कविता : हलेसीगढी



प्रसव वेदनाले छटपटिँदै
बच्चा जन्माउँछिन् आमा
ह्याफ्रेमा गरेर खुवाइन्छ पोसिलो झोल
बच्चा र आमा दुवै स्वस्थ रहन्छन्
राष्ट्रले कर्तव्यनिष्ठ आमा र सबल नागरिक पाउँछ
एउटा सबल नागरिकले
अस्तित्वको लडाइँबाहेक अरू गर्दैन ।

तिमीले सुनेकै हौला
डाँका, गुन्डागर्दी, चोरी र बलात्कारका घटना
एउटाले अर्कोलाइ पछार्ने
आफ्नोले आफ्नैलाई छिर्के हान्ने
फोहोरी राजनीतिक खेलहरू
ह्याफ्रेमा संस्कार नगरेको आमाले
जन्माएका सन्तान हुन् ती
जुन आमाले ह्याक्रोमाको पोसिलो झोल खान पाएन
आमा स्वस्थ भइनन्
र, सन्तान पनि स्वस्थ हुन पाएन
अस्वस्थ मानसिकताले अराजकताको पाठ पढाउँछ
अराजक घटना घटाइरहन्छ समाजमा
अब बुझ्यौ ? संस्कार र संस्कृतिको महत्व के हुँदोरहेछ ?

अब म तिमीलाइ हलेसीगढीतिर लैजान्छु
होलेसुङ राजाको दरबार हो– हलेसीगढी
यहाँ राज्यको इतिहासलाई नै चुनौती दिने
इतिहासहरू सुरक्षित छन्
सुरक्षित छ– हलेसीगढीको गोलाकार विम्ब
अस्तित्वको लडाइँमा बगेको रगत
रगतले बगेर बनाएका खोल्साहरू
देख्न सक्छौं युद्धमा प्रयोग भएका तरवारको टुक्राटाक्री
त्योभन्दा बढी देख्न सक्छौं
विज्ञानलाई नै चुनौती दिने
ह्याक्रोमा जस्तो किरात संस्कृति

मलाइ हलेसीगढीबाट आह्वान गर्न मन छ
संसारको गास्तीहरूलाई
संसारको बास्तीहरूलाई
संसारको लास्तीहरूलाई
आऊ हलेसीगढीमा
र, काटौं कुभिन्डोहरू
लिच्छविकाल र शाहवंशीय ढ्याके पैसा अचानो राखेर
वाबुबाट वासिम र बेछु छर्कंदै फलाकौं
सोई ढोले सोई
हलेसीगढी कसको होई ?
भनौं– काठमाडौंतिर फर्किएर ।

प्रतिक्रिया दिनुहोस्