कटारी झर्दा–फर्कंदा गाउँले तिप्पा लडेको भीरमा ठमठम



साइँला बाबै : भोलि बिहानको रों खानु बोबोला बो राउतखर्क ?

काजिम्पा : बोबोला छिटो तिरे, राउतखर्क छुमा तिरे ।

साइँला बाबै र काजिम्पाको संवाद सुनें । उनीहरू हाम्रो समूहको नाइके थिए ।
मचाहिँ भुसुक्कै सुतिगा’को रहेछु ।

मनले थाहा पायो, ‘आहालेमा छोडेको साथीहरू अर्थात् बूढाहरू राति भान्टाबारी आइपुगेको रै’छन्
।’ आँखा खुलेन, बूढाहरूको स्वरबाट थाहा भयो ।

निद्रामा सोचें, ‘बूढाहरूले राति नै हिँडाए भने बिहानको खाना राउतखर्क, उज्यालो भएपछि हिँडाए
भने बोबोला ।’

उँधोउँभो हिँडेको आवाजहरू कानसम्मै आइरहेको थियो । रातभरि मानिस हिँड्ने रहेछन् । मेरो मन
पनि मान्यो, ‘राति पनि हिँडुङ्ला ।’

म फेरि सुतिगएँछु ।

बिहानको उज्यालो भुँइमा खसेछ । बूढाहरू रातिदेखि नै हल्ला गर्न थाले । सबैले ओछ्यान उठाउन
थाले । म बलु दाइसँग सुतेको थिएँ । दाइले मलाई उठाउन खोजे । मेरो जिउ नमिठोगरी दुखेको
थियो । उठ्न सकिनँ । मीठो निद्रा । निद्रा छोडेर उठ्न मुस्किल भयो । नउठी धर छैन । म
पनि उठें ।

भारी बोक्न बानी नपरेको खुट्टा । कैंडा लागेछ । खुट्टा साह्रै दुख्यो । उभिन गाह्रो भयो । भारी कसरी
बोक्नु ? बलु दाइलाई पनि थाहा भयो, ‘यसको खुट्टा दुखेछ ।’

दाइले नै ओछ्यान उठाइदिए । भारी कसिदिए । मैले बोकिदिएँ मात्र । बूढाहरूलाई थाहा भयो,
‘केटोको खुट्टा कैंडा लागेछ ।’

काजिम्पाले भारी बोक्दै भन्यो, ‘कान्छा, जति दुख्छ त्यति नै हिँड्नुपर्छ । हिँडेपछि तातिन्छ । दुख्न
कम हुन्छ । पाको हुन्छ । अर्कोपटकदेखि हाम्रोजस्तै हुन्छ । जति भारी बोक्यो, उति नै खुट्टाले
आनन्द मान्छ ।’

‘ठिकै भने बूढाले,’ म भारी बोक्न तयार भएँ ।

चप्पल लाउँ भन्छु । खुट्टामा अटाएन । खुट्टा पनि सुनिएको रहेछ । हात्तीछाप चप्पल । एक हातमा
चप्पलको फित्ता मुठ्याएँ । अर्को हातमा टेकुवा । बूढाहरू जुत्ता नलगाई हिँड्छन् । म किन नहिँडौं

भारी बोकें । उकालो हिँडें ।

बिहानको रात । बिहानको जून । भारीसँग उकालो बाटो । बानी परेका बूढाहरू । खुब रमाएर
हिँडेका छन् । मलाईचाहिँ मुस्किल प¥यो । तैपनि बाटो काट्नु छ । पछ्याउन थालें । बूढाहरूलाई
जसरी पनि भेट्नु छ । पछि पर्दा राति एक्लै भइने । डर पनि लागेको छ ।

बूढाहरू निकै अघि बढे । मैले बूढाहरूलाई भेटिनँ । मेरो पछि बुलु दाइ छन् । म जहाँ टेकाउँछु ।
दाइले पनि त्यही टेकाउँछन् । हिजो मैले जसरी दिलेम्पा कोक्पालाई पछ्याएका थिएँ । म छोडिएँ
भने डराउँछु । दाइलाई थाहा छ । दाइ मेरो पछि लागेका छन् । मलाई साथी दिएका छन् ।

