कठ्यौरी र दीपेन्द्र सर


सोनाम सज्जन किराती

समयको किनारामा उभिएर
जुन दिन लेख्नुभो समाचार
एक गाँस रोटीसमेत
खोसिएको थियो मानिलिनूस्

तर पनि हतार–हतार डौडिएर
कहीं, कतै लुक्नुभएन
हुन चाहनुभएन पलायन

अखबारदेखि भागेर
लेखनप्रति वितृष्णा जागेन
कतैबाट डर–त्रासको तीर
आइरहन्थ्यो भीडहरूबाट

समाचारमै गहिरिएर
थाले विगतसित सिक्न
र, सम्झौता गरे वर्तमानको धारमाथि हिँड्न

यसरी नै बुझे दिनानुदिन
चोइटिएको समय
र, चोइटिएको पलभित्र सेकेन्ड, मिनेट
घन्टा, दैनिक, सप्ताह छ

त्यसकै बाछिटाहरूले
खै किन यसरी डाम्न भ्याइहालेछ
आरानको प्रथम झिल्को उछिट्टेर

अनि त बुझे
कामी दाइ बूढो भएर पनि
हम्मरको चलायमान गतिसित
जीवनको कम्ता मीठो रस हुँदैन भनेर

हो, ऊ त्यही किनारामा उभिएर
रसहरू बटुल्न थाले
दीपेन्द्र सर !
थोपा–थोपा बटुलेर
जोगडा गरे हिम्मत
जीवनपर्यन्तसम्म
अखबारीय महचेत फुल्ने बगैंचा रोज्न

एक माहुरी जब सुन्दर हुन्छ
ऊ बगैंचाको मालिक बन्छ
हो, आजउपरान्त दीपेन्द्र सर
उनै कठ्यौरीको कथा उघाएर
सरल बक्रताको रेखामार्फत बाँडिरहेछ
समाचारको अर्को न्याय हुर्काएर ।

प्रतिक्रिया दिनुहोस्