(कथा) क्रोधले भुलेको सत्य


पशपति राई

ब्रह्माजीले ब्रह्मलोकमा सभा गरे । सबै लोकका देवीदेवता, यक्ष, किन्नर र गन्धर्वसमेत उपस्थित थिए । सभामा प्रश्न उठ्यो– तीन लोक, चौध भुवनमा सबैभन्दा महत्वपूर्ण वस्तु के होलान् ? सबैभन्दा मूल्यवान् वस्तु के होलान् ? सबैले आ–आफ्नो मत प्रकट गरे । कसैले भने, ‘सुन ।’ कसैले हीरा भने त कसैले चाँदी । अरूले अन्य रत्नको नाम लिँदै आफ्नो राय प्रकट गरे । सभामा ऋषिगणको पनि उपस्थिति थियो । ‘अहँ, यो हुनै सक्दैन । यी सारा चीज धेरैसँग हुन सक्छन्,’ ऋषिगणले थपे, ‘त्यसैले यी वस्तु महत्वपूर्ण हुन सक्दैनन् ।’

देवीदेवताले भने त्यसो भए तपाईंहरूले नै भन्नोस् न त सबैभन्दा महत्वपूर्ण वस्तु के हो ?

ऋषिगणले भने, ‘संसारमा सबैभन्दा महत्वपूर्ण वस्तु प्रेम हो । सच्चा प्रेम । यो हरेकसँग हुँदैन ।’

किन हुँदैन ? सभाले प्रश्न तेस्र्यायो । हामी कैयौंसँग प्रेम गर्छौं । हाम्रो परिवार छ । नातेदार छन् । मित्र छन् । हामी उनीहरू सबैलाई प्रेम गर्छौं ।

ऋषिगणले भने, ‘हो, तर त्यो साँचो प्रेम होइन, असली प्रेम होइन, स्वार्थको प्रेम हो । उनीहरूसँग हाम्रो स्वार्थ जोडिएको हुन्छ । मानौं उनीहरू हाम्रो आफ्ना हुन्, त्यसैले प्यार छ । प्रेम हामीभित्र स्वार्थमा छ । सबै मान्छेलाई धन कति प्यारो लाग्छ । कसैको पाँच सयमात्रै चोरी हुँदा दुःखी हुन्छौं । छिमेकीको ५० हजार चोरी भएको सुन्दा त्यति दुःख लाग्छ ? आखिर प्रेम त प्रेमै हो । यदि धनमा हुन्थ्यो भने त्यससँग पनि प्रेम हुनुपथ्र्यो । यो स्वार्थको प्रेम हो, त्यसमा हाम्रो स्वार्थ छ । त्यसैले सच्चा प्रेम सजिलै जोकोहीसँग हुन सक्दैन ।

‘त्यसो भए त्यस्तो प्रेम कोसँग पाउन सकिन्छ ?’ देवीदेवताले प्रश्न गरे । यस्तो निःस्वार्थ प्रेम कोसँग छ त ?

फेरि सबैले अनुमान लगाए । कसैले भने, ‘ब्रह्माजी र ब्रह्माणीसँग त अवश्य होला । किनकि उनी नै रचनाको काम गर्छन् । दुनियाँ उनले बनाए ।’

ब्रह्माजीले भने, ‘अहँ होइन, मसँग त्यस्तो प्रेम छैन । मसँग त्यस्तो समयै पो कहाँ छ र ? त्यस्तो प्रेम गरेर बस्ने ? मलाई फुर्सद कहाँ छ र ?’

नारदले सभामा सबैको कुरा सुनिरहे । उनी भगवान् विष्णुको अनन्य भक्त हुन् । सबैलाई विदितै छ । उनले भने, ‘मेरो प्रभु विष्णु र लक्ष्मी मातासँग त अवश्य छ ।’

ऋषिगणले भने, ‘अहँ, छैन । त्यहाँ पनि त्यति प्रेम छैन । किनभने त्यहाँ प्रेमको पराकाष्टा हुन्थ्यो भने समय–समयमा भगवान् विष्णु भक्तकहाँ जाँदैनथ्यो ।’ मध्यरातमा गजेन्द्रले के पुकार्यो भगवान् लक्ष्मीजीलाई छाडेर पैदल गइहाल्यो । यदि त्यस्तो प्रेम हुन्थ्यो भने लक्ष्मीजीलाई पनि साथै लिएर जान्थे । समय–समयलाई हेरेर भगवान् भक्तको पछि जाने गर्छन् । त्यसैले त्यहाँ पनि त्यस्तो प्रेम छैन ।

फेरि सबैले भने, ‘त्यसो भए त्यस्तो प्रेम कहाँ छ त ?’

