चार करोड खर्चिंदा पनि नजितेको त्यो चुनाव


तस्बिर : अनलाइन खबर ।

डिकुवा (खोटाङ) । संवत् २०८० साउन १५ गते । जिल्ला सदरमुकाम खोटाङदेखि काठमाडौंसम्मको यात्रामा संघीय सांसद रामकुमार राई ‘पासाङ’ सँगै यात्रारत थिए– एमाले खोटाङ अध्यक्ष राम दंगाल, दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्षका प्रत्याशी गोपालचन्द्र राई र अनिल किराती (निर्मलीडाँडा) । किराती भने हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिम छापडाँडादेखि यात्रामा मिसिए ।

यात्रामा सवार रहँदा एमाले अध्यक्ष दंगाल र माओवादी केन्द्रका नेता गोपालचन्द्रबीच निर्वाचनमा आफू पराजित हुनुको तीतामीठा गफगाफ गरिरहे । स्थानीय तह निर्वाचनमा गोपालचन्द्र राईलाई हराउन राम दंगाल लागिपरेको वास्तविकता बोलिएपछि गोपालचन्द्र राई आफूले पनि प्रदेश र संघको निर्वाचनमा के बाँकी राख्नु भनेर पैंचो फर्काइहालेको बताए ।

गोपालचन्द्रको पक्षमा मतदान गर्ने मतदातालाई मादक पदार्थ खुवाएर फकाएको दंगालले बोले । त्यसको पैंचो संघ र प्रदेश निर्वाचनमा एकको साटो दुई बोतल खर्चेर रामकुमार राई ‘पासाङ’ र भूपेन्द्र राईलाई तपाईंको मतदाता फकाएको गोपालचन्द्रले भन्न कुनै आइतबार कुरेनन् ।

तस्बिर : रातोपाटी डटकम ।

रमाइलो प्रसंग सुनाउन रोकिएन । उम्मेदवारी दिए पनि खोटाङमा माओवादी केन्द्र र कांग्रेस गठबन्धन भएपछि आफूले हार्छु भन्ने पक्कापक्की थियो भनेर दंगालले नढाँटी सुनाए । प्रदेश निर्वाचनमा आफूले २० लाखजति खर्च गरेको उनले स्वीकारे । कुरैकुरामा दंगालले विशाल भट्टराई कमरेडले संघको निर्वाचन जित्न चार करोडभन्दा माथि खर्च गरे भनेर गोपालचन्द्रलाई सुनाए ।

निर्वाचनमा चार करोड खर्च भयो भन्दा सुन्नेले जिब्रो टोक्ने नै भए । पूर्वसांसद भट्टराई कमरेडको चार करोड खर्चको कुरा गर्दा दंगालले स्रोत खुलाउन भ्याइहाले, ‘विशाल भट्टराईको नाममा २० लाखसम्म त व्यक्तिगत सहयोग प्राप्त भएको थियो । चार लाख, पाँच लाख सहयोग गर्नेको गन्ती गर्नै सकिँदैनथ्यो । खालि १०, १५ र २० लाख रुपैयाँको मात्रै हिसाब–किताब हुन्थ्यो ।’

एउटा सामान्य मजदुरले पाँच सय कमाउन एक दिन कठिन मिहिनेत गर्नुपर्छ । पूर्वसांसदलाई करोडौंको स्रोत जुटेपछि त निर्वाचन जित्नैपर्ने होइन र ? खर्चिएको पैसा पिँधमा रहेका किसान तथा मजदुरको हातमा पर्यो कि नाइँ ? तर, विडम्बना एमाले खोटाङ अध्यक्ष राम दंगालले यात्रामा सुनाएको कुरा सत्य हो भने पैसाको खोला बगाएर हारेको निर्वाचनको व्यथा संघीय सांसद रामकुमार राई ‘पासाङ’ को अगाडि सुनाइनु सुखद कि दुःखद ? सांसद राईले यात्रामा निर्वाचनका सुख–दुःख सुनिमात्रै रहे ।

तुवाचुङ साप्ताहिक, वर्ष ६, अंक ११, २०८० असोज १९ गते शुक्रबार प्रकाशित पहिलो पृष्ठको ‘चार करोड खर्चिंदा पनि नजितेको त्यो चुनाव’ समाचारमा अनिल किराती (निर्मलीडाँडा) हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।

(साभार : तुवाचुङ साप्ताहिक)

प्रतिक्रिया दिनुहोस्