दमौली (तनहुँ) । देवघाट गाउँपालिका–३ तनहुँनिवासी ७३ वर्षीया माया गुरुङले ७३ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् ।
प्रमुख जिल्ला अधिकारी सागर आचार्य र देवघाट गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले घरमै पुगेर गुरुङलाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेका थिए ।
परिवारमा कोही पनि नभएका कारण एक्लै बस्दै आएकी उनले नागरिकता नपाएको जानकारी पाएपछि आवश्यक कागजात जुटाएर नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी गराए ।
देवघाट गाउँपालिका अध्यक्ष थापाले गाउँपालिकाले आवश्यक कागजातसहित प्रशासनमा सिफारिस गरेपछि नागरिकता प्रदान गरिएको बताए । नागरिकता नहुँदा उनले अहिलेसम्म ज्येष्ठ नागरिक सुरक्षा भत्ता पाएकी थिएनन् । गाउँपालिका अध्यक्ष थापाले वृद्धालाई ज्येष्ठ नागरिक सुरक्षा भत्ताका लागि आवश्यक प्रक्रिया मिलाउने जानकारी दिए ।
नागरिकतासँगै उनलाई पाँच महिनाका लागि पुग्ने खाद्यान्न सामग्री, भाडावर्तन र न्यानो कपडासमेत उपलब्ध गराइएको थियो ।