हेलिकोप्टरको टिकट नहुँदा छातीमै एसएलआर



श्रीमतीले जन्म दिने बुवाआमाको दर्शनभेट गर्न नेपाल जाने मन गरिन् । हामी अमेरिकामा थियौं । मैले स्वीकारें । म पनि दुई/तीनपटक एक्लै यात्रा गर्दा वाक्कै भइसकेको थिएँ । छोराछोरीको पढाइको छुट्टीमा नेपाल जाने व्यवस्था मिलायौं ।

काठमाडौं ओर्लेपछि खोटाङ जान चर्कै पर्यो । नेपालको वर्षायाममा मात्र छोराछोरीको छुट्टी मिल्थ्यो । श्रीमतीको बुवाआमा (सासूससुरा) भेट्न कुनै न कुनै उपायबाट खोटाङ पुग्नै पर्थ्यो । काठमाडौंमा पहिले–पहिलेजस्तो आगो तापेर हवाई टिकट लिन सम्भव थिएन । लामीडाँडा विमानस्थलको टावर भत्केकाले सर्वसाधारणलाई एकदमै सास्ती परेको थियो । नयाँ बनाउन माओवादीले पुरानो संरचना भत्काइदिए । बर्खामासमा छोराछोरीसँग पैदलै जान त्यत्तिकै कठिनाइ हुने शुभचिन्तकले सुझाए ।

माओवादी–राजावादीबीच घमसान युद्ध चलिरहेको थियो । काठमाडौंबाट दिक्तेलसम्म हेलिकोप्टरमा जाने योजना बनाएँ । हामी विमानस्थलतिर लाग्यौं । हातमा टिकट थिएन । एक व्यापारीले विमानस्थलमै लिनुपर्ने बताए । विमानस्थलमा खटिएका एक सिपाहीले विमानस्थल प्रवेश गर्न टिकट हुनैपर्ने जिकिर गरे । मैले यथार्थ बताउँदा तिनले खाउलाझैं गरेर सेल्फ लोडिङ राइफल (एसएलआर) हामीतिर तेस्र्याए । तिनको मेसिनगनमा गाली थियो कि थिएन थाहा भएन । तर, सेफ्टीकेस भने सेफै थियो । उनको हतियार खोलाई गल्ती भए दुर्घटना हुन सक्छ भनेर सावधानी अपनाएँ । किनभने मेरो साथीलाई साउदी अरबमा ठ्याक्कै त्यस्तै भएको थियो । साउदी सिपाहीले खेलाएर ठ्याक्कै सोध्दा साथीको कानबाटै गोली पड्कँदा उनी छक्कै परेका थिए । अनि म पनि ।

बिचरा सिपाहीले कसको रिस कसलाई देखाउँथे ! सायद उनी भोकै हुनुपर्छ या उसको बदली नआएको हुन सक्छ । किनभने लडाइँको पनि नियम हुन्छ । मैले बीसौं वर्ष तिनै विषयमा गहन अध्ययन गरेको छु । मैले उनलाई बिचरै भनें ।

मेरा छोराछोरी र श्रीमती भने डरले थरथर काँपिरहेका थिए । श्रीमतीले खोटाङ नजाऔं, बानेश्वर फर्कौं भनिन् । हामी टाढाबाट आएको त्यसमाथि हेलिकोप्टरले पर्खिरहेको हुनाले त्यसो नगर्न जिकिर गरें ।

एक अमलदार आएर राहत दिए । उनले हामी माओवादी नभएको ठहर्याए । अनि हामीलाई प्रवेश अनुमति दिए । मैले मनमनै नेपाल आमाको रक्षा गर्ने नेपाली सैनिकको चरित्रको विषयमा या उसले देखाएको चर्तिकलाबारे सोचें । खोटाङ पुगेर फर्केपछि पनि तिनको नजर लगाउँथें । म त्यहीं गल्फ खेल्न जान्थें । गल्फको झोला र क्लब देखेपछि भने उनी केही भन्दैनथे ।

तिनै सिपाहीको जबरजस्तीले सोचेभन्दा ढिलै भयो । विमानस्थल पुग्दा एआर डाइनेस्टी हेलिकोप्टरका क्याप्टेन हाम्रै पर्खाइमा थिए । हेलिकोप्टर चढ्यौं । छोरालाई अगाडि बस्न सुझाएँ । हामी दिक्तेलतर्फ उड्यौं ।

