बालेनको हर्कत


हर्कबहादुर भन्थ्यो–
त्यो टोड्कामा बसेको
दुई गुच्चाको गहिराइमा पनि
समानता हुन्छ

गुच्चा समुद्र हो
समुदायको समस्या
हेर्नलाई बनेको हो

जब जबर्जस्त जन्मिन्छन्
बालेन शाहहरू
सडकहरूले पनि असहज मान्दारहेछन्
गुडिरहेको मिनिट्रक
अनलोड गरेर फर्किएका
बन्चरेको फोहोर ओसार्ने
टिपरहरू बिसाउन बिर्सिंदारहेछन्

अनि त धुलाम्य
बाटाका कणहरूको समेत
व्याथा सुनेर
पिचबाटोहरू टायरमा सल्किन्छन्

कति देख्नु पीडाको घाउ निचोरिएको
अर्को घाउ बनाई त हाल्छ
बालेन सरकार

तिमीले घोचिरहेको त्यो नयाँ घाउहरूबाट
पोखिएको पोखियै छ
संवेदना रेट्ने रगतको भल
सडक विक्षिप्त भएर
क्रूरताको बुट बज्रिएको ढाडले थाप्छ

त्यहीमाथि तिमीले हिलो आली गरेर
जनताको रगतको भेल बगाइरहेछौ
र, उनकै घाउमा छर्ने
खुर्सानीका बोटहरू रोपिदिन्छौ

सायद तिम्रो
यो छमहिने खेतीमा
नुनचुक पाकेर पकाएको कार्यकाल
साबित गर्यौ
र,
दलनको भोकमा मेटाइरहेछौ

सुस्तरी त्यो कर्णधार उभिएर
तिम्रो नर्कटजस्तै हर्कत देखेर
कति दिक्क मानिरहेछ
बस्तीबाट लखेटिनुको स्वाद

सायद तिमी दूरदर्शी थियौ त
राज्यको अनेकौं समस्यामा
समाधानको विकल्प रोप्न सक्थ्यौ
जब कि तिमी पनि भ्रमित भयौ
आर्जेको ताकतबाट हडप्नुको मज्जा लिएर

तर यो तिम्रो दुःस्वप्न
पठाऊ
बागमतीको फोहोरमा मिल्काएर
कतै समुद्रबाट फिल्टर भएर
आउँछ कि ?
र, बसौंला एउटै सत्यको मेचमाथि
तर्कहरू तुक्र्याएर जुधाउन

होइन भने सुकुम्बासीसित
गुमाउने चीज केही हुने छैन
तिमीले गुमाउने के–के हुन्
हिसाबकिताब गर्न थाले हुन्छ
खबरदार रगतको बदला रगत नै बग्छ
यसको मतलब टेबुलबाट हामी भागेको छैन ।

प्रतिक्रिया दिनुहोस्