छु । फुर्सदमा लेखपढै गर्छु । घरको काम गर्छु । नभेटी नहुनेलाई भेट्छु । आवश्यकताका आधारमा दिनैपर्ने र गर्नैपर्ने काम भए कार्यालय छाडेरै पनि गर्छु । बिहान, बेलुका घरमै हुने भएकाले परिवारलाई छुट्टै समय छुट्याउन परेको छैन । परिवारसाथ घुम्न, रेस्टुरेन्टमा खान, चलचित्र हेर्न जाने साइत कमै जुर्छ ।

उनीहरूको साक्षी बस्छु
फुटबल असाध्यै मन पर्छ । छोरीहरू क्रिकेट हेर्छन् । उनीहरूको साक्षी बस्छु । उनीहरूसँग सिक्छु । फुटबलको राष्ट्रिय टीम मन पर्छ । ब्राजिल र फ्रान्सका खेलाडीका खेल हेर्न आनन्द लाग्छ ।
नबिग्रेसम्म नकिन्ने
‘लकडाउन’ खुल्नेबित्तिकै किनेको सामसुङ एम ट्वान्टी वान बोकिरहेको छु । २४ हजार रुपैयाँमा किनेको थिएँ । काम दिइन्जेलसम्म अर्को किन्दिनँ । आफूलाई चाहिने मोबाइलका एप्लिकेसनमा फेसबुक, ट्वीटरलगायत चलाउँछु । यसको अलावा शब्दकोश, नोटबुक, एआई, च्याट जिपिटीको सहयोग लिन्छु । मोबाइलमा गेम पनि खेल्छु ।
नहेरेको २ वर्ष भयो
टेलिभिजन नहेरेको दुई वर्ष भयो । समाचार मोबाइल र ल्याप्टपमा हेर्छुु । पहिले–पहिले सीआईडी टेलिशृंखला हेर्थें । हिजोआज अनुसन्धानमूलक र हास्यशृंखला युट्युबमा हेर्छु । महजोडी असाध्यै मन पर्छ । दयाहाङ राई, सौगात मल्ल, विजय बराल र रवीन्द्र झाको अभिनय जीवन्त लाग्छ ।
परिवारसँगै युट्युबमा हेर्ने
पछिल्लोपटक ‘पूर्णबहादुरको सारङ्गी’ हेरेको थिएँ । हलसम्म पुगेर चलचित्र हेर्ने काम कमै भए पनि परिवारसँगै युट्युबमा हेर्छु । हेरेकामध्ये बलिदान, जारी र पूर्णबहादुरको सारङ्गी असाध्यै मन पर्यो । नेपालीमा महजोडी, दयाहाङ राई, सौगात मल्ल, विजय बराल, रवीन्द्र झा र भारतीयमा नाना पाटेकर, राजकुमार, अमिताभ बच्चन र अमरिस पुरीको अभिनय जीवन्त लाग्छ ।
तनाव नलिँदा स्वस्थ
आधा शताब्दीको नजिक छु । ज्यानलाई सन्चै छ । अहिलेसम्म ‘होलबडी चेकअप’ गरेको छैन । अनावश्यक तनाव लिन्न । ‘यो’ वा ‘त्यो’ भएन प्राथमिकतामा पर्दैन । जे हुन्छ, राम्रोका लागि हुन्छ भन्ने मान्यता राख्छु । तनाव नहुनसाथ स्वस्थ भइन्छ ।
वादविवाद नगर्ने
सकेसम्म नम्र भाषाशैली प्रयोग गर्छु । युवा, सचेत र सामाजिक क्षेत्रमा काम गरेकाले सबैलाई आदर गर्छु । कसैसँग विमति भयो भने वादविवाद गर्दिनँ ।
रहर भए पनि ज्ञान छैन
गीत–संगीत नसुन्ने को होलान् । म पनि सुन्छु । पुरानामा नारायण गोपाल, गोपाल योञ्जन, मीरा राणा, तारादेवी, सुरेश अधिकारी, शम्भु राईका पुराना गीत सुन्छु । नयाँ पुस्ताका अञ्जु पन्त, मिलन नेवार, राधा राई, थानेश्वर गौतम, सुजन चापागाईंलगायतका आवाज कर्णप्रिय लाग्छ । गाउने रहर भए पनि गीत–संगीतको ज्ञान छैन । तर, एक सय गीत लेखेको छु ।

