‘विकास निर्माणका लागि राजनीतिक आस्थाका पर्खाल भत्काऊँ’


हलेसी (खोटाङ) । सांसद विशाल भट्टराईले हलेसीमा बन्न लागेको १५ शय्याका आधारभूत अस्पतालले सेवा प्रवाह थालेपछि हलेसीवासीले भोगेका स्वास्थोपचारसम्बन्धी भयावह समस्या कम हुँदै जाने विश्वास गरेका छन् ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको पात्लेमा सोमबार आधारभूत अस्पताल शिलान्यास गर्दै सांसद भट्टराईले विकास निर्माणका लागि राजनीतिक आस्थाका पर्खाल भत्काउँदै गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने उद्देश्यले चालु आर्थिक वर्षमा ३९६ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्न लागिएको जिकिर गरे ।

‘नेपालको जनसंख्याका तुलनामा चिकित्सकमात्रै होइन, अस्पतालसमेत छैनन्,’ उनले भने, ‘अस्पतालमा बेड, भेन्टिलेटर र आईसीयू हुने कुरै भएन । यस्तो अवस्थामा ३९६ स्थानीय तहमा एकसाथ ५ देखि १५ शय्याका अस्पताल शिलान्यास हुँदा २०७७ मंसिर १५ गतेलाई ऐतिहासिक दिन मान्नुपर्छ ।’

विश्वव्यापी महामारीबाट नेपाली आक्रान्त छन् । ‘मुलुकले स्वास्थ्य क्षेत्रमा फड्को मार्नुपर्ने बाध्यात्मक परिस्थिति थियो,’ उनले खुसी व्यक्त गरे, ‘त्यतिबेला पीसीआर परीक्षण गर्न कोरोना संक्रमितको स्वाब हङकङ पुर्याइएको थियो । अहिले त्यस्तो समस्या छैन । मुलुकभर स्थापित अस्थायी कोभिड अस्पताल र बन्न लागेका आधारभूत अस्पतालले स्वास्थ्य सेवामा फड्को मार्नेछ ।’

हलेसीमा बन्न लागेको आधारभूत अस्पताल दुई वर्षभित्र निर्माणसम्पन्न हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ । अस्पताल निर्माणका लागि हलेसी तुवाचुङ नगरपालिकाले १८ करोडको बहुवर्षीय टेन्डर आह्वान गर्दै छ ।

सरकारले स्थानीय तहसम्म स्वास्थ्य सेवा पुर्याउन ३९६ स्थानीय तहमा अस्पताल निर्माण थालेको हो । चालु आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा पाँचदेखि १५ श्ययाका आधारभूत अस्पताल स्थापना गर्ने नीतिअनुरूप चालु आवमा ३९६ स्थानीय तहमा अस्पताल भवन निर्माण गर्न लागिएको हो ।

सरकारले पाँच शय्याको अस्पताल निर्माण गर्न ८ करोड, १० शय्याको अस्पतालका लागि ११ र १५ शय्यायाका अस्पताल निर्माणार्थ १८ करोड बजेट विनियोजन गरेको छ । सरकारले अस्पताल निर्माणका लागि पहिलो किस्ता सम्बन्धित स्थानीय तहमा पठाइसकेको छ । पहिलो चरणमा ३९६ स्थानीय तहलाई पाँचदेखि १५ शय्यायाको अस्पताल बनाउन ६४ अर्ब ९ करोड पठाइएको हो ।

आधारभूत अस्पताल शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै खोटाङका प्रतिनिधिसभा सांसद विशाल भट्टराईले स्थानीय निर्वाचनपछि संघीयता स्थापित गरेकोमा खुसी व्यक्त गरे । ‘तर, वित्तीय र प्रशासनिक व्यवस्थापन चुनौती छँदै थियो । हामीले वित्तीय र प्रशासनिक व्यवस्थापन गर्न सफल भए पनि सतप्रतिशत गर्न सकेका छैनौं,’ उनले थपे, ‘विकसित देशमा पनि व्यवस्थापन समस्या सतप्रतिशत हल भएका छैनन् । वित्तीय र प्रशासनिक व्यवस्थापनार्थ प्रयास जारी रहनेछ । छोटो समयमा हामीले केही प्रयास गरेका छौं । त्यस मामिलामा कमीकमजोरी भए होलान् । आगामी दिनमा सच्याउँदै अघि बढ्नुको विकल्प छैन । जिल्ला र जिल्लावासीका हितका लागि मेरो प्रयास सदैव रहनेछ ।’

