मौन



गुब्बे या गुब्बारा । मैले बोलाउने उसको नाम यही थियो । उसको बाउको नाम के थियो कुन्नि । तर सबैले उसलाई टंकी भनेर बोलाउँथे । मैले सुरुमा अनुमान लगाएको थिएँ, टंकलाल या टंकप्रसादबाट अप्रभंश भएर उसको नाम टंकी भएको हुन सक्छ । तर, कुरा अर्कै पो थियो ।
उसले वागेश्वरी मन्दिर एरियामा उभिएर थरीथरीका रंगीचंगी बेलुन बेच्थ्यो । उसले आफ्नोछेउमा बेलुनमा ग्यास भर्ने एउटा सिलिन्डर पनि राखेको हुन्थ्यो ।

‘अरे, त्यसमा त हिलिया ग्यास भरिएको हुन्छ ।’

सबैले यसै भन्थे ।

पछि पो थाहा पाएँ, हिलियमलाई हिलिया भनिएको रहेछ । हिलो या नालीमा गन्हाउने ग्यासलाई ठूलो वर्तनमा जम्मा गरेर हिलिया ग्यास तयार हुन्छ भनेर हामी केटाकेटीमध्ये नै कुनै एकजनाले कतैबाट अपुष्ट तर रोचक जानकारी ल्याएको थियो । हामीले निकै लामो अवधिसम्म त्यही कुरालाई पत्याएका थियौं । जे होस्, गुब्बाराको बाउले लिएर हिँड्ने त्यो हिलियम ग्यासको सिलिन्डरलाई सबैले टंकी भन्थे । सधैं त्यही टंकी बोकेर हिँडिरहने भएकाले उसलाई सबैले टंकी भनेर बोलाउन थालेका रहेछन् ।

नेपालगन्जको महेन्द्रपार्कदेखि उत्तरतिरको घसियारन टोलमा आफ्नो बाउ टंकी र आमा मुन्नीसित बस्थ्यो गुब्बारा । चाडबाडको बेला ऊ पनि बाउसँगै हेल्पर भएर वागेश्वरी मन्दिरमा पुग्थ्यो र मुखले गुब्बारा फुलाएर बाउलाई सघाउँथ्यो । उसले फुलेको गुब्बारा धागोले बाँध्थ्यो र बाउको बाँसको डिजाइनदार लट्ठीमा झुन्ड्याउँथ्यो । त्यसैले हामी केटाकेटीले उसको नाम गुब्बारा राखेका थियौं र छोटकरीमा गुब्बे पनि भन्थ्यौं ।

गुब्बेसित मेरो परिचयचाहिँ मेरो आफ्नै घरमै भएको थियो । उसकी आमा मुन्नी हप्तामा एकचोटि एउटा हातमा जुटको थोत्रो बोरा र अर्को हातमा खुर्पा र हँसिया लिएर हाम्रो घरपछाडिको दुबो खुर्कन र घाँस काट्न आउँथी । दुबो र घाँस उसले घसियारन टोलमा लगेर टाँगावाललाई बेच्थी । घाँस काटेर जाने बेलामा ऊ जैले पनि मसित या आमासित अनुरोध गर्थी, ‘यो घरको घाँस अरू कसैलाई काट्न नदिनू ल ?’

एकपल्ट मुन्नीले हाम्रो खेतमा अरू घँसियारा आइमाईहरूले घाँस काटिरहेको देखी उसले । उसको पारा चढिहाल्यो । तिनीहरूसित झगडा गर्न थाली ।

‘यो घरमा मैलेमात्र घाँस काट्छु । तिमीहरूले पाउँदैनौ । काट्ने रहर छ भने हँसिया लिएर आफ्नो लोग्नेको रौं काट्न जाओ तिमीहरू ।’
झगडा बढ्दाबढ्दै मुन्नी र तिनीहरूबीच भुत्लाभुत्ली सुरु भयो । त्यसपछि कुस्ती नै सुरु भयो । त्यो युद्धमा कसले विजय हासिल गर्यो, हाल याद भएन मलाई । तर, कुस्ती समाप्त भएपछि मुन्नी र मल्लयुद्धमा सामेल सबै महिलाहरू मनेर आएका थिए । सायद यतिखेर उनीहरूका लागि हामी नै अदालत थियौं र हामी नै इजलास । मुन्नीले मसित भनी, ‘ल, बताऊ भैया, मैले तपाईंहरूसित यो घरको घाँस मैलेमात्र काट्छु भनेको थिएँ कि थिइनँ ? अहिले यी पतुरिया र छिनारहरूले आएर काट्न पाउँछन् ?’

