७ हजार दासलाई सबैले देख्ने ठाउँमा झुन्ड्याइयो



मानिसलाई दाम्लोले बाँधेर सहर–बजारमा बिक्रीका लागि राखिन्थ्यो भन्दा हामीलाई आश्चर्य लाग्छ । इशापूर्व सय वर्षभन्दा पहिले सामाजिक व्यवस्था सम्झदा हामी चकित पर्छौं । दासप्रथाका समयमा मालिकले दासलाई ट्रकमा कोचाकोच पारेर एक मुलुकबाट अर्को मुलुकमा लैजान्थे । छोराछोरी आमासँग बस्न पाउँदैनथे । आमाबा पनि एक ठाउँ बस्न पाउँदैनथे । जसको घरको खोरमा बलियाबलिया हुन्छ, ती घरलाई सम्पन्न मानिन्थ्यो । धेरै बलिया दास पाल्नु सामाजिक प्रतिष्ठाको कुरा मानिन्थ्यो । प्रायः पश्चिमी मुलुकमा यस्तो अमानवीय दासप्रथा मौलाएको थियो । यो प्रथाविरुद्ध ऐतिहासिक विद्रोह रोमनमा भएको थियो । जसको श्रेय ग्लेडिएटर स्पार्टाकसलाई जान्छ ।

स्पार्टाकसलाई दासविद्रोहको पहिलो नेता मानिन्छ । उनको नेतृत्वमा भएको विद्रोहमा दासमात्रै होमिएका थिएनन्, किसान, भेडागोठाला तथा सानातिना व्यवसायी समूह पनि सामेल थिए । त्यसैले यो विद्रोहलाई जनविद्रोह पनि भनिन्छ । विश्वको सबैभन्दा पहिलो जनविद्रोह यसैलाई मानिन्छ । स्पार्टाकसको नेतृत्वमा भएको दासविद्रोहलाई रोमनलगायत अन्य विभिन्न मुलुकका जनताकोे समर्थन थियो ।

वास्तबमा स्पार्टाकसलाई बिक्रीका लागि दासमालिकले रोमन ल्याएका थिए । दास थुनेर राखिएको खोरमा दास भएर उनी पनि थुनिए । विवेकका कारण हामीले गाईबस्तुलाई हाम्रो वशमा सजिलै राख्न सक्छौं । आफ्नो अनुकूलमा पशुलाई प्रयोग गर्न सक्छौं । बिक्री–व्यापार र काटमार गर्न सक्छौं । एकताका (इशापूर्व सयभन्दा पहिले) मानिसले मानिसलाई पशुलाई जस्तै व्यवहार गर्थे । मानिसलाई साङ्लोले बाँधेर बजारमा बेच्थे । बिक्रीका मालजस्तै व्यापारका लागि सहर–बजारमा लगिन्थ्यो । दास भएर बस्नुपथ्र्याे । उनीहरूको हैसियत पशुभन्दा माथि हुँदैनथ्यो ।

हुटिट्याउँले आकाश थाम्छ भन्यो भने कसैको चित्त नबुझेजस्तै दास पनि एक दिन स्वतन्त्र हुन सक्छ भन्ने कसैलाई शंका–सपना थिएन । मानौं दासका लागि स्वतन्त्रता असम्भव मानिन्थ्यो । तर, सम्भव भयो । स्पार्टाकसले आफूलाई बिक्री गर्ने मालिकलाई मात्रै होइन, सारा रोमन राज्य हल्लिखल्ली पारिदियो । दासका सन्तान दास भएर बस्नुपर्ने व्यवस्था गर्लम्म ढल्यो । तिनै दासमध्ये यो परिवर्तनको संवाहक स्पार्टाकस थिए । यो स्वतन्त्रता स्पार्टाकसले कसरी सम्भव बनाए ?

को थिए स्पार्टाकस ?

