तातो हावाको झोंक्काले
फर्फराउँछ
पराजित मुलुकको झन्डाजस्तो
दसनीको लेहङ्गा ।
धेरै चोट सहिसक्यो
धेरै रगत बगाइसक्यो
धेरै बलात्कार खपिसक्यो
जमिनदारको बाँझो खेतमा
धेरै कुलो लगाइसक्यो
घामपानीको मारले
जति मधुरो देखिए पनि
अझै रंगीन छ
हजारौं फूल फुल्ने उद्यानजस्तो
दसनीको लेहङ्गा ।
दाउरा लिन गएको
जंगलबाट फर्केन
कसैलाई थाहा छ कि
कहाँ फर्फराइरहेछ बुट्टेदार
दसनीको लेहङ्गा ।