जीवनपयोगी अज्ञात किरण



एक्स किरण आविष्कारले विज्ञानको क्षेत्रमा नयाँ तरंग उत्पन्न गरायो । यी किरण आविष्कार गर्ने वैज्ञानिक जर्मनीका प्राफेसर विल्हेल्म कनराड रोटजन हुन्, जसको जन्म २२ मार्च १८४५ मा जर्मनीमा भएको थियो । विल्हल्म रोटजनको पिता पेसाले किसान थिए । उनकी आमा डच महिला थिइन् । उनको प्रारम्भिक शिक्षा हल्यान्डमा भएको थियो । उनले उच्च शिक्षा स्वीट्जरल्यान्डमा हासिल गरेका थिए ।
उनले ५० वर्षको उमेरमा एक्स किरण आविष्कार गरेर विश्वमा हलचल ल्याए । यसबेलासम्म यी किरणको विषयमा मानिसलाई कुनै पनि जानकारी थिएन । यो किरणको नाम एक्स किरण अर्थात् अज्ञात किरण राखियो । रोटजनको नाममा यी किरणलाई रोटजन रेज पनि भन्ने गरिन्छ । यसको आविष्कारका निम्ति सन् १९०१ मा भौतिकशास्त्रको प्रथम नोबेल पुरस्कार प्रोफेसर रोटजनलाई प्रदान गरियो ।

यी किरणको आविष्कारको कथा चाखलाग्दो छ । प्रोफेसर रोटजन आफ्नो प्रयोगशालामा एक विद्युत् विसर्जन नली अर्थात् क्याथोड ट्युबमा केही प्रयोग गरिरहेका थिए । उनले पर्दा झारेर प्रयोगशालामा अँध्यारो बनाए ट्युबलाई कालो गाताले छोपे ।

रोटजनले के देखे भने ट्युबको नजिक राखिएको केही बैरियम प्लेटिनो साइनाइडका टुक्राबाट एकप्रकारको प्रकाशकीय चमक निस्किरहेको थियो । त्यसबेला उनले चारैतर्फ टेबुलभन्दा केही फुटको दूरीमा एक प्रतिदीप्तिशील पर्दा पनि चम्किरहेको देखे । यो देखेर उनको आश्चर्यको सीमा रहेन किनभने ट्युब त कालो गाताले ढाकिएको छ । क्याथोड किरण बाहिर आउने कुनै बाटो पनि छैन । उनलाई के विश्वास भयो भने निश्चय नै ट्युबबाट केही अज्ञात किरण निस्किरहेका छन्, जुन मोटो कागजबाट पनि पार हुन सक्छ ।

यद्यपि, त्यस समयमा उनलाई यी किरणहरूको विषयमा सामान्य ज्ञान पनि थिएन । यसकारण उनले यिनीहरूको नाम एक्स किरण राखे । एक्स शब्दको अर्थ अज्ञात हो । आफ्नो प्रयोगको दौरान उनले यी किरणका विशेष गुण पनि पत्ता लगाए । उनले के देखे भने यी किरण कागज, रबर तथा धातुको पातलो च्यादरको वारपार निस्कने गर्छन् ।

त्यसबेला उनलाई महत्वपूर्ण तर सरल विचार प्रयोग गर्न मन लाग्यो । उनले सोचे जसरी साधारण प्रकाशबाट फोटो फिल्म प्रभावित हुन्छ, त्यही किसिमले हुन सक्छ, यी रहस्यमयी किरणले पनि फोटो फिल्ममा केही प्रभाव पार्न सक्छन् । यो विचारलाई प्रयोगात्मक रुपबाट जाँच गर्नका निम्ति उनले फोटो प्लेट बनाए । त्यसमा श्रीमतीको हात राखेर एक्स किरण पठाए । उनले जब फोटो फिल्मलाई विकसित गरे, प्लटेमा हातका हड्डीको तस्बिर स्पष्ट रूपमा देखियो । त्यसको चारैतर्फ मासु पनि धमिलो रूपमा देखियो । प्रोफेसर रोटजनकी श्रीमतीले औंठी लगाएकी थिइन् । एक्स किरणबाट लिइएको सो तस्बिरमा औँठी पनि स्पष्ट रूपमा देखिएको थियो । यो विश्वमै पहिलो अवसर थियो जब कुनै जीवित व्यक्तिको भित्री ढाँचाको तस्बिर लिइएको थियो । यो तस्बिर देखेर उनकी श्रीमती कम्पायमान भएकी थिइन् ।

एक्स किरणका आविष्कारक प्रोफेसर रोटजन र उनका दुई साथी, जसले यो किरणको विकासमा महत्वपूर्ण योगदान दिए, उनीहरूको घातक प्रभावका कारण मृत्यु भयो । यद्यपि, यी किरण जीवनपयोगी छन् तर शरीरमा एक्स किरणको प्रभाव भने धेरै नै घातक हुन्छ । एक्स किरणको उपयोग केवल शरीरको हाडलाई चित्रण गर्नमा मात्र गरिँदैन बरु यिनीद्वारा क्यान्सरजस्तो डरलाग्दो रोग उपचार गरिन्छ । यिनीहरूद्वारा शरीरमा घुसेका गोली, मृगौलाको पत्थरी तथा फोक्सोमा देखापर्ने बिरामीको विषयमा पनि अनुसन्धान गरिन्छ । एक्स किरणद्वारा वास्तविक तथा कृत्रिम हीराको अन्तर पनि पत्ता लगाउन सकिन्छ ।

एक्स किरणको माध्यमबाट अपराधीद्वारा शरीरको विभिन्न भागमा लुकाइएका हीरा, मोती र सुनजस्ता मूल्यवान् वस्तु पत्ता लगाउन सकिन्छ । एक्स किरणद्वारा फलामका वस्तु, रबरका टायर आदिको असरबारे पनि पत्ता लगाउन सकिन्छ । एक्स किरणको सहायताले प्रयोगशालामा विशिष्ट पदार्थको संरचनाको विषयमा पनि अनुसन्धान गर्न सकिन्छ । केही वर्षपहिले एक्स किरण प्रयोगबाट कैटस्केमर मेसिनको विकास गरियो, जसको सहायताबाट शरीरको आन्तरिक बिरामीको विषयमा केही छिनमै थाहा पाउन सकिन्छ । यसप्रकार हामी के देख्छौँ भने रोटजनद्वारा खोज गरिएका एक्स किरण हाम्रानिम्ति धेरै उपयोगी सिद्ध भएका छन् ।

प्रोफेसर रोटजनले एक्स किरणका अतिरिक्त अन्य कैयौँ अनुसन्धान गरेका थिए । उनी एक महान् वैज्ञानिक तथा भौतिकशास्त्री थिए । उनले घुर्णन गरिरहेका केही विशिष्ट पदार्थमा चुम्बकीय प्रभावसँग सम्बन्धित प्रयोग गरेका थिए । उनले केही अन्य विद्युत्सम्बन्धी प्रयोग पनि गरेका थिए । १९औँ शताब्दीको अन्त्यमा उनी बुजवर्गबाट म्युनिख आए र ७७ वर्षको उमेरमा उनको निधन भयो ।

प्रतिक्रिया दिनुहोस्