भूपाल राई माटोको आवाज हुन्



धमिराले माटो
माटोले मानिस
त्यो मानिस यसरी तय हुन्छ
ऊ माटोकै आवाज हुन्
उनै भूपाल साक्षात छन्
परजीवीविरुद्ध
उभिएर ठिङ्ङ छ
भानुभक्तको जस्तो भक्ति नखोजेर
माटोसुहाउँदो युग कोरिरहेछन्
उनै भूपाल हुन् अबको माटो कवि

जन्मन त युगकवि
महाकवि थुप्रै कवि जन्मिएका छन्
छैन माटो कविहरू

माटो भएन भने
युगको सुरुवात हुँदैन
माटो भएन भने बाटोहरू बन्दैन
माटो नभए जीवन रहँदैन
किनभने माटो प्रथम पुर्खा हुन्
द्रष्टाहरूको
जहाँबाट धुनहरू खोलासित मिसिएर जन्मिए
चराहरूको पुच्छरबाट मूल खाँबोहरू पैदा भए
यसरी त श्रमहरूले कुँदिएका हुन्
माटो सिँगारिन

माटो नभए जंगल हुँदैन
जंगल नभए पानी हुँदैन
ग्यासहरू हुँदैन
ढुंगाहरू रहँदैन
चट्टान नाङ्गो हुन्छ

जहाँ चट्टानको अस्तित्व बचाउन
नाङ्गोपनलाई माटोले छोप्छ
त्यहींबाट लाजको सुरुवात भएको मानिन्छ
मानिसले हरेक चीज
माटोबाटै सिक्छ
सीपहरूको विकास
शिल्प ज्ञानहरूको उदय
यही माटोले गराउँछ
उनै भूपाल माटोको सन्तान हुन्
कविताको माउ धर्मसंकट हटाउने
असल स्रष्टा हुन्
उनी पाहुना हैनन
सत्य माटोकै ध्वनि हुन् ।

प्रतिक्रिया दिनुहोस्