मेरो रातो रगत
मानिसको पवित्र रातो रगत
नीलो पसिनाको बूँद बनेर जब झर्दछ
तिमी आफ्ना नरम अञ्जुलीहरूमा आली लगाएर थाप्दछौ ।
जब म त्यो श्रमको सुवासयुक्त पसिना सुँघ्न खोज्दछु
तिमी मेरो अपमान गर्छौ र मलाई टाढा राख्दछौ
आँखा जुधाउने आँट गर पुजारी
म बीसौं शताब्दीको ‘अछुत’ हुँ
म न्याय चाहन्छु/मुक्ति चाहन्छु ।
तिम्रो मन्दिरको मूर्तिमा मेरो आरनको गन्ध आउँछ
ओदानमाथिको कराइमा मेरो पसिनाको गन्ध आउँछ
आँखा जुधाउने आँट गर धर्माती मान्छे
कि मेरो अस्तित्वलाई भुङ्ग्रोमा पोल र धर्म धान्ने आँट गर
कि मेरो अपमान गर्ने शास्त्रका पानाहरूलाई च्यात्ने या जलाउने साहस गर
म तिम्रो मन्दिरको देवता बनाउने कामी हुँ
यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ
तिम्रो बस्तीको सफा भुइँलाई सुँघ
बस्तीको हरचोक्टामा मेरो रगतको गन्ध आउँछ
आँखा जुधाउने आँट गर सफा मान्छे
कि मेरो रक्तनलीहरूमा पानी भर
कि आफ्नो दिमागको फोहोर सफा गर
म तिम्रो बस्तीको फोहोर सोहोर्ने च्यामे हुँ
यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ
तिम्रो मनका मनोरञ्जित ग्रन्थीहरूलाई च्यात
त्यहाँ मेरो संगीतको मधुर सरसराहट सुनिन्छ
आँखा जुधाउने आँट गर चेतनायुक्त मान्छे
कि मलाई जनावरसँगै बाँध र घाँस खुवाउने आँट गर
कि तिमी आफूलाई जनावरभन्दा फरक पार्ने साहस गर
म सारङ्गी रेट्ने, मादल ठोक्ने गाइने हुँ
यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ
माटोमा धस्सिएको मेरो जीवनलाई छाम
त्यहाँ मेरो आँसुको आहाल भेटिन्छ
आँखा जुधाउने आँट गर अघाएको मान्छे
कि तिम्रो गाँसमा मेरो आँसुको गन्ध छैन भन्ने आँट गर
म तिम्रो गोरुसँगै माटोमा पौडिने मुसहर हुँ
यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ
तिम्रो पाइतालाको जुत्तादेखि शिरको टोपीसम्म
तिम्रो दृष्टिको दूर क्षितिजदेखि मुटुको स्पन्दनसम्म
म कहाँ छैन ? म सर्वत्र छु
मलाई तिमी कसरी ‘अछुत’ बनाउन सक्छौ ‘छुत’ मान्छे ?
कि इतिहासको कठघरामा उभिने आँट गर
कि आफूलाई बदल्ने साहस गर
आँखा जुधाउने आँट गर पुजारी
म बीसौं शताब्दीको अछुत हुँ
यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ
म अपमानित इतिहासको हिसाब चाहन्छु
म कुनै पनि मूल्यमा मुक्ति चाहन्छु ।