यस्तो झै–झगडा प्रायः भइरहन्थ्यो र यस्तोमा म या आमा न्यायाधीश भइरहन्थ्यौं ।

हामी पनि प्रायः उसैको पक्षमा फैसला सुनाउँथ्यौं । त्यसपछि अरू आइमाईहरू लाचार भएर घाँसको खोजीमा अरू घरतिर लाग्थे ।

मलाई उनीहरूको झगडा देख्दा लाग्थ्यो, अब यिनका तीन पुस्ता पनि एक–अर्कासित बोल्ने छैनन् र स्थायी रूपले यिनीहरूबीच पानी बाराबार हुनेछ । तर, विभिन्न ठाउँमा घाँस काटिसकेर फर्कने बेलामा ती सबै आइमाई एकैठाउँमा भेला हुन्थे र एउटै बिँडी आपसमा बाँडेर खान्थे । एक–अर्काको कपालको जुम्रा मारिदिन्थे । एक–अर्काको घाँसको भारी उचाल्न सहयोग गर्थे । धेरै पछिमात्र मलाई लाग्यो, त्यस्तो झै–झगडा र गालीगलौज तिनीहरूको दैनन्दिनीको एउटा अनिवार्य हिस्सा थियो । त्यसमार्फत उनीहरू आफ्नो जीवनमा थुप्रिएका दुःख, अभाव र कुण्ठाका कारण मनभित्र उत्पन्न भयानक हतासालाई निकास दिने गर्थे र हलुंगो बन्थे ।

मुन्नीसित भने हाम्रो घरको व्यापारिक सम्बन्ध पनि थियो । वर्षमा एक या दुईपटक उसले नेपालगन्जबाट पूर्वतिर रहेको खासकुस्माको जंगलबाट निङ्गुरो टिपेर ल्याउँथी । त्यो उसले आफूहरूले खान टिप्दिन थिई । त्यो निङ्गुरो उसले हाम्रो घरमा ल्याउँथी । उसले हामीसित निङ्गुरोको पैसा लिन्नथी । ऊ चामलसित निङ्गुरो साट्थी । उसलाई मोटै चामल चाहिन्थ्यो । उति नै मात्रामा मसिनो चामल दिन खोज्यो भने पनि भन्थी, ‘महिन चावलले हाम्रो पेट कहाँ भरिन्छ ? जब जीवनभर मोटै खानुपर्छ भने बेकारमा एक दिनका लागि मुखको स्वाद किन खराब गर्ने ?’

गुब्बारा सधैं आमासितै आउँथ्यो । आमाले घाँस काटिरहँदा ऊ आफ्नो दस ठाउँ टालेको पाइन्टको खल्तीबाट बेलुन झिक्थ्यो र त्यही फुलाएर बसिरहन्थ्यो । त्यो दिन उसकी आमा र अरू महिलाबीच कुस्ताकुस्ती भइरहँदा पनि ऊ चुपचाप केही नदेखेझैं र केही नभएझैं गरेर राता, हरिया र नीला बेलुन पालैपालो फुलाएर बसिरहेको थियो । मलाई पनि ऊसित भएका बेलुनले आकर्षित गर्थे । त्यही आकर्षणले म उसको नजिक पुग्थें । कुराकानी गर्थें । उसले फुलाएको बेलुनमा धागो बाँधेर म पनि दौडन्थें । मजा आउँथ्यो ।

उसको नाम गुब्बे कसले राखेको हो, थाहा भएन । तर, म र मेरा साथीहरूबीच ऊ यही नामले चिनिन थाल्यो । उसले आफ्नो नयाँ नामप्रति कहिल्यै कुनै आपत्ति प्रकट गरेन । एकपटक भने उसले पानी भरिएको गुब्बारालाई प्लास्टिककै तनक्क तन्किने डोरीले भकुन्डोझैं तलमाथि गर्दै हामीलाई आफ्नो असली नाम भनेको पनि थियो । तर, त्यो नाम हामीलाई कहिले पनि याद भएन ।

दसैंको कुनै दिन आमासित वागेश्वरी मन्दिर पुगेको बेला अचानक मैले उसलाई आफ्नो बाउसित गुब्बारा फुलाएर बसिरहेको देखें । त्यहाँ थरीथरीका गुब्बारा थिए । विभिन्न आकृतिका । कुनै बिरालाजस्ता, कुनै फूलजस्ता । कुनै चाहिँ सस्र्यूंका गेडा हालेका र बाँसको बाक्लो सिन्कोमा बाँधेर हल्लाउँदा छन्छन् आवाज आउने गुब्बाराहरू । मलाई त्यत्तिका धेरै गुब्बाराबीचमा बस्न पाउने गुब्बे विश्वको सबैभन्दा भाग्यमानी बालक लाग्थ्यो । म कल्पना गर्थे त्यतिबेला । ठूलो भएपछि गुब्बाराको दुकान खोल्छु । गुब्बेको बाउ टंकीलाई म्यानेजर बनाउँछु । गुब्बेलाई असिस्टेन्ट राख्छु । थरीथरी डिजाइनका गुब्बारा सजाएर राख्छु । ग्यास भरेर आकाशमा उड्नेवाला गुब्बारा पनि बनाउँछु । आफैंले फुकेर हातमा लिएर खेलाउने बाला गुब्बारा पनि बनाउँछु । गुब्बेले कैलेकाहीं फुटबलजत्रो गुब्बारा देखाएर भन्थ्यो, ‘यत्रो ठूलो गुब्बारामा हावा भर्न बहुत सास चाहिन्छ । जो पायो उसैले सक्दैन । सास भर्ने खुब प्राक्टिस गर्नुपर्छ । गुब्बाराको बिजनेसमा सासको बहुत खेल हुन्छ ।’

गुब्बेको बाबु टंकीसित पुरानो साइकल पनि थियो । ऊ त्यही साइकल चढेर गुब्बारा बेच्न विभिन्न ठाउँमा पुग्थ्यो । ऊ जोगागाउँको मेलामा पनि त्यही साइकल चढे%

प्रतिक्रिया दिनुहोस्