कुलुङ किताब कहानी



नेपालका जातजाति र भाषाभाषीबारे तथ्यपरक किताब कमैमात्र लेखिएका छन् । त्यसमा पनि आदिवासी जनजातिबारे गहन ढंगले खोज अनुसन्धान गरेर अनुसन्धानात्मक ढंगले लेखिएका किताब त धेरै कममात्रै बजारमा पाइन्छन् । त्यसमा पनि सम्बन्धित लेखकले आफ्नै जातिबारे लेखेको गहन किताबको त लगभग खडेरी परेको देखिन्छ । कतिपय अवस्थामा सम्बन्धित जातजाति, समुदाय वा वर्गभन्दा बाहिरका लेखकले जथाभावी लेखिदिनाले (केहीले टेबल वर्क गरेर र केहीले अनुमान वा सुनेकै भरमा) विवादसमेत हुने गरेको देखिन्छ ।
उपप्राध्यापक शिवहरि अर्यालले ११ कक्षादेखि स्नातकसम्मका समाजशास्त्रका विषयमा लेखेको किताबलाई उदाहरण लिन सकिन्छ । जुन किताबमा लेखक अर्यालले नेपालका आदिवासी जनजातिलाई ‘आदिवासी जनजाति’ नभनी ‘जनजाति’मात्रै भनी लेखेको, जनजातिको परिभाषा जताभावी दिएर लेखेका थिए । तर, ढिलै भए पनि आदिवासी जनजातिका अभियन्ता, अगुवा र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानसँगको छलफलपछि क्षमायाचना गर्दै र भुलसुधारसहित सच्याएर लेख्ने÷प्रकाशन गर्ने भनी प्रतिबद्धता जनाएका छन् भने बजारमा गइसकेका किताब बिक्री बन्द गरिसकेका छन् ।

लेखक इन्द्र कुलुङले लेखेको ‘किराती कुलुङ’ नामक किताब नेपालका मानवशास्त्री, जातिशास्त्री, नृवंशशास्त्री, समाजशास्त्री, भाषाशास्त्री, संस्कृतिविद् आदिका लागि उदाहरणीय हुन सक्ने देखिन्छ । यसरी हेर्दा जातजाति वा भाषाभाषीबारे लेख्दा आधिकारिक र तथ्यपरक ढंगले कसरी लेख्ने ? त्यसका लागि अध्ययन अनुसन्धानका विधि के–के हुन् ? कुनै जातजाति, भाषाभाषी, धर्म, संस्कार, संस्कृति आदि कुनै पनि विषयमा गहन ढंगले किताब लेख्न चाहने लेखकका लागि ‘किराती कुलुङ’ नामक किताब उदाहरणीय र नमुना हुन सक्छ ।

हुन त कुलुङ को हुन् ? पहिले जान्नुपर्ने हुन्छ । संवत् २०६८ को ११औं राष्ट्रिय जनगणनाअनुसार कुलुङ जातिको जनसंख्या २८ हजार ६ सय १३ रहेको छ भने कुलुङ मातृभाषीको संख्या भने ३३ हजार १ सय ७० रहेको छ । स्मरणीय छ, नेपालका अन्य जात वा जातिसरह अलग्गै जातीय संरचना भएको जस्तै ऐतिहासिक भूमि महाकुलुङ, अन्य जातिभन्दा छुट्टै भेषभूषा, धार्मिक मूल्य–मान्यता, परम्परागत कानुन, गरगहना, संस्कार, संस्कृति, चाडबाड, रहनसहन, पारिवारिक जीवनचक्र (कुलुङ–कुलुङबीचमै विवाह हुने) भए पनि यसअघि कुलुङ जातिलाई राई जातिमा गाभ्ने गरिन्थ्यो ।

‘किराती कुलुङ’मा १२ खण्ड र एक अनुसूची रहेको छ । अनुसूचीमा पनि १६ वटा उपखण्ड छ । लेखक कुलुङले किरात र किरातभित्रको विभिन्न जाति, उनीहरूको बसोवास क्षेत्र, कुलुङ जातिबारे, कुलुङ शब्दको उत्पत्ति, प्रशासनिक इकाइ, महाकुलुङलाई राज्यले दिएको लालमोहर, महाकुलुङ भूमिलाई पुष्टि गर्ने विभिन्न आधार, वंशावली, कुलुङ जातिका मुख्य चार पुर्खाको उल्लेख, कुलुङ जातिमा मृत्युपछि पुगिने÷पु¥याइने स्वर्ग अर्थात् ‘पोम्लालुङ’ आदिबारे लेखेका छन् । त्यस्तै कुलुङ जातिको ऐतहासिक संरचना, राजनीतिक, आर्थिक संरचना, किपट र किपटप्रथा, राज्यको भूमिसम्बन्धी नीति, कुलुङ जातिका परम्परागत ज्ञान, सीप र राज्यको नीति आदिबारे उल्लेख गरेका छन् ।

