
चेपाङ समुदायले चिनेको तर नेपाली समाजले चिन्दै नचिनेको चिउरी बहुपयोगी मानिन्छ । चेपाङमात्रै होइन, जन्तेढुंगा गाउँपालिका–१, देविस्थान खोटाङका केदार सोनाहाङ राईसमेत चिउरीको उपयोगिताबारे गहिरो जानकारी राख्छन् ।
धरान उपमहानगरपालिका–१५, सुनसरीनिवासी राईले अहिलेसम्म २०० भन्दा धेरै चिउरीको बिरुवा आफ्नै हातले रोपिसकेका छन् । उनले धरान (सुनसरी), हात्तीवन (ललितपुर), पशुपतिनाथको किरातेश्वर र सुम्निमा पारुहाङ पार्क (काठमाडौं)मा चिउरीको २०० बिरुवा रोपेका हुन् । धरानका विभिन्न टोल–टोलमा रोप्न चिउरीको बिरुवा पठाइसकेका छन् । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको बिरुवा रोप्ने अभियान सफल पार्नसमेत उनले चिउरीको बिरुवा नपठाएका होइनन् ।
‘अबको १०० वर्षपछि पेट्रोलियम पदार्थको स्रोत सकिने युुरोपियन युनियनको विभिन्न अध्ययनले देखाएको छ,’ सिंगापुर प्रहरीका पूर्वसिनियर स्टाफ सर्जियन्ट (एसएसएस)समेत रहेका उनले जानकारी गराए, ‘त्यसको विकल्पमा वनस्पतिजन्य स्रोत प्रशोधन गरी पेट्रोलियम पदार्थको आवश्यकता परिपूर्ति गरिने युुरोपियन युनियनको अध्ययनले निष्कर्ष निकालेको छ ।’

चिउरीबाट पैसैपैसा हात पार्न सकिने विभिन्न अध्ययनले देखाउँछ । नेपालमा चिउरी खेतीको प्रचुर सम्भावना छ । मेचीदेखि महाकालीसम्म चिउरी खेती गर्न नसकिने होइन । मैले यसो भन्दा सुन्नेहरू हाँस्छन्,’ उनले वास्तविकता सुनाए, ‘पत्याउँदैै पत्याउँदैनन् हौ ।’ तपाईं–हामीसँग चिउरीको बगान भएमा युएनलाई बोलाएर कार्बन नाप्न लगाई डलर हात पार्न सकिने उनको जिकिर छ ।
‘त्यसका लागि चिउरीमा फलै लाग्न पर्छ भन्ने छैन । तर फल्न थालेपछि उद्योग सञ्चालन गर्न सघाउ पुर्याउँछ । फलबाट तेल उत्पादन हुन्छ,’ उनको भनाइ छ, ‘तेल निकालेपछिको पिनाबाट कस्मेटिक सामान बनाउन सकिन्छ । पिना मलका रूपमा समेत प्रयोग गर्न सकिन्छ । लोकल रक्सी, स्पेसल वाइनसमेत बनाउन सकिन्छ ।’
संसारमा चार प्रकारका चिउरी पाइन्छन् । चार प्रकारका चिउरी चारै सिजनमा फल्छ । ‘जलवायु परिवर्तन रोक्न चिउरी त्यत्तिकै उपयोगी मानिन्छ,’ उनले थपे, ‘पानीको स्रोतसमेत बढाउँछ ।’ चिउरी रोप्दा फाइदै फाइदा छ । गाउँघरको उराठलाग्दो पाखापखेरा हरियाली बनाउन चिउरी रोपेमा हातभरि हरियो नोट हात पार्न सकिन्छ ।

काठमाडौं महानगरपालिका–९, बत्तिसपुतलीमा बुइपाली चोक रहेको छ । चोकको काखैमा बागमती नदी आफ्नै लयमा बगिरहन्छिन् । चोकैनेर समाजसेवी सहरमान राईद्वारा निर्मित सुम्निमा पारुहाङ वर–पीपल नामक पार्क छ । साँझको ५ बज्दै थियो । पंक्तिकार सोही बाटो भएर हिँड्दै गर्दा केदार सोनाहाङ राई पार्कमा चिउरीका बिरुवा गोडमेल गर्दै थिए । उनी आफैंले धरानमा चिउरीकोे नर्सरी सञ्चालनमा ल्याएका छन् ।
२५ वर्ष सिंगापुर प्रहरीमा काम गरेका उनले सिंगापुरकै बुद्धिस्ट एन्ड पाली विश्वविद्यालयबाट स्नातकोत्तरसम्मको अध्ययन पार लगाएका छन् । अध्ययनका भोका उनी पीएचडी तयारीमा जुटेका छन् ।
‘सकेसम्म चिउरी रोपौं, टन्न पैसा कमाऊँ’ भन्ने उनको मान्यता छ । नेपाली गीत–संगीतमा चिउरीले उत्तिकै ठाउँ पाएको छ । खोटाङकै गीतकार वीरेन्द्र राईले लेखेको चिउरीसम्बन्धी गीत असाध्यै लोकप्रिय बनेको छ ।
चिउरी चिल्लो पात
सिरानी लाउन देऊ बहिनीको दाहिने हात ।