तल्लो भान्टाबारीमा हामी बास बसेको । त्यहाँबाट एक बिसाउनी हो– माथिल्लो भान्टाबारी अर्थात्
भान्टाबारी स्कुल ।

हामी दाजुभाइ पछि रहिगयौं । बूढाहरू बिसाएर पनि गइसकेछन् । रात अझै बाँकी छ ।
भँुइउज्यालो, उज्यालो भएर भुँइमा झरेकै छैन । हामी बिसायौं, बिसाउनी आएपछि ।

दिलेम्पा कोक्पासँग कटारीबाट अगाडि हिँडेको, म किन छोडिएँ । ‘आज रात पर्यो, भोलि भन्छु,’
बलु दाइलाई हिजो भनेको थिएँ ।

भुँइउज्यालो, भुँइमा राम्ररी झरिसकेको छैन । राति हातको इसारा देखिन्न । रातमा हाम्रो संवाद
हुँदैन । २० मिनेटजति बिसायौं । हामी फेरि हिड्यौं । हामी संवाद गरेनौं । बोलेनौं ।

बोबोलाको बरपानी । बिसाउने ठाउँ । सानोसानो जक्सन हो । भातीजाँड, कोदोको जाँड लहरै
राखेका हुन्थे । व्यापारी दिदीबहिनीहरू गफाडी । कलिलो, छिप्पिएको कस्तो जाँड खाने । बूढाहरू
छानीछानी किनिखान्थे । बिहान–बिहान तातोतातो बौलाहा सोकी लहरै बेच्न राखेका हुन्थे ।
भोक लाग्दा पनि नलाग्दा पनि खाजा खाने ठाउँ हो– बोबोला । थाकेको बेला होस् अथात्
नथाकेको बेला । बिसाउने ठाउँ हो– बरपानीको बोबोला ।

झर्दा रित्तो हुँदा पनि बिसाउँथे । भारीसँग आउँदा नबिसाउने कुरै भएन । बूढाहरू साह्रै मन
पराउँथे बरपानी । समय काटेको थाहै पाउँथेनन् । गाउँमा आमाहरू पनि खुबै जिज्ञासा गर्थे,

‘बोबोलामा केले यिनीहरूलाई अल्मल्याउँछ ?’

बूढाहरूको गीत नै थियो :

‘बरपानीको कान्छी नानी

घरकीभन्दा राम्रो आनीबानी’

 

दुई टेकान हिँडेपछि भान्टाबारी स्कुल आइपुग्दा उज्यालो भयो । टेका लगाएर बोबोलातिर हेरें ।
बूढाहरू बोबोला उकालोमा टेकाएर रमिदै थिए । बोबोला, बरपानीलाई जिज्याउँदै थिए । माथिको
गीत, हल्ला गर्दै थिए ।

‘बूढाहरूले छोडिगए पनि यहाँचाहिँ भेटिन्छ,’ मनले भन्यो ।

मेरा लागि बरपानी हेर्दा नजिक, हिँड्नु टाढा भएको थियो । बरपानी पुग्न मेरा लागि एक
बिसाउनी थपिएको थियो । कैंडा लागेको खुट्टा दुख्न कम भयो । तर, हिँड्न मुस्किल नै थियो ।

उज्यालो भएपछि बलु दाइ अगाडि लाग्यो । म पछ्याउन थालें ।

दाइलाई थाहा भइसकेको थियो, ‘यसको हिँडाइले राउतखर्क पुगिन्न ।’ बूढाहरू बिहानको खाना
राउतखर्कमा खानु पुग्ने भनेर अघि लागेका छन् ।

बोबोला आइपुग्न मलाई मुस्किल भयो । भित्तामा भारी अडेस गलाएँ । ढुंगाले भारीलाई चाफर दिएँ
। खुइया गर्दै थुचक्कै बसेर बरपानीतिर हेरें । बलु दाइ पुग्नै लागेको देखें । हेर्दाहेर्दै बलु दाइ पनि
बरपानी पुगे । मलाई यहाँ पुग्न अझै तीन टेकानभन्दा बढी लाग्न सक्छ ।

