
मंगलटार (खोटाङ) । हलेसी महादेवस्थान विकास समिति अध्यक्ष डिल्ली चाम्लिङले सत्यश्वर महादेव बुक्टो मन्दिर प्रवद्र्धनका लागि बजेट व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन् । हलेसी महादेवस्थान विकास समिति अध्यक्ष चाम्लिङले सत्यश्वर महादेव बुक्टो मन्दिर अवलोकन गर्दै यस्तो प्रतिबद्धता जनाएका हुन् ।
उनले सत्यश्वर महादेव बुक्टो मन्दिरको थप भौतिक पूर्वाधार विकासका लागि प्रदेश सरकारसँग बजेट व्यवस्थाका लागि माग गर्ने वचन दिएका छन् ।
श्री सत्यश्वर महादेव बुक्टो मन्दिर संरक्षण तथा सम्बद्र्धन समितिसम्बद्ध र मंगलटारको घुर्चुवासीले मन्दिर अवलोकन गर्नअघि अध्यक्षको कार्यकाल अर्थपूर्ण बनोस् भन्दै उनलाई फूलमाला र खादा पहिर्याएर बधाई तथा शुभाकमना दिएका थिए ।
सत्यश्वर गुफावरिपरि शीतलेश्वर, भोलेबाबा, बुद्ध प्रवेशद्वार, झाँक्री गुफा र नागथान गरी पाँच गुफा छन् । पाँचवटै गुफामा विभिन्न आकृति देख्न सकिन्छ । शिव, पार्वती, गणेश, बुद्धलगायत धेरैको धेरै प्रकारको आकृति प्रस्टै देखिन्छ । झाँक्रीगुफामा ढुंगाको चुलोको आकृति त्यत्तिकै रहरलाग्दो देखिन्छ । नागथानमा नागको आकृति देखेर जोकोही अचम्मित हुन्छन् ।
त्यही गुफालाई पर्यटकीय स्थल बनाउन स्थानीय लागिपरेका छन् । हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटार, खोटाङमा रहेको गुफालाई पयर्टकीय स्थल बनाउनुपर्छ भनेर स्थानीय र वडासम्बद्ध जनप्रतिनिधि लागिपरेका छन् ।
केही समयअघिसम्म अस्तव्यस्त सत्यश्वर गुफा हिजोआज व्यवस्थित गर्दै लगिएको छ । धर्मशाला र नुहाउने पानी व्यवस्था मिलाइएको छ । अझै व्यवस्थित गर्नु त छँदै छ । भिरालो ठाउँमा रहेकाले गुफासम्म पुग्ने सिँढीमा रेलिङ हालिएको छ ।



