माओवादीबाट बिर्सिइँदै माओवादी नेता



बखतबहादुर तामाङ र मसली तामाङको एकमात्र छोरा धनबहादुर घिसिङ ‘संघर्ष’ नेकपा माओवादीका ‘होलटाइमर’ बने । संवत् २०५८ साउन १३ देखि जनताले लडेको जनयुद्धमा सामेल भए । संघर्षका ठुली बहिनी रमा तामाङ कमरेड अस्मिता र जेठी श्रीमती गीता गिरी कमरेड झरनासहित एकाघरका तीनजना जनमुक्ति सेनामा आबद्ध भई युद्ध मोर्चामा सक्रिय भूमिका खेले ।

नेकपा माओवादीले ०५२ देखि सशस्त्र जनयुद्ध थाल्यो । जनयुद्धमा सामेल हजारौं योद्दाको आफ्नै कथा छ । व्यथा छ । दर्जन बढी युद्धमोर्चामा सहभागी संघर्षको कथाभन्दा चर्को व्यथा छ । दोलखाको स्क्वायड मिलिसिया कमान्डर हुँदै कम्पनी कमान्डरको जिम्मेवारी निर्वाह गर्न सफल योद्दाको युद्धकथा खनिखोस्री साध्य छैन ।

संवत् २०३५ चैत २५ गते जन्मेका उनले ०५८ मंसिर ११ गते सोलुको सल्लेरी मोर्चामा एसल्ट सदस्य भएर पहिलोपटक युद्ध लडे । एसल्टले डीएसपी कार्यालय कब्जा गरेर ध्वस्त पारेको थियोे ।अघिल्लो दिन मंसिर १० गतेदेखि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले देशीविदेशीको सल्लाहमा आतंककारी विधेयक पास गरी माओवादीविरुद्ध तात्कालिक शाही नेपाली सेना परिचालन गरेका थिए । ०५८ माघ २१ गते भकुन्डेबेंसी मोर्चामा फस्र्ट एसल्ट सदस्य भएर लडेका उनले ०५९ वैशाख २४ गते संखुवासभाको चैनपुरमा सशस्त्र प्रहरीसँग लडे । त्यतिबेला फ्रन्ट लिडर गार्डको जिम्मेवारीमा रहेका उनी सो युद्धमा दुस्मनको थर्टी सिक्स बम लागेपछि घाइते भए ।

‘०५९ भदौ २३ गते सिन्धुलीको भिमान आक्रमणमा ठूलो सफलता प्राप्त गर्यौं । त्यहाँ जनमुक्ति सेनातर्फबाट शिशिर आर्क होल कमान्डर र बिमलालगायत २१ जना योद्दा गुमायौं,’ उनलाई विगतले पोल्यो, ‘त्यतिबेला कमरेड अनिष मेरो एसल्ट कमान्डर थिए । सहादतपछि उनको ३०३ राइफल उठाएर एसल्टलाई अघि बढाएँ । त्यो युद्धको अद्भुत विजयमा थुप्रै दुस्मन पुलिस कब्जामा लियौं । भागेर थाकलघारी र पानीले खोतलेर बनाएको ओेडारभित्र लुकेका दुई दर्जन पुलिस कब्जा गरी उनीहरूले प्रयोग गर्ने थुप्रै राउन्ड गोली र हतियार कब्जामा लियौं ।’

त्यो युद्ध कर्मैया आक्रमणको योजना सार्वजनिकपछि पार्टीले भिमान आक्रमणको योजना ल्यायो । त्यसपछि क्षेत्रीय कम्पनी बन्यो । जसको क्षेत्रीय कम्पनी कमान्डर कमानसिं तामाङ कमरेड मिलन र संघर्ष भीसी थिए । युद्धपछि कम्पनीसहित १८औं बटालियन तयार भयो । ‘यस युद्धको योजना ‘एक्सपोज’ हुँदा हामीले अत्यन्तै दुःख पायौं । अठारौं बटालियनले मोरङको बेलबारी पुलिस चौकी हमला गर्यो,’ उनले थपे, ‘म चौथो युद्धमा सहभागी जनाउँदै थिएँ । हामीले पुलिसलाई लखेट्यौं । चौकीमा रहेको आफ्नो सबै सामग्री लिएर पुलिस फरार भए ।’

त्यसपछि ?

‘भोजपुर रिपिटर टावर हमलामा सहभागी भयौं । योे ०६० फागुन १९ गते रातिको युद्ध थियोे,’ उनले जानकारी गराए, ‘पाँचौं मोर्चामा सहभागी थिएँ । त्यो मोर्चामा भर्खर पूर्वमा एके फोर्टी सेभेन हतियार आइपुगेको थियोे । त्यही हतियारले टावर हमला युद्ध जितियो ।’ त्यो मोर्चाको एसल्ट कमान्डर संघर्ष थिए । ‘लडाइँ सुरु भएको एक घन्टाभित्र रिपिटर टावर र भोजपुर सदरमुकाम कब्जा गर्यौं,’ उनको भनाइ थियो, ‘त्यहाँ पनि म घाइते भएँ । हामीले केही कमान्डर साथी गुमायौं । त्यो युद्ध मोर्चामा म कम्पनी भीसीको जिम्मेवारी थिएँ ।’