गहिरो आँखा । मोटो नाक । सिलिक्क परेको ठूलो निधार । हट्टाकट्टा जिउडाल भएको स्पार्टाकस निकै बोलक्ड थिए । आफूसँगै थुनिएका दास साथीलाई उनले कुरा गरेरै मख्ख पार्थे । रोमन सरकारप्रति उनका घृणा जाग्न थालेको थियो । उनले यो कुरा आफ्ना साथीहरूलाई गफैगफमा सुनाउँथे । विस्तार–विस्तार उनमा विद्रोहको भाव जाग्न थाल्यो । साथीहरूलाई सम्झाउने राम्रो सीप थियो । त्यतिमात्रै होइन, थुप्रै समूहमाझमा बोल्नुपर्यो भने उनी प्रभावकारी ढंगले भाषण दिन्थे । उनले खोरमा थुनिएका अन्य थुप्रै दासलाई मन जित्न सफल भए । उनको मनभित्र कताकता दास मालिकप्रतिको घृणाको भाव हलक्कै हल्किएर आयो । यो घृणा उनले आफूसँगै खोरमा रहेका अन्य दासहरूलाई पनि भन्न सुरु गरे ।

आफ्नो मालिकविरुद्ध सोच्नुसम्म पनि दासका लागि अपराध मानिन्थ्यो । मालिकले भनेको सानोभन्दा सानो कुरा पनि नमान्दा तातो झिर तथा आगोमा रपाइएको फलामले दामिन्थ्यो । दासलाई सजायस्वरूप तातो तेलले खन्याउने, खाडलमा माटोले पुर्ने, तीखो भालाले रोप्नेजस्ता अति पीडादायी सजायको भागिदार बन्नुपथ्र्याे । यस्तो यातना बाबजुद पनि दासले स्पार्टाकसको कुरा सुन्थे । दासले स्पार्टाकसको कुरालाई महत्व दिन्थे । त्यहीँदेखि नै स्पार्टाकसप्रति अन्य दासको सहानुभूति जाग्दै गयो । विस्तारै दासमा रोमन सरकारप्रति श्रद्धा होइन घृणाको भाव उर्लेर आयो ।

स्पार्टाकस बन्दी जीवनबाट उम्किन सफल भए । घाँटीमा बाँधिएको साङ्लो र खोरको चौघेराबाट स्वतन्त्र भएको दिन उनी ज्यादै खुसी भए । अन्य लाखौं दासलाई यो आनन्द दिलाउन उनले स्वतन्त्रताका लागि संगठित गर्न थाले । अन्ततः उनले रोमन सरकारको सेनासित युद्ध गरे । त्यतिमात्रै होइन, उनले रोमन सेनाको नेतृत्व गरेर आएका दुई सैनिक अधिकृतलाई कब्जामा लिए । ती सैनिक अधिकृतलाई कब्जा लिएपछि घटेको घटना निकै रोचक छ ।

रोमन सरकारविरुद्धमा दास

अरूलाई प्रभाव पर्न सक्ने स्पार्टाकसको खुबी थियो । उनको आवाज पनि ‘कमान्डिङ’ थियो । रोमन सरकारी अत्याचारविरुद्धमा दासले स्पार्टाकसको नेतृत्वमा विद्रोह गरेका थिए । त्यस समय दाससँग आफ्नो भन्नु केही पनि हुँदैनथ्यो । आफ्नै छोराछोरी मालिकले बिक्रीका लागि कहाँ पुर्याउँछ आकाबाबुलाई थाहै हुँदैनथ्यो । उनीहरूको गलामा दाम्लो हुन्थ्यो । ट्रकमा कोचिएर बिक्री गर्न हिँडाइएको राँगाजस्तै गाडीमा कोचेर ठुल्ठूला सहरमा उनीहरूलाई बिक्रीका लागि पुर्याइन्थे । को कहाँबाट खरेतिएर आएका हुन्थे, अत्तोपत्तो हुँदैनथ्यो । यस्तो हालतमा पनि दासलाई विद्रोह गर्नु अपराधझैं लाग्थ्यो । यो कथित अपराधलाई स्पार्टाकसले पर्दाफास गरे । अपराधी दास व्यवस्थालाई पर्दाफास नगरेको भए त्यति छिटो दास व्यवस्था उन्मुलन हुँदैनथ्यो । स्पार्टाकस नै त्यस्तो मुक्तिदाता हुन्, जसले दासताबाट मुक्ति पाए ।

पशुको अवस्थाबाट उठाएर स्वतन्त्र मानिस बनाउन स्पार्टाकसले कसरी सके ? उनले लाखौंलाई दासविरुद्धको आन्दोलनमा कसरी होमे । दासलाई सम्झाउन पनि त्यति सहज थिएन । तर पनि स्पार्टाकसले यो काम सम्भव बनाएरै छोडे । सारा रोमन नै हल्लिखल्ली बनाए । त्यत्रो शक्तिशाली रोमन सेनालाई तहसनहस पारे नेकरसरहका दासले ।

स्पार्टाकसको प्रभाबमा कसले के–के गरे ?