यदि प्रेमको पराकाष्टा कहीं छ भने त्यो शंकर भगवान् र पार्वतीसँग छ । पहिलो कुरा त उनीहरू आधा–आधा अंगमा विराजमान छन् । महादेव धेरैभन्दा धेरै समय पार्वतीसँग बिताउँछन् । उनी कैलाश पर्वत छाडेर कतै जाँदैनन् । अत्यन्तै जरुरी काम परेमात्रै निस्कन्छन् । नत्र त कैलाशबाट कहीं जाँदा नि जाँदैनन् । धेरैभन्दा धेरै समय उनले माता पार्वतीसँगै बिताउँछन् ।’

नारद विष्णुका भक्त भएकाले उनलाई यो कुरा मन परेन । उनले भने, ‘अहँ, यो हुनै सक्दैन ।’

ऋषिगणले भने, महादेव र पार्वतीको जस्तो प्रेम कसैको छैन ।’ सभामा बसेका सबैले समर्थनमा ताली बजाए ।

नारदले भने, ‘यदि मैले उनीहरूबीच झगडा गराइदिएँ भने ।’

ऋषिगणले भने, ‘तब हेरौंला ।’ यति भनेपछि सभा विसर्जन भयो । सबै आ–आफ्ना लोकतर्फ लागे ।

नारद दैनिक कैलाश पर्वत जान थाले । दैनिक महादेवलाई पार्वतीको साथमै देखेपछि हात बाँधेर फर्कन्थे । एक दिन संयोग राम्रो भयो । महादेवजी कतै गएका रहेछन् । माता एक्लै थिइन् । नारद पार्वतीलाई नारायण ! नारायण ! भन्दै भित्र गए ।

माताले भनिन्, ‘हे नारल, आज कसरी आयौ ?’

नारदले भने, ‘अरे माता, बाबासँग मेरो अत्यन्तै जरुरी काम थियो । उहाँ कहाँ हुनुहुन्छ ?’

माताले भनिन्, ‘उहाँ त बाहिर जानुभएको छ । जरुरी काम छ भने मलाई नै भन्नुहोस् न म बाबालाई भन्दिहाल्छु ।’

नारदले भने, ‘माता अलि व्यक्तिगत कुरा थियो ।’

माताले भनिन्, ‘बाबा र मबीच कुनै पनि व्यक्तिगत कुरै हुँदैन । उहाँले सबै कुरा मलाई भन्नुहुन्छ ।’

नारदले भने, ‘अँह, म यो कुरा मान्दै मान्दिनँ । पुरुषले केही न केही कुरा त स्त्रीबाट छुपाएकै हुन्छ ।’

माताले भनिन्, ‘तर, हाम्रोचाहिँ त्यस्तो हुँदैन ।’

नारदले भने, ‘त्यसो भए हजुरले अमर कथा सुन्नुभएको छ ?’

माताले भनिन्, ‘त्यो कस्तो कथा हो ?’

नारदले भन्यो, ‘यो अति गोपनीय कथा हो । सुन्नुभएको छैन ?’

बाबाले जोकोहीलाई सुनाउनुहुन्न । जसलाई धेरै प्रेम गर्नुहुन्छ, उसैलाई मात्रै सुनाउनुहुन्छ ।

माताले भनिन्, ‘त्यसो भए महादेवले मलाई प्रेम गर्नुहुन्न ?’