संवत् २०३६ मा राजा वीरेन्द्रको पूर्वाञ्चल भ्रमणक्रममा दिक्तेल सवार भए । म सानै थिएँ । गाउँबाट अन्य साथीभाइसँग कट्टु र चप्पल लगाएर राजा हेर्न जाँदाको क्षण सम्झें । गाउँबाट दिनुवाखोला झर्दा हात्तीछाप चप्पलको एउटा फित्ता चुँडियो । एउटा चप्पल हातमा र अर्को खुट्टामा लगाएर हाटडाँडा उकालो दौडिँदाको त्यो क्षण सम्झेर मनमनै हाँसें । उड्दै गरेको हेलिकोप्टरमा हाँसेको देखेर श्रीमतीले गाली गरिन् । मैले केही भनिनँ । जुन ठाउँमा राजा वीरेन्द्र हेलिकोप्टरमा ओर्लेका थिए, सोही हेलिप्याडमा हामी ओर्लंदै थियौं । त्यतिबेलाको त्यो ठाउँमा सैनिक पाइलटले थर्मसबाट चिया निकालेर प्लास्टिकका कपमा पिएका थिए । त्यसपछि मेरै अगाडि कच्याककुचुक पारेर कप फाले । सैनिक पाइलट कति धनी होलान् भनेर कल्पना गरें । फित्ता चुँडिएको चप्पलप्रति नजर लगाएँ । उनको सेतो अनुहार र मेरो सिँगान टालिएको गालामा सुकेर टाटा भएको अनुहार ।

दिक्तेल पुग्यौं । स्थानीय स्कुलको मध्याह्न छुट्टी भएकाले हेलिकोप्टरबाट ओर्लने बेला भीड लाग्यो । मलाई अतीतले स्तब्ध बनायो । बुहारी कमला आएकी रहिछन् । सामान लिएर बुहारीकै तिर लाग्यौं । श्रीमतीका रहर पूरा भयो । बुवाआमासँग दर्शनभेट भयो ।

दुई साता गाउँ बसेपछि पुनः दिक्तेल फक्र्यौं । यसपटक रसियन कार्गो हेलिकोप्टरबाट काठमाडौं जाने पक्का भयो । ठूलो, फराकिलो र प्रशस्तै सामान ओसार्ने कार्गो मनाङ एयरको हेलिकोप्टर । हेलिकोप्टरमा त्यति मनोरञ्जन गर्दिनँ । हङकङमा एक साता हेली अपसेलिङ गर्दा धेरै पटक चढेकाले मलाई त्यतिबेला धेरै दुःख भएको थियो ।

यसपटक म बस्ने सिटनजिकै जिउँदो खसी, काँक्रा, फर्सी आदि थिए । खसीलाई मानिससँगै राखेर उडाउन नहुने परिचारिकासँग मैले तर्क गरें । अन्तर्राष्ट्रिय नियम उल्लंघन गरेर त्यसलाई कुनै केजमा सुरक्षित राखेरमात्र उडाउनुपर्ने कुरा राखें । मसँग भएको भिडियो र डिजिटल क्यामेराले खसी र मानिस एकैठाउँ हुँदाको तस्बिर लिएँ । यात्रामा हुने सम्भावित खतराको उदाहरण बताएँ । आफू सवार हेलिकोप्टरले हवाई सुरक्षाको उल्लंघन गरेको विषय सञ्चारमाध्यमलाई जानकारी गराउने चेतावनी दिएँ ।

परिचारिकाले जायज मानिन् । उनले कार्यालय प्रमुखलाई जानकारी गराइन् । कार्यालय प्रमुखले विमानस्थलमै मसँग भेटे । मैले उनलाई उडानसम्बन्धी न्यूनतम नियम पालना गर्नुपर्ने र हवाई दुर्घटनाबाट जोगिन र जोगाउन सचेत नागरिकको हैसियतले आफ्नो पनि जिम्मेवारी भएको बताएँ । उड्दै गरेको हेलिकोप्टरमा खसीले दुई/चारवटा सिसा फुटाए वा जहाजलाई असन्तुलित बनाए यात्रामा जे पनि हुन सक्थ्यो । त्यसको मूल्यको विषयमा प्रश्न गरें । उनले माफी मागे । त्यो खसी नेपाली सेनाका कर्णेलले जरसाबलाई मायाको कोसेली पठाएकाले जिउँदै ल्याउनुपर्ने बाध्यता सुनाए ।

प्रतिक्रिया दिनुहोस्