पार्टीले रणनीतिक प्रत्याक्रमणको पहिलो नारा दुस्मनको ढाडमा टेकेर टाउकोमा हान्ने योजना ल्याएपछि तराई क्षेत्रलाई त्यतिबेलाको शाही सत्ताको ढाडका रूपमा व्याख्या गरिएको थियो । दुश्मनको ढाड भाँच्ने योजनाअन्तर्गत तराईको बन्दीपुर, चोहर्वा, लालबन्दी र मिर्चैया आक्रमणको फौजी कार्यक्रम बन्योे । त्यो मोर्चामा उनले फस्र्ट एसल्ट तथा जनमुक्ति सेना कम्पनी कमान्डरको भूमिका पाए । तराईको समथर मैदानमा युद्ध लड्न कठिन थियो । त्यहाँ तेल राखिने ब्यारेलको ड्रममा बालुवा भरेर गुडाउँदै त्यसको कभरमा दुश्मनविरुद्ध गोलाबारुद बर्साइन्यो । ‘दुश्मनको नाइटभिजनले हामीमाथि निकै ठूलो संख्यामा बम प्रहार गरेपछि युद्ध सफल भएन,’ उनले प्रस्ट्याए, ‘त्यो युद्धमा मलाई गोली लाग्यो । हाम्रा थुप्रै योद्दा घाइते तथा सहिद भए । यो जीवनमा लडेकामध्ये निकै ठूलो चुनौती सामना गरेको युद्ध हो ।’ ०६२ वैशाख २६ को मोर्चामा पाँचौं बटालियन कमिसार कमरेड दिनेश र कमान्डर रामजीलाई सदाका लागि बिदा गर्नुको विकल्प रहेन ।

धनकुटाको लेउती र इलामको पुवाखोलाको लडाइँमा ४१ थान अत्याधुनिक हतियार कब्जा गरेको उनलाई हिजैजस्तो लाग्छ । त्यसअघि मोरङको जाँतेमा ८१ एमएम मोर्टार पहिलोपटक कब्जा भएको थियो । मोरङको चारकोसे झाडीमा १४ छाक खाना नखाई युद्ध लड्दा पनि कोही विचलित नभई विचार र उत्पीडित जनताको पक्षमा मर्न र मार्न तयार थिए । ‘अहिले पार्टीले कताकता पूर्वपीएलएलाई पूरै बेवास्ता गरेजस्तो लाग्छ,’ उनले दुःखेसो पोखे, ‘त्यही जनसेनाले लडेर ल्याएको गणतन्त्रको भोग हामी सबैले गरिरहेका छौ । यसर्थ, मजस्तै देशको खातिर लड्ने पूर्वपीएलएको सम्मानमा देश आओस् । देशका लागि जुनसुकै अवस्थामा जनसेना फेरि पनि गोली थाप्न तयार छन् ।’

०६२ माघ १४ गते कालीध्वज गण भोजपुर घोडेटार ब्यारेक हमला हुँदा संघर्ष सोलु सल्लेरी ब्रिगेड १ नम्बर बटालियन ‘ए’ कम्पनीको जिम्मेवारीमा थिए । एसल्ट योद्दा १० जना थिए । त्यहाँ उनीहरूले धेरै टाढाबाट सकेट बम उडाएर ब्यारेकभित्र खसाल्ने विधि ‘डिस्चार्ज कप प्रहार’ गरी झन्डै एक किलोमिटर टाढासम्म गएर बम पड्कने नयाँ विधि उपयोग गरे । यसलाई दुश्मनले दुई बाँस गाडेर ठुल्ठूला रबरको गुलेलीले बम फाल्ने गरेको सुनाउँथे । डिस्चार्ज कप भने थ्री नट थ्री राईफलको नोजलमा कप फिट गरेर गोलीको सहाराले बम उडाउने विधि जनमुक्ति सेनाले विकास गरेका थिए । ‘युद्ध लड्दा भौगोलिक अवस्थाले हामीलाई साथ दिएन,’ उनले सुदूरअतीत सम्झे, ‘बटालियन भीसी कमरेड जमिनलगायत थुप्रै साथी गुमाएर घोडेटार मोर्चाबाट फर्क्यौं ।’

जनमुक्ति सेनाका कमान्डर कमरेड संघर्षले संघर्षशील जीवनको लय समातेकै छन् । श्रीमतीको उपचार गर्दागर्दै बचाउन सकेनन् । जेठी श्रीमतीपट्टिका एक छोरा र दोस्रो श्रीमतीतिरका एक छोरा एक छोरीसहित वैदेश्वर गाउँपालिका–१ बोहोरा दोलखामै छन् । गाउँमै बसेर जनताको सेवामा समर्पित छन् । वैदेश्वर गाउँपालिका १ नम्बर वडाध्यक्षमा उम्मेदवारी दिएका उनी पराजित भए । उनी चुनावमा मात्रै पराजित भएका हुन् । पराजित भए पनि जनपक्षीय कामका लागि अग्रसर छन् ।

प्रतिक्रिया दिनुहोस्