३९ वर्षदेखि अध्यापनमै रमाइरहेका प्रधानाध्यापकको सुख–दुःख


गाँस, बास, कपाससँगै शिक्षा अपरिहार्य मानिन्छ । शिक्षाले सम्बन्धित मानिसको जीवन सरल र सहज बनाउँछ । शिक्षित मानिसलाई सबैले सम्मान गर्छन् । उनै सम्मानित व्यक्तित्वको जीवन–कहानी प्रस्तुत छ ।

प्रस्तुत कथाका पात्र हुन्– प्रधानाध्यापक कमला राई । तात्कालिक तिङ्ला गाउँ पञ्चायत वडा नम्बर–१ गैरीगाउँ (हालको सोलु–दूधकुण्ड नगरपालिका–११ तिङ्ला) सोलुखुम्बुनिवासी प्रधानाध्यापक राईको जन्म विक्रम संवत् २०१९ चैत १९ गते मंगलबार आमा स्वर्गीय फूलमाया राई र बुवा रहबहादुर राईकी साइँली छोरीका रूपमा भएको थियो ।

सामान्य परिवार । हजुरआमा, बुबा–आमा, तीन दाजुभाइ र तीन दिदीबहिनी गरी नौजनाका सुन्दर परिवार । पहाडी जीवनको बाल्यकाल । सुख–दुःख, उकाली–ओह्राली, घाँस–दाउरा, मेलापातमा रमाउनुुको आनन्द शब्दमा व्यक्त गर्न कठिन हुन्छ । त्यतिबेला छोरीलाई विद्यालय पठाउने चलन थिएन । छोरी पढे बिग्रन्छे भन्नेको बाहुल्य थियो । त्यस्तो समय र समाजमा पनि बुवा रहबहादुर राईको सोचाइ भिन्न र फराकिलो थियो । त्यतिमात्रै होइन, उहाँ पीपलबोट अप्पर प्राइमरी स्कुुल (हाल : श्री बरबोट आधारभूत विद्यालय)का स्थापकमध्ये एक थिए । विद्यालय स्थापक राईले आफ्ना छजना छोराछोरीलाई शिक्षा–दीक्षा दिन कन्जुुस गरेनन् ।

प्रधानाध्यापक कमला राई चार वर्षको छँदा दिदीसँगै बरबोट आधारभूूत विद्यालय जान्थिन् । प्रधानाध्यापक राईले विद्यालय जानुुअघि ‘क’ देखि ‘ज्ञ’ र ‘अ’ देखि ‘अः’सम्म फरर्र पढ्न जान्दथिन् । घरकै दाजु, दिदी र साथीभाइका संगतका कारण उहाँले ‘क’ देखि ‘ज्ञ’ र ‘अ’ देखि ‘अः’सम्म पढ्न जाने पनि विद्यालय टेकेपछि मात्रै लेख्नचाहिँ जानिन् ।

अन्ततः प्रारम्भिक शिक्षाको सुरुवात भयो । प्राथमिक तह अध्ययनताका उनी प्रथम र द्वितीय भइरहन्थिन् । उनी सफल र अब्बल विद्यार्थीका रूपमा परिचित थिइन् । त्यतिबेला अध्ययनका लागि हिजोआजजस्तो सहज र प्रविधिमैत्री वातावरण थिएन । खेतीकिसानी गरी जीवनयापन गर्ने परिवार । पूर्वको बिहानीसँगै कुर्लुङ, साँघुटार र खहरेबाट एक भारी घाँस वा दाउरा ल्याएपछि विद्यालय जानुपर्ने बाध्यता थियो । समय हेर्ने घडी थिएन । कहिलेकाहीँ त विद्यालय पुुग्न ढिला हुन्छ भनेर खानासमेत नखाई जानुपथ्र्यो । उनी एक बिहान ‘आले’ भन्ने ठाउँबाट दाउरा लिएर घर पुुग्दा अँगेनामा चामलको भात पाक्दै थियो । माछाको तरकारी पाकिसकेको थियो । विद्यालय जान ढिला हुन्छ भनेर माछाभात नखाईकन रुँदै भोकै विद्यालय गएकी उनलाई हिजैजस्तो लाग्छ । विद्यालयबाट घर फर्कंदा हजुरआमाले ए साइँली, माछाको तरकारी र चामलको भात नखाई गइस् । टिफिनमा पनि भात खान आइनस् भन्दै हजुुरआमाले गरेको बिलौना उनले बिर्सेकी छैनन् । भोकै विद्यालय जानुु भनेको उनमा शैक्षिकमोह कति रहेछ भनेर प्रस्टिन्छ । पढाइले निरन्तरता पाउँदै गयो ।

