हरेकभित्र एक जिन्दगी



ए जिन्दगी तिमी छौ र त
म पनि छु त
उत्तर–दक्षिण, पूर्व–पश्चिम
जताततै डौडिन पुग्न
सकिरहेछौं
तिमी नभएको भए
यो सबै देख्न पाउँथ्यौं र ?

तिमी भएपछि
तिमी यो भूमिमा आएपछि
यो धरतीले पनि चिन्ता गर्न छोड्छिन्

किनभने तिमी दुवै हौ
प्रश्न हौ, उत्तर हौ
जब कि तिम्रो बनावटमा
माटोको शरीर छ
हावामा विलीन हुने मगज अनि
आत्मा छ

यो पृथ्वी जसरी अडिएको छ
गुरुत्व बलभित्र
त्यसको सबैभन्दा ठूलो भर छ
ऊ कहिल्यै देखिँदैन
जिन्दगी ठेग्ने रहर दिमाग
त्यसरी बसेको हुन्छ

यो पृथ्वी अडिनु समाधान होइन भने
सूर्य टुक्रिएर नहिँडेको थियोे भने
वा पाठेघरमा दसांै महिना लुकेर
फुत्त ननिस्केको भए
तिमी मानव कसरी बन्थ्यौ ?
तिमी तिम्रो तथ्य कसरी बुझ्थ्यौ
पाइलैपिच्छे
तिमीलाई पछ्याउने चुनौतीको सामना
कसरी गर्न सक्थ्यौ

तसर्थ जिन्दगी म ढुक्क छु
तिमीदेखि आज

तिम्रै हो भोक लाज
प्यास, अभाव, हारजित
सुख–दुःख सबै तिम्रै हुन् ।

यी हरेकको आवश्यकता पूरा गर्न त
तिमी जन्मेको
तिमी धरतीमा उभिएको
तिमीले क्रान्ति नरोजेर
अरू खास हुन पाउने छैनौं
हरेकको गतिमा क्रान्तिकै कारखाना छ

जिन्दगी तिमी त्यही भट्टी हौ
परिवर्तनको पेचहरू निर्माण गर्दै
अभावहरू मेटिदिने मेसिन बनाइरहन्छौ
तसर्थ म तिमीदेखि निर्धक्क छु ।

प्रतिक्रिया दिनुहोस्