नारदले भने, ‘त्यो त म के जानुँ ।’

ठीक छ माता, म गएँ । बाबालाई नभनिदिनु है म आएर गएँ भनेर ।

नारदले यति भन्दै आफ्नो काम पूरा गरेर गए ।

अब पार्वतीको मनमा एउटै कुरा आइरह्यो– ‘अमर कथा’ । के हो अमर कथा ? किन मलाई यत्तिका समयसम्म सुनाउनु भएन । कुनचाहिँ कथा रहेछ त्यस्तो, मलाई सुनाउनै नहुने ?

केही बेरपछि महादेव आइपुगे । पार्वतीलाई अघि नै भारी पुगिसकेको थियो । त्यसैले महादेवको आगमनमा सदाझैं त्यस दिन द्वारसम्म स्वागत गरेर लिन गइनन् । वास्तै नगरीकन बसिरहिन् । बोल्दा पनि बोलिनन् । बरु महादेव आफैंले सोधे, ‘मेरो गणेश, मेरो कार्तिक कता छन् ?’

बस् मातालाई यति भए पुगिगो । कतै गए होलान् । दिनभर आफैंसँग पक्रेर राखुँ त हजुरको छोराहरूलाई ?

महादेवले शान्त हुँदै भने, ‘होइन, होइन मैले त्यसो भन्न खोजेको त होइन नि प्यारी ।’ माता झन् कड्किन थालिन् । महादेव आफैं शान्त हुँदै भने, ‘हैन देवी आज तिमीलाई ठिकै त छ ?’ माताले झर्कंदै भनिन्, “ठीकै त छ ! किन र ?’

महादेवले भने, ‘अरे देवी ! आज भाङ खै त व्यवस्था भएन नि ?’

महादेवले यतिमात्र के भनेका थिए, अघिदेखि भित्रभित्रै मुर्मुरिएकी मातालाई भाङको कुराले आगोमा घिउ हालेजस्तै भयो । माताले भन्न थालिन्, ‘हजुरलाई दिनभरि भाङ घोटेर दिऊँ, ठूलो छोरो (गणेश) लाई लड्डु बनाएर दिऊँ, सानो छोरो (कुमार)लाई खीर पकाएर दिऊँ ! यही काम गराउनलाई मात्रै बिहे गरेर ल्याउनुभाको हो कि क्या हो मलाई ?

शान्त हुँदै भोलेबाबाले भने, ‘देवी, के भयो मबाट त्यस्तो ? तिमी किन विनाकारण रिसाएकी ?’

माताले भनिन्, ‘किन रिसायौ भनेर नसोध्नुस् कि पहिला यति कुरा भन्नोस्– हजुरले मलाई प्रेम गर्नुहुन्छ कि हुन्न ?’ महादेवले भने, ‘अरे प्यारी, यो पनि मलाई सोध्ने कुरा हो ? देवी ! संसारमा सबैभन्दा धेरै माया तिमीलाई नै गर्छु ।’ माताले भनिन्, ‘त्यसो भए अमर कथा के हो ?’ महादेवले छक्क पर्दै भने, ‘होइन यो अमर कथाबारे कसरी थाहा पायौ ?’

महादेव नेत्र बन्द गरेर केही बेर ध्यानमग्न हुन्छन् । सबै दृश्य आफ्नोसामु आउँछ । नारद आएको सबै कुरा भनिवरि गएको आदि–आदि । ब्रह्म देवता यहाँ आएर केही न केही गडबड गरेरै जान्छन् ।

महादेवले सोधे, ‘देवी, आज नारदजी आएका थिए ?’

माताले भनिन्, ‘यो मेरो प्रश्नको उत्तर होइन । भन्नोस् अमर कथा के हो ? र, अहिलेसम्म मलाई किन सुनाउनु भएन ?’