सुुनूूँ–सुनूूँ लाग्ने सोलुखोलाको सुुस्केरा । कुर्लुङको उकाली–ओह्राली, असारे हिलोमा छुपुछुपु धान रोपाइँ र सिमसिमे पानीमा घुम ओढेर कोदो रोप्नुुको सुखद सम्झना ताजै छ । मिल्ने भए पिठ्यूँमा भाइबहिनी बोकेर साथीसंगीसँग गट्टी, ढक्कासारी र गिर खेल्दाको बाल्यकाल माग्थिन् रे ।

प्राथमिक तहको अध्ययन पूूरा भयो । निम्नमाध्यमिक तह अध्ययनका लागि हालको सिंहकाली निम्नमाध्यमिक विद्यालय गञ्जेडाँडा जानुपथ्र्यो । त्यहाँ त हाम्रो विद्यालयजस्तो डेस्क, बेन्च हुँदैनन् रे । पिरा बोकेर जानुपर्छ रे भन्दै सहपाठीले त्यो स्कुल नजाऊ भनेर सुुझाए । सहपाठीको सुुझाव आत्मसात् गर्दै उनले एक/दुई वर्ष घरायसी काम र गोठाला, खेताला गर्दै बिताइन् । घरमा सीमित रहेर अध्ययन बिट मार्न मनले मानेन । दुुई/तीनजना साथीसँग सरसल्लाह गरी अध्ययनलाई पुनः निरन्तरता दिने निश्चित भयो । नभन्दै जीवनज्योति माध्यमिक विद्यालय नेलेमा भर्ना भइन् । झन्डै दुुई वर्षपछि अध्ययनले निरन्तरता पायो । घरबाट टाढाको विद्यालय । घरबाटै विद्यालय धाउन गाह्रो थियो । कोठाभाडामा बसेर अध्ययन गर्नुपर्ने बाध्यता । त्यसपछि घरसल्लाह गरेर महेन्द्रोदय माध्यमिक विद्यालय सल्यानमा स्थानान्तरण भइन् । उनले २०३९ सालमा त्यहीँबाट माध्यमिक शिक्षा (एसएलसी) पूूरा गरिन् । हुन त सल्यान पनि टाढा । जंगलको बाटो । घरबाट १ घन्टा ३० मिनेट पैदल दूूरीको विद्यालय । विद्यालय एक्लै जानुपर्ने । कहिलेकाहीँ त निराश लाग्थ्यो । खुट्टा काँप्थे । तर, खाने मुखलाई जुँगाले छेक्दैन भन्ने उखानजस्तै अध्ययनलाई पूूर्णविराम दिन मन लागेन । उहाँले बोक्साको पहिरो, दाल्दुको जंगल, सुर्लुङ्गेको उकालो छिचोल्दै महेन्द्रोेदय माध्यमिक विद्यालय धाइरहिन् । त्यतिबेला तिङ्लाबाट सल्यान पुुगेर अध्ययन गर्ने उनी एक्लै हुन्थिन् । लाम्माने, पेकानास र घुन्साका सहपाठी भए पनि बातचित हुुँदैनथ्यो । हिउँदमा चाँडै रात पर्ने भएकाले दाल्दुको जंगलमा हतार–हतार दौडेर बाटो पार गर्दाको पीडा चर्को थियो ।