स्पार्टाकसको बहादुरीलाई विषयवस्तु बनाएर धेर्रहवार्ड फास्टले उपन्यास लेखेका छन् । ‘स्पार्टाकस’ (सन् १९५०) नाम दिइएको त्यो उपन्यास निकै लोकप्रिय भयो । यो लेखेबापत धेर्रहवार्ड फास्टले पनि निकै लोकप्रियता पाए । जसमा इशापूर्व ७१ मा स्पार्टाकसले गरेको दासविद्रोहको सन्दर्भ छ । हवार्ड फास्ट जेल बसेको समयमा उनले यो उपन्यास लेखेका थिए । जुन उपन्यास प्रकाशन भएको पहिलो चार महिनामै सातौंपटक प्रकाशन भइसकेको थियो । तत्कालै स्पार्टाकसको सम्झनामा ५० हजार प्रतिमध्ये ४० हजार तत्कालै बिक्री भएको थियो । यसै उपन्यासबाट प्रभावित भएर १९७० मा स्टान्ली कुसिकले चलचित्र नै बनाएका छन् । स्वतन्त्रता, प्रेम, आशा मानिसका नभई नहुने विश्वव्यापी आधारभूत आवश्यकता हो । जुन कुराको भाव उपन्यास र चलचित्र दुवैमा पाइन्छ । वास्तवमा मानवीय मूल्य–मान्यताविरुद्धमा राजनीतिक रूपमा गरिएको दमनमा लड्ने लडाकुका रूपमा स्पार्टाकसलाई चिनिन्छ ।

स्पार्टाकसको नेतृत्वमा सानातिना दास सम्रह, किसान, भेडागोठाला तथा विभिन्न किसिमका उत्पीडनमा परेका मानिसको सहभागिता थियो । हिजोआज पनि आफ्नो श्रम लुटाएकाले दुःखको बेला स्पार्टाकसलाई सम्झिन्छन् । रोमन सेनाहरू तालिमले त्यति परिपक्व थिएनन् । उनीहरूलाई दासमाथि दमन गर्नका लागि खटाइएको थियो । उनीहरू प्रत्यक्ष युद्ध गर्नेभन्दा पनि युद्धनीतिलाई अँगाल्ने योजनामा थिए । निकै ठूलो समूहसाथ स्पार्टाकस बसेको पहाडलाई रोमन सेनाले घेराबन्दी गरे । उनीहरूलाई खानेकुराको अभावमा पारियो । उनीहरूले आत्मसमर्पण गरे ।

तर, स्पार्टाकस आत्मसमर्पणदेखि ज्यादै दुःखी थिए । उनले पहाडबाट हामफल्नका लागि रसी बनाए र रोमन सेनाका भीडमा हामफाले । स्पार्टाकसले डिपुटी कमान्डरसहित धेरैलाई हत्या गरे र त्यहाँ भएका हतियार पनि उनले खोस्न सफल भए । स्पार्टाकसको यो बहादुरीले त्यहाँका निकै बलशाली दासहरू पनि स्पार्टाकसको लोकप्रियताप्रति आकर्षित भए । त्यतिमात्रै हैन, स्पार्टाकसको समूहमा अन्य थुप्रै दास समूह आबद्ध हुन थाले । यो एकताको लहर निकै पछिसम्म चलिरहेको थियो । यस्ता कार्यले स्पार्टाकसलाई उच्च तालिमप्राप्त र विश्वासी नेताका रूपमा स्थापित गरायो ।

शक्ति, विलासिता, सम्पत्ति र दम्भको साधन भएर दासहरू बाँचेका थिए । बलियो र राम्रा दास राख्न पाउनु मालिकका लागि अहम् तथा सोखको कुरो थियो । कति मानिस यो विलासिताका साधन भएर बाँचेका थिए । दासको जीवन भनेकै बिक्री हुनु र आफ्नो मालिकको आज्ञा स्वीकारेर मृत्युवरण गर्नु थियो ।

के हो तेस्रो दासविद्रोह ?

