धेरै–धेरै वर्षअघि पहाडबीचमा भएको एक्लो घरमा हजुरआमासँगै दाजुबहिनी बस्थे । उनीहरू एकदमै गरिब थिए । खेतबारी थिएन । पैसा पनि थिएन । त्यसैले हजुरआमा आफ्नो घरभन्दा धेरै टाढा घट्टमा काम गर्न जान्थिन् । हजुरआमाले काम गरेबापत आउने पैसाले चामल र कपडा किन्थिन् ।
हजुरआमालाई काममा जाने बेला घरमा भएको नातिनातिनीको असाध्यै पीर लाग्थ्यो । किनकि पहाडको जंगलमा ब्वाँसो, फ्याउरो र बाघ पनि बस्थ्यो । आँखा झिमक्क गर्न नपाउँदै साना नानीहरू ती जनावरको सिकार बन्न सक्थे ।
‘बच्चाहरू हो, हजुरआमा नआउन्जेलसम्म कसैलाई ढोका नखोल्नू है ?’ बिहान काममा जाने बेला हजुरआमाले नातिनातिनीलाई भन्थिन् । ‘हस्, हजुरआमा पीर नगर्नुहोस्,’ नातिनातिनी भन्थे, ‘हजुरआमा पनि जंगलको बाटो होसियारसाथ हिँड्नुहोला ।’ नातिनातिनीलाई पनि हजुरआमाको पीर लाग्थ्यो । किनकि जंगलमा बाघ, ब्वाँसो र फ्याउरोको बिगबिगी थियो ।
एक दिन दिनको कुरा हो । हजुरआमाले काम गरेको ज्यालाका रूपमा एक टोकरी चामलको रोटी पाइन् । पहेंलो भुटेको भटमासको धूलो छरेको मगमग बास्ना आउने रोटी स्वादिलो थियो । नातिनातिनी आज एकदमै खुसी हुने भए भन्दै मनमनै दंग पर्दै हजुरआमा राति जंगलको बाटो घर फर्कंदै थिइन् । जंगल काट्नै आँटेको बेला हजुरआमा र बाघको जम्काभेट भयो । बाघ देखेपछि हजुरआमा तर्सेर लडिन् । लडे पनि हजुरआमाले रोटीको टोकरी छाडिनन् ।
‘हजुरआमा, हजुरआमा, टोकरीभित्र राखेको के हो ?’ बाघले सोधेपछि हजुरआमाले काँप्दै भनिन्, ‘रोटी……रोटी हो ।’ एउटा रोटी खान दिएमा म तपाईंलाई खान्न भनेपछि हजुरआमाले बाघलाई एउटा रोटी दिइन् । बाघले रोटी एकैगाँसमा निल्यो । त्यहाँबाट बाँचेर बाटो लागेकी हजुरआमा अर्को पाखा नपुग्दै त्यही बाघ फेरि टुप्लुक्क देखापर्यो ।
बाघले फेरि भन्यो, ‘हजुरआमा, हजुरआमा, एउटा रोटी दिनुभयो भने म तपाईंलाई खान्न ।’ हजुरआमाले भनिन्, ‘हुँदैन । बाँकी रोटी मेरा नातिनातिनीलाई दिनुपर्छ ।’
हजुरआमाको प्रतिउत्तर सुनेर बाघले मुख मिठ्याउँदै सोधे, ‘के रे, घरमा बच्चाहरू छ रे । तिनीहरू कति मीठो होलान् है ? यति भनेपछि बाघले हजुरआमालाई खाइदिए । अनि हजुरआमाको लुगा लगाएर बाघले रोटीको टोकरी बोकेर हजुरआमाको घरतिर लाग्यो ।
‘बच्चा हो, हजुरआमा आएँ, ढोका खोल,’ बाघले ढोका अगाडि पुगेर भन्यो । ‘यो आवाज हाम्री हजुरआमाको होइन,’ दाजुबहिनीले शंका व्यक्त गरे । ‘घट्टमा धूलो धेरै खाएकाले आवाज अलि फरक भएको हो,’ बाघले अनुरोध गरे, ‘छिटोे ढोका खोल ।’
बहिनीले भनिन्, ‘त्यसोभए लुगा देखाउनुहोस् ।’ ल हेर, यो हजुरआमाको लुगा होइन र ? बाघले ढोकाको प्वालबाट हात देखाइदियो । ‘होइन, हाम्रो हजुरआमाको हात यस्तो कालो छैन,’ दाजुले ठूलो स्वरमा चिच्याए । ‘काम धेरै गरेकाले हात कालो भएको हो,’ बाघले फेरि भने, ‘रोटी हेर त । हजुरआमाले तिमीहरूका लागि लिएर आएकी छु । चाँडै ढोका खोल ।’