एसएलसीसम्मको अध्ययन छिचोलेपछि उनको जीवनले अर्कै मोड लियो । लगत्तै शिक्षण पेसामा जोडिइन् । त्यतिबेला विविध समस्याले पढाइ छाड्नेको बाहुल्य थियो । तसर्थ, दक्ष शिक्षक पाइँदैनथ्यो । त्यस्तो समयमा तिङ्लाले उनीजस्तो योग्य शिक्षिका पायो । यो गौरवको विषय थियो । उनले २०३९ वैशाख २० गतेबाट औपचारिक रूपमा श्री बरबोट प्राथमिक विद्यालयमा अस्थायी शिक्षकमा रूपमा अध्यापन थालिन् ।

सात वर्ष अस्थायी शिक्षकको भूूमिकामा रहिन् । शिक्षा सेवा आयोग उत्तीर्ण गरेर २०४६ पुुस २ गतेबाट स्थायी शिक्षिकाका रूपमा नियुक्ति लिइन् । शिक्षकका रूपमा अध्यापन कार्य जारी थियो । स्थायी शिक्षकको भूमिका निर्वाह गरेको १० वर्ष बितिसकेको थियो । त्यही समय २०५६ फागुनदेखि उनले सोही विद्यालयको प्रधानाध्यापकको भूूमिका पाइन् । प्रधानाध्यापकको भूमिका आफैंमा जिम्मेवार र गहकिलो हुुन्छ । भूूमिका पाएपछि पछि हट्ने कुुरै भएन । पाएको भूमिका निर्वाह गर्न सक्छु भन्ने आत्मविश्वास थियो । एउटी महिलाले आमा, बुहारी, श्रीमती आदि–आदि अनेक चरित्र र भूूमिका निर्वाह गर्नुपथ्र्यो । स्थायीमात्रै जोड्दा दसवर्षे शिक्षण पेसाको अनुभवले

प्रधानाध्यापकजस्तो जिम्मेवार पदीय भूूमिका निर्वाह गर्न सजिलो भयो । आजसम्म पनि प्रधानाध्यापककै भूमिकामा रहेकी उनी २०६२ वैशाख ३० गते प्राथमिक विद्यालय द्वितीय श्रेणीमा बढुवा भइन् ।

बालबालिकालाई पढाउने काम सजिलो हुँदैन । बालबालिकालाई पढाउनेक्रममा अक्षर नचिन्दा चिनाउन गरेको मिहिनेत । पढाइमा ध्यान नदिने स्वभाव, अरूसँग चकचक गर्दा उत्पन्न हुुने द्वन्द्व, बालबालिकाको मनोभाव बुझ्दै सम्बन्धित अभिभावकसमक्ष छोराछोरीलाई निरन्तर विद्यालय पठाउनूू है भन्दै गर्नुुपर्ने बिन्ती । यसैगरी, विद्यालयको शैक्षिक, भौतिक, नैतिक, व्यावहारिक, आर्थिकलगायत सबै प्रकृतिका जिम्मेवारी लिनु त छँदै थियो ।

विद्यालय प्रधानाध्यापकको भूूमिकामा रहँदाको सुखद पक्ष त छँदै छ । साह्रोगाह्रो पनि त हुुने नै भयो । घरपरिवारभन्दा विद्यालयलाई धेरै समय दिनुपर्ने । बैठक, गोष्ठीमा सहभागी भइरहनैपर्यो । घरपरिवारलाई समय दिन नसक्दा व्यवहार लथालिंग । सधैंको हतारो । सामाजिक कार्यमा समय दिन नसक्नु, बिरामी छु भन्न नपाउनुको शृंखला छोटो छैन । पहाडको बाटो । वर्षायाममा विद्यालय धाउँदाको पीडा । विद्यालयको कामले सदरमुकाम सल्लेरी पुग्न सिस्नेरीको पहिरोमा ज्यान जोगाउन गरेको संघर्ष खनिखोस्री साध्य छैन । यस्तै, तीता–मीठा अनुभवका पिरामिड कमला राईले घरभन्दा विद्यालय र निजी जीवनभन्दा शिक्षण पेसालाई प्यारो ठानिन् ।