एवम् रीतले वंशावली, पाछा (थर), छुट्ट्याउने आधार, दप्स्निङ (गोत्र), सामै (गायत्रीमन्त्र) अर्थात् जन्म, मृत्य, विवाह, पूजाआजा आदिमा सम्बन्धित घरपरिवारमा हुने विभिन्न कार्यमा पुकारिने नाम जस्तै यो लेखक कुलुङ जातिको लोवात्ती पाछा (थर) को हो । लोवात्ती पनि छुटेर चार÷पाँचखालका भएका छन् । त्यो भनेको बाहुनको पोखरेल थरमा पनि दूध पोखरेल र पानी पोखरेल भनी छुटे (गोत्र फरक रहे) जस्तै हो । प्रत्येक उपथरका लोवात्तीको आ–आफ्नै सामै (गोत्र) हुन्छ । उपथर छुट्टिएपछि आपसमा विवाहवारी चलाउन मिल्छ ।

यसरी हेर्दा लेखकले ‘किराती कुलुङ’ नामक किताबमा कुलुङ जातिबारेमा हालसम्मकै वास्तविक र तथ्यमा आधारित किताब लेखेका छन् । कुलुङ जातिबारेमा धेरैभन्दा धेरै जानकारी दिएका छन् । लेखक स्वयम्, कुलुङ जातिको उत्पत्ति थलो अर्थात् ऐतिहासिक भूमि ‘महाकुलुङ’मा धेरैपटक भ्रमण गरेर त्यहाँका कुलुङ बूढापाका र जान्नेसुन्ने भेला पारेर उनीहरूसँग कुलुङ जातिको उत्पत्ति, ऐतिहासिक भूमि, वंश, लोककथा, परम्परा, रीतिथिति, धर्म, दर्शन, संस्कार, संस्कृति, चाडबाड, भेषभूषा, मेलापर्व, खेतिपाती, गरगहना, गीत–संगीत, बाजागाजा, खेल, मनोरञ्जनका साधन आदिबारे बहस, छलफल गरेर निकालेको निचोडलाई नै लेखकले किताबको रुप दिएका छन् । त्यसैले बाहिरिया लेखक तथा अनुसन्धानकर्ताहरूले ‘टेबल वर्क’ गरेर वा अरूले भनेको वा लेखेको सारेर ! लेखेको किताबभन्दा ‘किराती कुलुङ’ नामक किताब कुलुङ जातिबारेमा लेखिएको ‘इन्साइक्लोपेडिया’ भन्न सकिन्छ । फलतः बजारिया हल्लाखल्ला नगरीकनैै पनि किताब प्रकाशित भएको लगभग एक वर्षमै दोस्रो संस्करण निक्लेको छ ।

‘किराती कुलुङ’को पहिलो संस्करणको प्रकाशनमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले केही रकम सहयोग गरेको थियो भने दोस्रो संस्करण भने ‘सोसाइटी फर पाटनर्स इन डेभलपमेन्ट’ नामक संस्थाको केही रकम सहयोगमा प्रकाशित भएको छ । ३२४ पेजको ‘किराती कुलुङ’ नामक यो किताबको मूल्य पाँच सय (५००) नेपाली रुपैयाँ रहेको छ । पाना गनेरै भन्ने हो भने यो मूल्य केही महँगो नै लाग्छ । तर, लेखकले छनोट गरेको विषय, विषयको जानकारी, प्रस्तुति, अध्ययन र अनुसन्धानमा गरेको मिहिनेत, विभिन्न उद्धरण, उदाहरण, अनुसन्धानमा खर्चेको समय आदिलाई हेर्ने हो भने यो मूल्य धेरै महँगो होइन । जुन कुरो किताब पढ्नेले अनुभूति गर्छन् नै ।

असलियतमा भन्ने हो भने यो किताब नेपालका मानवशास्त्री, जातिशास्त्री, नृवंशशास्त्री, समाजशास्त्री, भाषाशास्त्री, संस्कृतिविद् आदिका लागि उदाहरणीय हुन सक्ने देखिन्छ । त्यस्तै सो विषयमा अध्ययन गर्दै गरेका पछिल्लो छिमलका विद्यार्थीका एमए, एमफिल, पीएचडी
(डाक्टर) शोधार्थीका लागि समेत सम्बन्धित जात वा जातिका जनसंंख्या धेरै होस् कि थोरै उनीहरूबारे वास्तविकतामा आधारित रहेर सत्य, तथ्य लेख्न, अध्ययन अनुसन्धान गर्न प्रशस्तै मार्गदर्शन गर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्