महादेवले भने, ‘हेर, देवी यो अत्यन्त गोपनीय कथा हो । जोकोहीलाई सुनाउनु मिल्दैन । म तिमीलाई अवश्य सुनाउँला । तर, तिमी महिलाहरूमा एउटा अति नराम्रो बानी हुन्छ ।’

पार्वतीले भनिन्, ‘के त्यस्तो नराम्रो बानी ?’ महादेवजीले भने, ‘तिमी महिलाहरूले कुनै पनि कुरा पेटमा राख्न सक्दैनौं । जब चार महिला एक ठाउँमा जम्मा हुन्छन्, सारा कुरा बाहिर गइहाल्छ । यो अति गोपनीय कथा छ, जोकसैलाई सुनाउनै मिल्दैन ।’

माताले भनिन्, ‘वाचा गर्छु, म कसैलाई सुनाउँदिनँ । तपाईंले मलाई यो कथा सुनाउनुहोस् ।’

महादेवले भने, ‘हुन्छ । ठीक छ प्यारी सुनाउँछु ।’

त्यसपछि उनीहरू कैलाश पर्वतको उच्च शिखरमा गएर कल्पवृक्षको फेदमा बसे । महादेव कथा आरम्भ गर्ने तयारी गर्दै थिए । तर, आरम्भ गर्नुपहिले सुरक्षासम्बन्धी ध्यान दिन्छन् । त्यसका लागि उनले ताली बजाए । ता कि तालीको आवाज र थर्कावटले वरिपरिका सबै जीजन्तु त्यहाँबाट भागून् । किनकि कथाको नामबाटै प्रस्ट हुन्छ कि यो कथा जसले सुन्छ, ऊ अमर हुन्छ ।

महादेवले पहिलो ताली बजाए । तालीको आवाज र कम्पनले त्यहाँ भएका जति पनि जीवजन्तु कैलाश पर्वत छाडेर भागे ।

फेरि दोस्रो ताली बजाए । यसपटक महादेवजीको त्रिशूलले कैलाश पर्वतलाई तीनचोटि परिक्रमा गरेर आए । किनकि कोही कतै अझै पनि लुकेर त बसेका छैनन् भनेर चेकजाँच गरेर आयो ।

फेरि तेस्रो ताली बजाए । अब भने मन्दमन्द सुगन्धित हावा चलेर कथाका लागि भक्तिमय वातावरण बन्यो ।

महादेवले भने, ‘देवी अब कथा आरम्भ हुन्छ । यस कथामा निद्रा रानीले बेलाबेलामा भक्तिको परीक्षा लिइरहन्छिन् ।’

माताले प्रश्न गरिन्, ‘कस्तो परीक्षा ?’

महादेवले भने, ‘कथा वाचनपछि लगातार ध्यानपूर्वक सुनिरहनुपर्छ । थोरै मात्र पनि यताउता हुनुहुँदैन । जबसम्म तिमीले ध्यानपूर्वक कथा सुनिरहन्छौं, तबसम्म तिमीलाई बडो आनन्द आउनेछ । सबै कुरा बुझ्नेछौ । सबै मनमा याद हुनेछ । तर, जब ध्यान यताउता भयो निद्रारानीले तिमीलाई आफ्नो काखमा लिनेछिन् । त्यसैले तिमीले ध्यानपूर्वक सुन्नू । साथसाथै तिमीले मलाई बीचबीचमा हुम् स्वामी ! हुम् स्वामी !! भन्दै रहनू । किनकि मलाई थाहा हुनेछ कि तिमी जागा रहेकी छ्यौ । माताले भनिन्, ‘हुन्छ, स्वामी म त्यसै गर्छु ।’

यता कथा आरम्भ भयो । उता रुखमा एउटा सुगाको अन्डा रहेछ । महादेवको तालीको कम्पनले सुगा भागे पनि अन्डा भने फुटेर त्यसै समय एउटा सुगाको बचेराले जन्म लिएको रहेछ । बचेराले पनि त्यही कथा सुनिरहे । कथा भन्दाभन्दै महादेवको आँखा बन्द भए । केही बेरपछि पार्वतीको पनि आँखा बन्द । भक्तिमा लीन हुँदा महादेवको आँखा बन्द हुन्छन्, उता पार्वतीको आँखा निद्राले बन्द हुन्छन् । केही समय पार्वती हुम् स्वामी, हुम् स्वामी भन्दै थिइन् । यो सबै सुगाको बचेराले सुनिरहेको थियो । सुगाको विशेष गुण भनेकै कुनै शब्द बारम्बार सुन्यो भने त्यही शब्द दोहोर्याउन थाल्छ । माताले बारबार हुम् स्वामी, हुम् स्वामी भनेको सुनेर बचेराले पनि हुम् स्वामी, हुम् स्वामी भनिरह्यो । भक्तिमा लीन हुँदा महादेवलाई सुगाको बचेराको आवाज पार्वतीको जस्तै लागिरह्यो । प्रसंगवश महादेवले आँखा खोलेर प्रश्न गरे, ‘देवी तिमीले के बुझ्यौ ?’