छोरी भनेको अर्काको भित्ता टाल्ने जाति भएकाले किन पढाउनु भन्ने जगजगी थियो । तर, निरक्षर आमा स्व. फूूलमाया राई र साक्षरमात्रै बुवा स्व. रहबहादुर राईले शिक्षाबाट वञ्चित नगराएकाले छोराछोरी सबैलाई आफ्नो खुट्टामा उभिन सक्ने बनाइदिए । संवत् २०४१ सालमा सल्याननिवासी मणिराम थुलुङ राईसँग वैवाहिक जीवनमा बाँधिएकी उनी तीन छोरी र एक छोराका आमा हुुन् । चार छोराछोरीको पालन, पोषण र शिक्षा–दीक्षामा उनको अहम् भूूमिका छ । आफूू सफल हुनुमा श्रीमान्को त्यत्तिकै हात र साथ छ । अध्यापन गरेबापत तलब हात पारे पनि महत्वाकांक्षी योजना कहिल्यै बनाइन् । सपना पनि देखिनन् । मोजमस्ती गर्ने मन गरिनन् । हुन त त्यतिबेला शिक्षकको तलब कति नै हुन्थ्यो र । तर घर–व्यवहार, छोराछोरीलाई शिक्षा–दीक्षा दिन, गाउँघरमा कसैलाई साह्रोगाह्रो पर्दा सरसापट दिन कसैलाई हात थाप्नुपरेन । आफूबाट सहयोग पाउने गाउँलेलाई राहत पुग्थ्यो । आफ्ना छोराछोरीले आमाबुवाकै पदचाप पछ्याएका छन् । आमा गुनको तामा, बोट गुनको फल भनेको यही हो । जुन घरकी आमा शिक्षित हुन्छिन् नि, त्यो घरमात्रै नभएर सम्बन्धित समाज अनि देश शिक्षित हुन्छ भन्ने भनाइ छ । र, सत्य पनि हो ।

३९ वर्षको शिक्षण यात्रा । विद्यार्थी, अभिभावक, सम्बन्धित समाज र समुदायप्रति पुर्याएको लोभलाग्दो योगदान । उहाँले पढाएका विद्यार्थी स्वदेश तथा विदेशमा रहेर बनाएको पहिचान । आफ्ना विद्यार्थीको सफलताको कथा सुन्दा उनलाई कम्ती आनन्द लाग्दैन । उनलाई सहरका चोक, रेष्टुराँको मेनु त थाहा नहोला तर आफ्नो समुदायमा पुर्याएको योगदानको कदर भएकै छ । उनको जीवनभरिको सम्पत्ति यत्ति हो । शिक्षणमात्रै नभएर, उनले गाउँठाउँमा खेलेको समाजसेवी भूमिका झन् अर्थपूर्ण छ ।

सरल तथा गम्भीर स्वभावकी प्रधानाध्यापक कमला राईको समग्र जीवन सफल देखिन्छ । जुन विद्यालयबाट अध्यापन थालिन्, सोही विद्यायलको प्रधानाध्यापक भएर त्यही भूमिकाबाट आगामी माघमा सेवानिवृत्त हुँदै छिन् । आफ्नो जीवनको उर्वर समय शिक्षण पेसामार्फत राईले पुर्याएको अतुलनीय योगदान उनका विद्यार्थी, विद्यालयका शिक्षक, शिक्षिका, कर्मचारीले मूल्यांकन गर्ने नै छन् ।

प्रतिक्रिया दिनुहोस्