बाघले यति भनिसकेपछि हजुरआमा नै रहेछ भन्ने विश्वास गरेर बहिनीले ढोका खोलिन् । ‘हजुरआमाको भेषधारण गरेको बाघले आश्वासन दिए, ‘तुरुन्तै खाना पकाएर ल्याउँछु, अहिले यो रोटी खाँदै गर्नू ।’ बच्चाहरूलाई रोटी दिएर बाघ भान्छातिर गयो । किनकि उसले दुवैजनालाई एकैपटक खान सक्दैनथ्यो । उसले दुवैलाई पालैपालो भान्छामा बोलाउने विचार गर्यो ।
त्यतिन्जेलसम्म दाजुले बाघको पुच्छर देखिसकेको थियो । त्यसैले दाजुबहिनी दुवै इनारनेर रहेको रूखमाथि चढे । बच्चाहरूलाई त्यहाँ नदेखेपछि बाघले यताउता खोज्न थाल्यो । इनारको पानीमा दाजुबहिनीको रूप देखेर यिनीहरू त पानीभित्र पो लुकेछन् भनेर बाल्टिनले निकाल्न खोज्यो । बाघको त्यो हर्कत देखेर दाजुबहिनी हाँसे । दाजुबहिनी रूखमाथि भएको बाघलाई बल्ल थाहा भयो ।
‘बच्चा हो, तिमीहरू त्यहाँ कसरी चढ्यौ ?’ बाघले बठ्याइँ गर्दै सोधे, ‘मलाई बताऊ न, हामी सँगै खेलौं ।’ दाजुले रूखबाटै भने, ‘रूखमा तेल दलेर चढ्नुपर्छ ।’ त्यो सुनेर बाघले तेल दलेर रूखमा चढ्ने प्रयत्न गर्यो । तर, ऊ जतिपटक चढ्न खोजे पनि चिप्लेर भुइँमै झर्थे ।
बाघको दयनीय अवस्था देखेर दाजुचाहिँले भनिहाले, ‘यो बाघ त मूर्ख रहेछ । बन्चरोले रूखमा खोपेर खुट्टा टेक्ने भर्याङ बनाए त भइहाल्थ्यो नि ।’ बहिनीलाई सुटुक्क भनेको कुरा बाघको कानमा पर्यो । बाघले तुरुन्तै बन्चरो खोजेर ल्यायो । अनि खोपेर खुट्टा राख्ने बनाउँदै रूख चढ्न थाल्यो ।
बाघले दाजुबहिनीको खुट्टा छुनै लाग्यो । दाजुबहिनीले बिलौना गर्न थाले, ‘हे भगवान्, हामीलाई बचाउनुहुन्छ भने थोत्रो डोरी फालेर मोटो डोरी झारिदिनुहोस् ।’ दाजुबहिनीले गरेको प्रार्थना भगवान्ले सुनेपछि आकाशबाट नयाँ डोरी झारिदिए । त्यही डोरी समातेर दाजुबहिनी आकाशतिर लागे ।
बाघले पनि दाजुबहिनीजस्तै भगवान्सँग प्रार्थना गरे । भगवान्, भगवान्, मलाई बचाउनुहुन्छ भने थोत्रो डोरी झारिदिनुहोस् । मलाई मार्नुहुन्छ भने नयाँ डोरी झारिदिनुहोस् ।’ बाघको बिलौना सुनेर आकाशबाट थोत्रो डोरी झर्यो । बाघ मख्ख पर्दै डोरी समातेर रमाउँदै आकाशतिर लाग्दै थिए । माथि–माथि धेरै माथि पुगेपछि डोरी चुँडियो । किसानले कोदोको नल काटिसकेपछिको ठुटैठुटामाथि बाघ खस्यो ।
कोदोको ठुटामाथि पछारिएर बाघको मृत्यु भयो । कोदोको जरा रातो हुनुका कारण बाघको रगत लागेको हो भन्ने किंवदन्ती छ ।
आकाश पुगेका दाजुबहिनीमध्ये दाजु सूर्य र बहिनीचाहिँ चन्द्रमा बनेका हुन् भन्ने किंवदन्ती छ । चन्द्र र सूर्य बनेका दाजुबहिनीमध्ये चन्द्रमा बनेकी बहिनीले दाजुलाई अनुरोध गरिन्, ‘दाइ राति डर लागेर दिक्क लाग्छ । त्यसैले म सूर्य बन्न चाहन्छु ।’ दयालु दाजुले बहिनीको अनुरोध स्वीकारे । साथीहरू हो तपाईंहरूलाई थाहा छ– दिउँसो उदाएको सूर्य बहिनी र राति उदाएका चन्द्रमा दाजु हुन् ।