देवी त निद्रामा मस्त ।

महादेवले पार्वतीलाई उठाउँदै भन्छन्, ‘खै त ? निदाउँदिनँ भनेको हैन ?’

माताले भनिन्, ‘मलाई माफ गरिदिनोस् । तपाईं फेरि सुनाउनुहोस् । अबचाहिँ म निदाउँदिनँ ।’

महादेवले भने, ‘सुनाउन त सुनाउँला देवी, तिमी सुतिरहेकी थ्यौ त । यतिबेरसम्म हुम् स्वामी ! हुम् स्वामी कसले भनिरहेको थियो त ?’

यताउता हेर्छन् । नजर माथितिर पर्छ । सुगाको बचेरा बसिरहेको थियो । महादेव क्रोधले त्रिशूल लिएर बचेरा खेद्न थाल्छन् । अघि–अघि बचेरा । पछि–पछि महादेव । उनलाई मार्न तीन लोक, चौध भुवन घुम्न थाले । कसैले पनि सहायता गरेनन् । हुन पनि महादेवसँग कसले वैर लिने ? यदि दैत्यबाट संकट परेको भए पो देवताकहाँ गएर शरण लिनु । जब देवताबाटै संकट छ त कहाँ जानु ? त्यसैले त्यो बचेरा ब्राह्मणदेवको शरणमा जाने निर्णय गरे । ऊ पृथ्वी लोकमा आएर वेदव्यासजीको घरमा पुगी उनको धर्मपत्नीको मुखबाट गर्भमा प्रवेश गर्यो । क्रोधित महादेवलाई देखेर वेदव्यासले नम्र स्वरमा भने,

‘प्रभु एक त हजुरले मलाई पहिलोपटक दर्शन दिनुभएको छ, त्यो पनि यति क्रोधमा ?’

महादेवले भन्यो, ‘तपाईंको घरमा मेरो चोरी गरेर एउटा चोर आएको छ ।’

चोरी गरेर आएको छ ? अरे हजुरले त केही नमागी सबै कुरा दिनुहुन्छ । अब कसले के चोरी गर्नुपर्यो ? फेरि तपाईं जहाँ हुनुहुन्छ, त्यहाँ के चीजै थियो र ?

भाङ ?

धतुरो ?

त्यस्तो खाने कुरा चोरी हुँदा पनि यति क्रोध ?

महादेवले भने, ‘होइन, त्यसले मेरो अमर कथा चोरी गरेर सुनेको छ । म त्यसलाई मृत्युदण्ड दिनेछु ।

वेदव्यासले भन्यो, ‘हजुर बिल्कुल आफ्नो नामजस्तै हुनुहुन्छ । भोले भण्डारी ।’

महादेवले भन्यो, ‘किन ?’

वेदव्यासले भने, ‘किनकि उसले अमर कथा सुनेको भए ऊ त अब अमर भइसक्यो । अब तपाईंले उसलाई मार्न सक्नुहुन्न ।’

मानिलिनुस् तपाईं सर्वशक्तिमान हुनुहुन्छ । महान् हुनुहुन्छ । महाँकाल हुनुहुन्छ । यदि तपाईंले उसलाई मारिदिनुभयो भने त अमर कथा पनि झुटो भयो ।

वेदव्यासको कुरा सुनेपछि महादेव जिल्ल परे ।

क्रोधमा देवादीदेव महादेव जस्ताको त सोच्ने, बुझ्ने शक्ति खत्तम हुँदोरहेछ । सत्य भुल्दारहेछन् भने हामी मानवको त के कुरा गरौं । तैपनि सकेसम्म क्रोधलाई नियन्त्रण गर्ने प्रयास गरौं । सत्य नभुलौं ।

प्रतिक्रिया दिनुहोस्