उनी कहाँ गए होलान् ?
साथीहरूको रवाफ देख्दा सरकारी जागिर किन खाइनँ होला लाग्छ । सरकारी जागिरे भएको भए सामाजिक सम्बन्ध आर्जन कसरी गर्न सक्थें हुँला भनेर शान्त रहन्छु ।
जानअन्जानमा मानिसले भूल गर्नु अस्वाभाविक होइन । तर, कहिलेकाहीं भूल नगरी पनि सजाय पाइन्छ । गाउँको पँधेरोमा बाँसको भाटाको धारो थियो । साथीहरूले बारुलोको गोलो हिर्काउन त्यही भाटा प्रयोग गरे । गाउँले काकाले तँ पनि थिइस् होला भनेर मलाई झपारे । तर, मेरो उपस्थिति थिएन ।
तर, आफूले गल्ती गरिहालेमा आत्मालोचना गरिहाल्छु । ०५४ सालको प्रसंग हो । कलेज पढ्दा एक साथीलाई सहयोग गर्ने वचन दिएको थिएँ । ऊ गाउँ गएर कहिल्यै फर्केनन् । उनी कहाँ गए होलान् भनेर चिन्ता लागिरहन्छ ।
मान्ने हो भने घाटा नहुने
मेरो राशी वृष हो । अहिले शनिको महादशा चलिरहेको छ । दशा जे चले पनि आफ्नो काम निरन्तर गरिरहनुपर्छ । ग्रहदशा चलिरहन्छ । त्यही भएर ग्रहशान्ति गराउँदिनँ । गणितीय सूत्र भएकाले विज्ञानसँग ग्रह र नक्षत्रको सम्बन्ध छ । विज्ञान मान्ने हो भने विश्वास मान्दा घाटा हुँदैन ।
पेलेको तोरीको तेल प्रयोग
कपालमा पेलेको तोरीको तेल प्रयोग गर्छु । उपहारस्वरूप विदेशबाट आएको सेन्ट कहिलेकाहीं प्रयोग गर्छु ।
साथीको प्रेमपत्र लेखिदिँदा हाँसो

संवत् २०६४ मा रमा नेपालसँग मागीबिहे गरेको हुँ । अक्षर राम्रो भएकाले धेरै साथीको चिट्ठी लेखिदिएको छु । हिजोआज सम्झँदा खुबै हाँसो लाग्छ ।
यत्तिमात्रै रहेछ
नेताका सोच र भ्रष्टाचारको ग्राफ हे¥यो भने अत्तालिन्छु । लिकबाहिर गएको देशको अवस्था कसरी सुधारिएला भनेर सोचमग्न हुन्छु । साहित्यको विद्यार्थीले सोच्ने यत्तिमात्रै रहेछ ।
हिँड्दाहिँड्दै मर्न पाए
मृत्यु शाश्वत सत्य हो । निरोगी हौं, धेरै बाँचौं भन्ने कामना छँदै छ । तर, मृत्युसँग भाग्न सकिँदैन । स्वीकार्नैपर्छ । काठमाडौं–इटहरीको यात्रामा रहँदा चालक निदाए । डिभाइरमा ठोक्किँदै गाडी भित्तातिर जोतियो । हामी बाँच्यौं । कर्मपथमा हिँड्दाहिँड्दै मर्न पाए कति जाती हुन्थ्यो ।