हलेसी तुवाचुङ नगरपालिकाको सिमाना छुनेगरी पाँचवटा पुल बन्दै छन् । केही टेन्डर लागिसकेका छन् भने कतिपय प्रक्रियामा रहेको उनले सुनाए । तर, वृहत् हलेसी गुरुयोजनालाई सहयोग पुग्नेगरी आफूले बजेट तर्जुमा गर्न नसकेको उनले स्वीकारे । ‘कोभिडले राजस्वमा संकुचन आयो । त्यसले स्वाभाविक रूपमा बजेट खुम्चेको छ,’ उनले आग्रह गरे, ‘तसर्थ, ठूलो मात्रामा बजेट विनियोजन गर्न सकिएन । जे–जति बजेट विनियोजन भएको छ, त्यसलाई गुरुयोजनासँग सम्बन्धितले सदुपयोग गर्नुहोला ।’

पार्टी फोरमबाहेक आस्थाका आधारमा आफूले कसैलाई भेदभाव नगर्ने उनले प्रतिबद्धता जनाएका छन् । ‘सहकार्य नगरी विकास सम्भव छैन । आस्थाका आधारमा राजनीतिक द्वन्द्व निम्त्याउनुहुँदैन । त्यसो गरे नागरिकले स्वीकार्ने छैनन्,’ उनको ठम्याइ छ, ‘आस्थाका पर्खाल निर्वाचनमा मात्रै रहनेछन् । विकास निर्माण र मुलुकको समृद्धिका लागि आस्थाका सबै पर्खाल भत्किनुपर्छ । हामीबीच बारबन्देज रहनुहुँदैन ।’

खोटाङे जनताको मत पाएर विजयी भएका जनप्रतिनिधिले जनताका शिर निहुरिने काम कहिल्यै गर्न नहुने उनको सुझाव छ । उनले हलेसी तुवाचुङ नगरपालिकाको नामै तोकेर नगरसँग सहकार्य गर्दै अघि बढ्न कोसिस गर्ने प्रतिबद्धता जनाए । ‘हामी राजनीतिक रूपमा फरक–फरक आस्थामा हुन सक्छौं । दलीय व्यवस्थामा आस्थाहरू भिन्न हुनु स्वाभाविक मानिन्छन्,’ उनले भने, ‘जुन प्रत्येक आस्थावान व्यक्तिको नैसर्गिक, मौलिक र संवैधानिक हक पनि हो । सबै आस्थाका मानिस मिलेर देश बन्छ । एकमात्र पार्टीले चाहेर देश कहिल्यै बन्दैन ।’

जनचाहनाअनुसार काम गर्न नसके पनि आफ्नो हैसियतअनुसार खोटाङको विकासमा लागेकोमा उनले गौरव गरे । ‘मैले माया गर्ने भनेको जिल्ला र जिल्लावासीलाई नै हो,’ उनले वचन दिए, ‘त्यस कार्यमा म दाँया–बायाँ हुने छैन ।’

हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईको अध्यक्षतामा सम्पन्न शिलान्यास कार्यक्रममा हलेसी तुवाचुङ नगरपालिकाका नगर उपप्रमुख बिमला राई, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख वीणादेवी राई, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान वडाध्यक्ष चइन्द्र राईले सम्बोधन गरेका थिए ।

शिलान्यास कार्यक्रममा हलेसी तुवाचुङ नगरपालिका–४ बडहरे वडाध्यक्ष किशोर बस्नेत, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम वडाध्यक्ष रमेश तिवारी, हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटार वडाध्यक्ष रमेश राउत र विभिन्न राजनीतिक दलसम्बद्ध नेताको बाक्लो उपस्थिति रहेको थियो ।

हलेसीमा बन्न लागेका आधारभूत अस्पतालबाट सामान्य शल्यक्रिया, आधारभूत उपचार, स्त्री तथा बालरोगसम्बन्धी सेवा प्रवाह गरिनेछ । अस्पतालमा तीनजना मेडिकल अफिसर र २७ जना स्वास्थ्यकर्मी रहनेछन् ।

मंसिर १५ गते जिल्लाका चार पालिकामा आधारभूत अस्पताल शिलान्यास गरिएको थियो । सांसद भट्टराईले हलेसी तुवाचुङ नगरपालिकाको हलेसीमा १५ र रावाबेंसी गाउँपालिकाको खार्पामा १० शय्याका आधारभूत अस्पताल शिलान्यास गरेका थिए ।

यसैगरी, प्रदेशसभा सांसद राजन राईले ऐंसेलुखर्क गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा १५ शय्याका आधारभूत अस्पताल शिलान्यास गरेका थिए भने प्रदेशसभा सांसद रामकुमार राई ‘पासाङ’ ले जन्तेढुंगा गाउँपालिकामा १५ शय्याका आधारभूत अस्पताल शिलान्यास गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्