उत्पीडनमा पारेका दासले समय–समयमा विद्रोह गर्दै आएका थिए । कुनै न कुनै रूपमा दासले मालिकको अवज्ञा गर्दै आएकै थिए । तर, ती अववज्ञा सामूहिक तथा संगठित थिएन । त्यही भएर पनि ऐतिहासिक हुन सकेन । कुन–कुन समयमा कहाँ–कहाँ ऐतिहासिक विद्रोह भयो ? दासले खेपेका अनेकौं दुःख–सास्तीको उल्लेख गरेर सम्भव छैन ।

दासविद्रोहलाई तीन चरणमा विभाजन गरेर हेर्ने चलन छ । इशापूर्व १३५ देखि १३२ सम्म सिसिली र अचेइयामा पहिलो दास विद्रोह भएको थियो । त्यसपछि क्रमशः इशापूर्व १०४ देखि १०० सम्म र ७३ देखि ७१ सम्म दोस्रो र तेस्रो दासविद्रोह भएको थियो । यसमध्ये स्पार्टाकसको नेतृत्वमा भएको तेस्रो विद्रोहलाई एतिहासिक दासविद्रोह मानिन्छ । यो विद्रोह सफल हुनुमा स्पार्टाकस कुशल नेतृत्व हुनु नै हो । त्यतिमात्रै होइन, उनी निकै कुशल, बलशाली र साहसी लडाकु पनि थिए ।

रोमन सरकारका तर्फबाट युनस र कोलिन दुई सेनाले पहिलो दासविद्रोहलाई दमन गरेका थिए । यी सेनाविरुद्धमा लुसियस काल्पुसियस, कपिलिय, कन्सुलजस्ता दासले लडेका थिए । तर, रोमन सरकारले यिनीहरूलाई सजिलै दमन गर्न सफल भयो । यो विद्रोहो २८ वर्षपछि फेरि सिसिलीमा दोस्रो विद्रोह भयो । चार वर्षसम्म लगातार दोस्रो विद्रोह भए पनि अन्ततः यो विद्रोह पनि असफल भयो । यो विद्रोहमा मानियस, कोन्सुलजस्ता दास र साल्भियस, यथेनियन रोमन सेनाबीचमा युद्ध भएको थियो ।

दासप्रथाविरुद्धमा दासले तीनवटा महत्वपूर्ण विद्रोह गरेका थिए । त्यसमध्ये निर्णायक र ऐतिहासिक विद्रोह भनेको तेस्रो दासविद्रोह हो । जसमा सबैभन्दा प्रभावकारी विद्रोह तेस्रो विद्रोह थियो । इशापूर्व ७३ मा भएको विद्रोहलाई सबैभन्दा लोकप्रिय विद्रोह मानिन्छ । जसको नेतृत्व गरेका थिए– थेसियन ग्लैडिएटर दास स्पार्टाकस । उनको नेतृत्वमा करिब चार वर्षसम्म युद्ध चलेको थियो । जसले त्यसबेलाको सबैभन्दा शक्तिशाली रोमन सेनालाई तहसनहस परिछाड्यो ।

इशाको १३३ पहिले तिबेरियस र गइयस दासले केही समाज सुधार्न चाहन्थे । सम्पत्ति धेरै राख्नु आवश्यक छैन भन्ने उनीहरूको अभिव्यक्ति थियो । यही विचार लिएबापत उनीहरूलाई हत्या नै गरियो ।  ठूलाको भक्ति, दासको मालिक, साम्राज्यवादी सोच र भोगविलासले रोमनलाई अति अल्छी तथा कामै नलाग्ने बनाएको थियो । दमन, अपमान, जबरजस्ती यौन क्रियाकलाप भोजनको सोख तथा उच्छृङ्खलताले रोमन कुरूप बन्दै थियो । यस्तो विलासिता जीवनलाई स्पार्टाकसको नेतृत्वले सबैभन्दा बढी प्रहार गरेको थियो । पहिलो र दोस्रो दासविद्रोहलाई त्यहाँका सरकारले सजिलै दबाउन सके पनि तेस्रो विद्रोह दमन गर्न मुस्किल पर्यो । जसका लागि पोम्पियन मेगनस जनरलले सैनिक प्रयोग नै गरेका थिए । तेस्रो दास विद्रोहका लागि यसले पनि निकै टेवा पुगेको थियो । दासले आफ्नो मुक्तिका लागि गरेको विद्रोहप्रति निकैको सहानुभूति थियो । यो युद्धले दासलाई लड्नका लागि अनुभवी बनाउँदै लगेको थियो ।

