सहिद निस्केको सुरुङलाई आगोले खाएको छ
सुरुङको अस्तुलाई दन्तकिच्चा नदीले बगाएको छ
फरिकामा झुन्डिएको चोलोमा पुराना दिनहरू छन्
चोलोमा रहेको थैलीभित्र तारिखका पर्चाहरू छन्
मुद्दाको किनाराबाट एउटा तरवार निस्केको छ
हरेक पल थुङ्गनीमा राखेर मासु काटिरहेको छ
आफ्नै जमिनमा पनि फैसलाका काँचहरू छरिएका छन्
कष्टसाथ हरेक दिन सूर्य मारिरहेछ
र कामतको झ्यालबाट दुधियाको गन्ध आइरहेछ
नयाँ राइफल बोकेर मुन्गाका रूखहरूमा
मुन्गाहरू झुन्डिएका छन्
तिनका डरलाग्दा आँखाहरू छाप्राहरूमा पर्न सक्छन्
र फूलमन्ती र सतनियाँका दाँतहरू
कुनै पाखुरामा बुट्टा बनाउन सक्छन्
बुट्टाको पर्वाह कसले गर्छ ?
असरको कल्पनामा कुन आँखाले
छोडिदिन्छ फूलमन्ती र सतनियाँलाई
आफैंले बाटेको डोरीलाई
आफ्नो घाँटीमा प्रयोग गरेर
यहाँ सतनियाँहरू मरिरहेका छन्
र फूलमन्तीका सनाखतका
पर्चाहरू झुन्डिरहेका छन्
बाबाको स्थानमा काठको घोडा राखेर पनि
केही काम बनेको छैन
आफ्नै हातले दूधलाई घोटेर
खुवाको ठुल्ठूला लड्डु पनि बनाइयो
र, सबभन्दा ठूलो थालीमा
लगेर बाबालाई पस्कियो पनि
तर पनि केही काम बनेन
अचेल यता जयगोविन्द साह आउँदैनन्
बसिर मियाँ पनि आउँदैनन्
र छविलालको हालखबर कस्तो छ
वर्षौंवर्ष भयो चिट्ठी लेखेनौ
तिम्री आमाको हाल कस्तो छ
सम्झना गर सिँगियाको हाटमा
जब म रोएको थिएँ
जमिनदारको बुटले मेरो गोडामा कुल्चेकोले
मलाई दुख्दा
तिमीले भनेका थियौ–
रात्रिबस चढेर धमौरामा
एक दिन स्तालिन आउँछ
सबै ठीक हुन्छ
स्तालिन कहिले आउँछ
मलाई लेखिपठाऊ
रूखका टोड्कामा वेनम बोकेर
सर्पहरू उत्पात मच्चाइरहेका छन् ।
धमौराबाट झौवा थारू चिट्ठी लेख्छ
प्रतिक्रिया दिनुहोस्