
सिम्पानी (खोटाङ) । जिल्लाका अग्रज सर्जक काशी राईलाई तुलसी–मन प्रतिष्ठानने सम्मान गरेको छ । राईलाई विशेष कार्यक्रम आयोजना गरेर सम्मान गरिएको हो ।
उच्च रक्तचापका कारण पक्षघातले पीडित राई स्वास्थ्यलाभ गरेर बसिरहेकै स्थान काठमाडौंको नयाँ बानेश्वर पुगेर प्रतिष्ठानका अध्यक्ष नगेन्द्रराज रेग्मीले दोसल्ला, सम्मानपत्र, माला र खादाले उच्च सम्मान प्रकट गर्दै स्वास्थ्यलाभको कामना गरे ।
प्रतिष्ठान अध्यक्ष रेग्मीले सो अवसरमा ‘लहरा’ त्रैमासिकमा प्रकाशित ‘तारा अझै बादलभित्रै’ शीर्षाकृत प्रकाशित आलेख वाचन गरेर काशी राईको बहुआयामिक व्यक्तित्वबारे प्रकाश पारे ।
नेपाल स्रष्टा समाजका पूर्वसदस्य राईले ‘सगुन’, ‘हलेसी कुञ्ज’जस्ता साहित्यिक पत्रिका सम्पादन गरेका थिए । उनको ‘वृषबहादुर राईको परिचय’, ‘बादलभित्रका ताराहरू’ नामक कृति प्रकाशित छन् ।
समारोहमा डा. गणेशविक्रम शाह, डा. लोकबहादुर राई, गणेश अधिकारी, महेन्द्र राई, प्रीति रेग्मी, नवीन राई, मन्दिप रेग्मी, मीना राई, धनुका राई ‘धरा रानी’ रिसब रेग्मीलगायतले काशी राईको स्वास्थ्यलाभको कामना गर्दै उनको व्यक्तित्वबारे चर्चा गरे ।
खोटाङको खोटेहाङ गाउँपालिकाअन्तर्गत सिम्पानी कसेरीमा जन्मेका ८५ वर्षीय राईसहित राई परिवारले यो सम्मानप्रति तुलसी–मन प्रतिष्ठानलाई हार्दिक धन्यवादसहित आभार प्रकट गरेको थियो ।