रोमानको प्रिय मानोरञ्जन युद्धकलामा प्रयोग हुने दास ग्लेडिएटर र दासको बीचमा लडाउँथ्यो । उनीहरूलाई राम्रो पौष्टिक आहाराको व्यवस्था हुने गथ्र्याे । महिला ल्याएर उनीहरूलाई यौन चाहना पनि पूरा गरिन्थ्यो । उनीहरूको काम भनेकै युद्धमा सहभागी हुनु थियो । दासलाई प्रशिक्षण दिने ठाउँलाई लानिस्ता भनिन्थ्यो । रोमनका ठाउँठाउँमा यस्ता लडाका लड्ने ठाउँ थियो, जहाँ रोमनवासी पैसा तिरेर दास लडेको हेर्ने गर्थे ।

थ्रेसमा बस्ने दास धारिलो चक्कु खेलाउने काममा खप्पिस थिए । अफ्रिकाका दास माछा मार्न र त्रिशूलजस्तो धारिलो हतियार चलाउन खप्पीस थिए । धारिलो हतियार खेलाएको र अफ्रिकाका दासले त्रिशूल हतियार खेलाएको निकै रोमाञ्चक हुने गथ्र्याे दास मालिकलाई । ग्लेडिएटर भने ज्यान माया मारेर रमाइलो दिलाउनु बाध्य थिए ।

कापुवा नगरमा दासलाई प्रशिक्षणका लागि ढुंगाको अखडा बनाइएको थियो । बाटियसले मिश्रको सुनखानीबाट स्पार्टाकसलाई खरिद गरेका थिए । गहिरो आँखा, घुम्रिएको कपाल, मोटोघाटो जिउडाल भएका स्पार्टाकस निकै आकर्षक देखिन्थे । पहिलोपटक बाटियसले खरिद गर्दा उनी अन्य दासभन्दा निकै कम उमेरका थिए तर उनको व्यवहार निकै परिपक्व देखिन्थ्यो । स्पार्टाकस धेरै बोलक्ड थिए । तर, उनको बोली प्रभाव पार्ने भएकाले प्रायः उनको कुरा कसैले काट्दैन थियो । बाटियटसले कापुअको स्कुलमा स्पार्टाकससहित २ सय लडाका राखेका थिए । यिनीहरू प्रायः यहुदी, निग्रो र प्रेसियाका दास थिए । प्रायः यी दासमा दासमालिकप्रति निकै घृणा थियो । बारिनिया नामको जर्मनी महिला पनि राखेका थिए । यिनले पनि स्पार्टाकसलाई आफ्नो पति मानेर अन्तिम समयसम्म सहयोग गरेका थिए ।

एक दिन दुईवटा रोमनका नवयुवा द्वन्द्व हेर्नका लागि कापुआमा आएका थिए । बाटियाटसले २५ हजार डिनारमा दुई जोडीका आमरण द्वन्द्व हेर्नका लागि सौदाबाजी गरे । स्ब्रैकस र कैमस नाम गरेका यी युवकलाई लडाकामा स्पार्टाकस र निग्रो र डेविड र अन्य नश्लको दास चयन गरे । पहिलो लडाइ यहुदी डेविड र चौथो लडाकाबीचमा भयो । यहुदी विजय भए तर हारेका लडाकाको हत्या गर्न उनी तयार भएनन् । यो विद्रोहको पहिलो खुड्किलो थियो । फेरि पालो आयो– स्पार्टाकस र ड्रावाको । रेफ्रीले सिटी बजाएको थिएन, त्यहीबेला ड्रावाले आफ्नो निशाना रोमन सेनातिर बनाए । रोमन सेनाले उनको ढाडमा धारिलो भालाले रोपिदिए । क्रिक्कस र गानिसक नामका दुई दासले स्पार्टाकसलाई पछिल्लो चरणसम्म पनि सहयोग गरिरहेका थिए ।

ड्रावा र अर्का निग्रोको शव दासलाई चेतावनी दिनका लागि काठको सूलीमा झुन्ड्याएर राखिदिए । दासहरू झुन्डिएको शव हेरेर आत्मसर्पण गरून् भन्ने ठानेका थिए । तर, स्पार्टाकसका लागि झुन्डिएको शव बलियो प्रेरणा स्रोत बन्यो । स्पार्टाकसले कमजोर होइन, झन् शक्ति आर्जन गरे ।

