नेपालको हिमाली भेगमा समुद्र सतहबाट ३,००० देखि ४,५०० मिटरसम्मको उचाइमा चट्टानी क्षेत्र (ढुंगा नै ढुंगा) भएको चिमाल र धुपीको बुट्यानछेउछाउ अलि चिसो र ओसिलो स्थानमा जटामसी वर्षैभरि पाइन्छ ।
जमिनभित्र रहने मोटो काण्डलाई राता, खैरा झुसले रौंजस्ता जटाले छोपिएर रहेको हुन्छ । काण्डको लम्बाइ ७ सेमि र चौडाइ ३ सेमिको हुन्छ । यो सुगन्धित हुन्छ । यसको स्वाद तीतो, पीरो हुन्छ । यसको पात तलबाटै पलाएको हुन्छ । यिनीहरूको नाप २ सेमिसम्म चौडा र २० सेमिसम्म हुन्छ । यसका पात घाँसका पातका आकार तथा भालाका आकार र रौं नभएका हुन्छन् । पातका टुप्पा तीखा हुन्छन् । यसको फूलको एउटै झुप्पा हुन्छ । यसको रंग गुलाफी–सेतो हुन्छ । एउटै फूलमा यसको भाले र पोथी रहेको हुन्छ ।
खेती
जरासहितको काण्डका टुक्राबाट जटामसीका बिरुवा उमारिन्छन् । बीउबाट पनि यसको बोट उमार्न सकिन्छ । यसरी उमारिएको बिरुवालाई मलजल गरी तयार गरिएको बारीमा वा खेतमा सारिन्छ । एउटा ड्याङमा सारिएका बिरुवा आपसमा ३० सेमि दूरीमा राखिन्छ । त्यसैगरी एक ड्याङबाट अर्काे ड्याङको दूरी ६० सेमि फरकमा हुन आवश्यक हुन्छ । हरेक दुई महिनाको अन्तरमा यसको गोडमेल गर्न आवश्यक हुन्छ ।
ताप्लेजुङ, संखुवासभाका साथै सोलुखुम्बुको खुम्जुङ, दूधकुण्ड, स्याङबोचे, गोरखाको खरिबिरे, प्रोक, गम्दा, सर्दिबासमा लमजुङको बाहुनडाँडा, चौधखोला, डुलिबेंसी, कास्कीको गोरुजुरे, माछापुच्छ«े हिमाल फेदी, पर्वतको धानढुंगा, जलजला, नागी, बाग्लुङको तटाराखोला, मैकोट, गुल्मीको झुले, खुँजो, मुस्ताङ, म्याग्दी, रोल्पा, दैलेख, जुम्ला, जाजरकोटलगायत जिल्लामा यसको व्यावसायिक खेती गर्न सकिने क्षेत्र हुन् ।
बीउ संकलन
हिउँ हटेपछि साउनदेखि कात्तिकसम्ममा जमिन बिस्तारै खनी बिरुवा पत्ता लगाउने र केही भाग त्यहीँ छाडी काण्डमात्र संकलन गर्नुपर्छ । यसले गर्दा बिरुवा मासिने डर रहन्न र प्रत्येक दुई वर्षमा यसको काण्ड प्राप्त गर्न सकिन्छ ।
भण्डारण, संरक्षण
संकलन गरिएको जरा र काण्डलाई माटो राम्ररी बगेको पानीमा पखालेर वा झारेर यसमा रहेको गुण, तत्व संरक्षण गरी राख्न हावामा राम्ररी सुकाउनुपर्छ । त्यसपछि यसलाई बोरामा बाँधेर सुख्खा ठाउँमा राख्नुपर्छ ।
उपयोगिता
आयुर्वेद प्रणालीअनुसार यसको विभिन्न उपयोगिता वर्णन गरिएको छ । यो तागत दिने, उत्तेजना बढाउने, अपस्मार, मृगी, छारेरोग, हृदयरोग, कम्पा, अजीर्ण तथा बालसम्बन्धी आन्द्राको बातसुल वा बात विस्फोटक, पेट दुखेको समन गर्ने, वायु समन गर्ने, पिसाब गराउने र हैजा तथा रजश्वला गराउने इत्यादि औषधिमा प्रयोग गरिन्छ ।
वैज्ञानिक नाम : नार्डोस्टाकिस ग्रान्डील्फोरा डीसी
संस्कृत नाम : तपस्विनी, जटिला, लोमसा, जटामसी
अन्य नाम : जटामसी
नेवारी नाम : नस्वाँ
वनस्पति परिवार : भ्यालेरियानेसी
स्रोत : वनस्पति विभाग