बाँसपानी (खोटाङ) । धनकुमारी दर्जी (६५) शारीरिक रूपमा कमजोर बन्दै अनुभूति गर्छिन् । पहिले सबै–सबै गर्ने दर्जी हिजोआज कठिन काम गर्न सक्दिनन् । गाउँको बसाइ सजिलो छैन । ‘खन्न हुँदैन । बल प्रयोग गरिने काम त गर्नै पो सक्तिनँ,’ उनले दुःखेसो पोखिन्, ‘भारी बोक्न हुँदैन । खुट्टा दुख्न थालिहाल्छ । हल्का काममात्रै गर्न सक्छु ।’
१२ कक्षा पास गरेर पाथेका (खोटाङ)तिर कपडा सिलाउन थालेका बाँसपानीका सुरेश दर्जीले एक्कासि आँखा देख्न छाडे । उच्च रक्तचापले असर गरेपछि दर्जीले आँखा देख्नमात्रै छाडेनन्, उनको दुवै मिर्गौला काम नलाग्ने भयो । दुई वर्ष डायलाइसिस गरेर ज्यान जोगाएपछि धनकुमारीले छोरालाई मिर्गौला दिइन् । त्यसपछि उनी शारीरिक रूपमा कमजोर बन्दै गएकी हुन् ।
‘आफू जति नै कमजोरी भए पनि खुसी छु,’ उनले खुसी व्यक्त गरिन्, ‘म त कति दिन पो बाँच्छु र । तर, छोरो त धेरै वर्षहरू बाँच्नुपर्छ भनेर मिर्गौला दिएँ ।’ उनले देब्रेपट्टिको मिर्गौला छोरालाई दिएकी थिइन् । छोरालाई मिर्गौला दिएपछि उनलाई पाँच दिनका लागि औषधि खान दिइएको थियो ।
एकातिर बाउले बिहे अर्को बिहे गरेर हिँडेको पीडा । अर्कोतिर कान्छा छोराको यस्तो अवस्था । छोरालाई मिर्गौला दिएपछि खानपानमा ध्यान दिनु त छँदै छ । पहिलेजस्तो जे पायो त्यही खान हुँदैन । मुख बार्न सक्नुपर्छ । भैंसीको मासु खाँदा उनको शरीर चिलाउँछ । सुँगुर, कुखुराको मासु र माछामात्रै खान्छिन् । चिकित्सकले धूमपान, मद्यपान नगर्नू भनेका छन् । उनी पहिले पनि गर्दिनथिन् ।
‘तीन/चार महिनामा एकपटक अनिवार्य चेक–जाँच गर्न बोलाउँछ,’ उनले सुनाइन्, ‘पटक–पटक धरान झरे पनि वर्ष दिनजस्तो भयो चेक गराको छैन । नौ दिन बिरामी परेर भर्खर उठें । खै केले बिसायो । केले ।’
एकपटक चेक–जाँच गर्दा निकै पैसा लाग्छ । तर, माला राई (पूर्वमन्त्री राजन राईकी कान्छी बहिनी)ले सबै खर्च लगाइदिन्छिन् । ‘बाँसपानीबाट धरान झर्दा र उताबाट घर फर्कंदा पनि मालाले नै खर्च दिन्छिन्,’ उनले सन्तोषको सास फेरिन्, ‘अस्पतालको खर्चसमेत कान्छीले नै बेहोरिदिन्छिन् । त्यसैले बाँच्ने आशा पलाएको हो । नत्र त हामीजस्ता दुःखी–गरिबलाई ज्यान जोगाउन गाह्रो छ ।’
आफूमात्रै होइन, उता छोराको दुःख पनि उस्तै होलान् भनेर धनकुमारी सुर्ता गर्छिन् । मिर्गौला प्रत्यारोपण गरे पनि छोराको औषधोपचार महँगो छ । उनले पनि खानपानमा विशेष ध्यान दिनुपर्छ । ‘छोराले सुँगुर, भेडा र बाख्राको मासु खान हुँदैन । उसले लोकल कुखुरा, ब्रोइलरको मासु र माछामात्रै खान मिल्छ,’ उनले थपिन्, ‘साग पनि ओल्साएर मज्जाले पकाएर खानुपर्छ । तरुल खान मन लागे काटेर उमालेपछि पकाएर खान मिल्छ रे ।’
धूमपान, मद्यपान कहिल्यै नगर्ने छोराको मिर्गौला काम नलाग्ने हुँदा आमा धनकुमारी दर्जी तीनछक परेकी थिइन् । जे नहुनुपर्ने थियो, त्यही भयो । तर पनि पूर्वमन्त्री राजन राईको परिवारको अतुलनीय र अमूल्य सहयोग पाएपछि सुरेश दर्जीको जीवन सहज बन्दै गएको छ । सहज तरिकाले जीवन जिउन सघाउ पुगोस् भनेर माला राईले सुरेश दर्जीलाई टेम्पो किनिदिएकी छन् । त्यही टेम्पो चलाएर दर्जीले औषधोपचार गर्दै जीवनको लय समातेका छन् ।