स्पार्टाकसले रोम सेनाविरुद्धमा आफ्नो पहिलो योजना सुनाउँदा सबै दास जुर्मुराए । बन्दी दास बिहानको खाना खान गएको समयमा सबै दासलाई स्पार्टाकसले ओजपूर्ण भाषण दिएका थिए । यो भाषणले दासलाई युद्धमा होमिनका लागि हौसला दियो । आफ्नो अखडामा रहेका पुलिसलाई पहिलोपटक दासले सफाया दिए । त्यहीबाट स्पार्टाकसले पहिलोपटक स्वतन्त्रताको महसुस गरे । ती पुलिस तथा सनेना दासको वीरतापूर्ण आक्रमणसामु कोही पनि टिकेन । कापुवाबाट आएका सैनिकलाई पनि उनले ध्वस्त पारे । स्पार्टाकसले सबैभन्दा पहिले माउन्ट बेसुविअसलाई आफ्नो नियन्त्रणमा लिए । दासहरूको विद्रोह झन् चुलिँदै गयो । दासहरू विद्रोहमा उर्लिएको देखेर रोमको सिनेटले यसलाई निकै गम्भीरतासाथ लियो । दासलाई दमन गर्न तीन हजार सेनाको नेतृत्व दिएर वारिनियसलाई पठाइयो ।

रोमन सेना निकै उच्छृङ्खल त थिए नै त्यसमा पनि मानवीय संवेदना पटक्कै थिएन । रोमन सेनाले बाटोमा भेटिएका दासलाई गर्नुसम्म ज्यादती गर्दै अगाडि बढ्यो । कब्जामा लिएको दासलाई ज्यादै यातना दिएर हत्या गर्दै अगाडि बढ्यो । यो क्र्ररताले दासलाई झनै आक्रोशित पारेको थियो । अन्ततः दासबाट सेना पराजित भए ।

दासले रोमन सेनालाई छानी–छानी हत्य गरे । दिनमा आक्रमण गर्न नसक्ने भएपछि स्पार्टाकसको नेतृत्वलाई रातको समय पारेर तिनीहरूले आक्रमण गरेका थिए । स्पार्टाकसले रोमनको राजडन्ट दिँदै एक सैनिकलाई भन्यो, ‘जाऊ सिनेटसँग भन दासतासको संगीत सुन्दासुन्दा वाक्क भइसक्यौं । अब हामी दास रहन सक्दैनौं ।’

स्पार्टाकसप्रति दासको यति धेरै विश्वास बढ्दै आयो कि उनीहरूको सानासाना अन्य समूह उनको समूहमा मिल्न आए । स्पार्टाकस सेनाको संख्या लाखभन्दा बढी भयोे । रोमन सरकारले स्पार्टाकसको लडाकुसँग भिड्न झनै बलशाली सेनाको टोली पठायो । यो टोलीसँग पनि स्पार्टाकस आफ्नै वीरतासाथ लडाइँ लड्यो । यस युद्धमा रोमन सेनलाई स्पार्टाकसको लडाकुले तहसनहस नै पारिदियो । रोमन सेना भागाभाग हुनुपर्यो । इतिहासमा रोमन सेना कसैदेखि भाग्नुपरेको थिएन । यही युद्धमा उनीहरू पहिलोपटक भाग्नुपरेको थियो ।

निकै रोचक कुरा त के छ भने यही समयमा स्पार्टाकसले ममियस र सर्वियस रोमन सेनालाई कब्जा लिए र दासलाई जस्तै आपसमा लडाए । दास योद्धाले राम्राराम्रा युद्धकलाको विकास गरे । उनीहरू नक्सा कोरेर युद्धका योजना बनाउँथे ।

लिसिनियस क्रैससको नेतृत्वमा रोमन सरकारले ठूलो सैन्यशक्ति स्पार्टाकसको लडाकुलाई दमन गर्न पठाए । यी सेनासँग लड्दालड्दै स्पार्टाकसको निधन भयो । यो युद्धमा पराजित ७ हजारभन्दा बढी दासलाई रोमन सेनाले कब्जा गरेर कापुवामा सबैले देख्ने ठाउँमा झुन्ड्याइयो । यहाँ दासलाई निकै यातनासाथ हत्या गरियो ।

 

प्रतिक्रिया दिनुहोस्