अबचाहिँ चप्पल हातमा बोक्नु लाजी हुन्छ ।

चप्पल लगाएँ । हिँड्न बल गरें । मुस्किलले भारी जिउले थामें । बोकें । हिँडें ।

साह्रै मुस्किलको उकालो । बरपानी आइपुगें । बूढाहरू हिँडिसकेछन् । बलु दाइमात्र थिए, मलाई
पर्खिरहेका । म आउँदा–आउँदा बलु दाइले एक छाक दाउरा खोजेर पनि भारीमाथि कसिसकेका
थिए । उनलाई थाहा थियो, ‘यसले बीचमा अभर पार्छ, राउतखर्क पुर्याउँदैन ।’

खाना पकाउने बेला भएकै हो । तर, बूढाहरू अगाडि बढिसकेकाले हामी पनि हिँड्यौं । बरपानीको
पानी । एक जर्किन बलु दाइले बोक्यो । मैले यति बुझें, ‘बोबोला कटेपछि राउतखर्कमा मात्र पानी
पाइन्छ । यतै खाना खानुपर्ने रहेछ । उता पानी पाइन्न ।’

‘म भात पकाइरहन्छु, बिस्तार आइजा,’ हातको इसाराले यति भनेपछि बलु दाइ हिँडे । मलाई
बरपानीमा त्यति रस बसिसकेको थिएन । बिस्तारै पछ्याएँ बलु दाइलाई ।

यतिबेलासम्म बिहानको ९ बजिसकेको हुनुपर्छ । डाँडा निस्कनु नपाउँदै म असिनपसिन भएँ । भोक
पनि लाग्न थाल्यो । बोबोलाडाँडामा मुस्किलले निस्किएको छु । नर्सिङ्गेडाँडातिर फर्केर टेकाएँ ।
घाम पनि चर्को लाग्यो । तिर्खा पनि लाग्यो । भोक अघिदेखि नै लाग्न थालेको थियो ।

फुङ्ग उडेको धूलो । रुखो बाटो । भीरको बाटो । बूढाहरू नर्सिङ्गेडाँडाको टुप्पामा पुसिसकेछन् ।
कोहीचाहिँ महाभारतडाँडा तेर्सो हिँड्दै थिए । माइला दाइ गैह्रामै हराइगएका छन् । सायद खाना
त्यतै पकाउन सुरु गरेका होलान् । मलाईचाहिँ नर्सिङ्गेडाँडा उराठै लाग्न थाल्यो ।

नर्सिङ्गेडाँडाको चर्को घाम आफैंमाथि ओइरिएजस्तै लाग्यो । मन नमीठो भयो, ‘त्यो डाँडा काटेर
कसरी पुग्नु बरिलै, हलेसी हुँदै अर्खौहाट ?’

नर्सिङ्गेफेदी बोबोला गैह्रा । माइला दाइले मलाई पर्खंदै खाना बनाउन सुरु गरेछन् । म आइपुग्दा
भात पाकिसकेको थियो । छिटो खाएर दगुर्नु छ । छिटो पाक्ने तरकारी किनामा । किनामाको तिहुन
। पकाउन सुरु गरे दाइले ।

चुलामा दाउरा सकिनै लाग्यो । किनामालाई उम्लिन मुस्किल भयो । आगो मर्यो । किनामा
उम्लिएन । माइला दाइले ओरालेर पस्कन थाल्यो । नउम्लिएको किनामा ।

भोको पेटमा त्यो पनि उब्रिएन । पानी पनि सकिगा’को । खानासँग पानी पनि खान पाइएन ।
बोकियो भारी । हिँडियो उकालो ।

नर्सिङ्गे उकालो लागियो टेकुवाले भारी टेकाउँदै ।

नर्सिङ्गे भीरबारे नराम्रो कहानी सुनेको थिएँ । एक्लै परियो भने भीरबाट सिहेंले तान्छ । दिउँदै
जागित्र हिँड्छ । मलाई हो जस्तै लाग्थ्यो ।

अनिकाल लाग्दा, गाविस अध्यक्षले खाद्य खुलाउँदा मेरै गाउँले तिप्पा लडेको भीर । बेसाहा जाँदा
उहिले–उहिले धेरै मानिस लडिमरेका थिए अरे ।

भीरको उकालो सुरु भयो । यता हेर्छु भीर । उता हेर्छु भीर । भीरैभीरको डाँडैडाँडा । पानी पनि
पिउन नपाइने । बेस्मारी खुट्टा दुखेको छ ।

प्रतिक्रिया दिनुहोस्