घरमै खुलमखुला गाँजा प्रशोधन गरी बिक्री गर्नेलाई प्रहरीले कर्याप्पै


घरमै खुलमखुला गाँजा तथा सुर्ती प्रशोधन गर्दै बिक्री गर्ने सुवास राई र अविन नेपालीलाई जिल्ला प्रहरी कार्यालय खोटाङले सार्वजनिक गर्दै 

बाहुनीडाँडा (खोटाङ) । असोज २८ गते बुधबार । अपराह्न ५ बज्दै थियो । कानुनले अवैध ठहर गरेको लागूऔषध कारोबारमा संलग्न रहेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय हलेसी प्रमुख प्रहरी निरीक्षक दिनेश खरेलको कमान्डमा खटिएका संयुक्त प्रहरी टोली बयक्ता पुग्यो ।

इप्रका हलेसी प्रमुख प्रहरी निरीक्षक खरेलको कमान्डमा खटिएका संयुक्त प्रहरी टोली बयक्ता पुग्दा सुवास राई घरमै भेटिए । सुरक्षाकर्मीले २१ वर्षीय राईसहित बयक्ताकै २३ वर्षीय अविन नेपालीलाई नियन्त्रण लिए ।

प्याकिङ गरिएका सुर्तीको बोरा

सुरक्षाकर्मीले गर्नुपर्ने काम अघि बढाए । खोतल्दै जाँदा ७ केजी गाँजा, भाले ब्रान्डको १५ बोरा सुर्ती फेला पर्यो । खुला सुर्ती २ बोरा, चुना २ बोरा, सुर्ती प्याकिङ गर्ने प्लास्टिक १ बोरा भेटिए । फलामको दाउ २ थान, गाँजा बनाउन प्रयोग गरिने मेसिन १ सेट, स्टीकर २ बोरा र अचानो १ थान सुरक्षाकर्मीले बरामद गरे ।

इजाजत नलिई प्याकिङ गरिएको भाले ब्रान्डको सुर्ती

बरामद गरिएका सामग्री र नियन्त्रणमा लिइएका राई र नेपालीलाई बुधबार इलाका प्रहरी कार्यालय हलेसी राखिएको थियो । बिहीबार १० बजे दिक्तेल पुर्याइएका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय खोटाङमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय खोटाङ प्रमुख डीएसपी नारायणप्रसाद चिमोरियाले राई र नेपालीविरुद्ध लागूऔधष, राजस्व तथा कर छलीअन्तर्गत मुद्दा प्रक्रिया अघि बढाइएको जानकारी गराए ।

लागूऔषध कारोबारमा समातिएका उनीहरूलाई राजस्व तथा कर छली गरेको अभियोगमा समेत कारबाही हुनेछ । उनीहरूलाई के कारबाही होला ? ‘राजस्व तथा कर छली गरेको प्रकृति हेरेर कारबाही हुन्छ,’ करदाता सेवा कार्यालय दिक्तेलका कर अधिकृत गोपाल राईले भने, ‘बरामद सामग्री आन्तरिक राजस्व विभाग, आन्तरिक राजस्व कार्यालय लहान सिरहाले अनुसन्धान गरेर कारबाही तोक्नेछ । राजस्व तथा कर छली गर्नेलाई २ वर्ष कैद सजाय तोकिएको छ ।’ इजाजत नलिई सुर्ती उत्पादन, नक्कली स्टीकर र ब्रान्ड लगाइनुका साथै अन्तःशुल्क स्टीकर नटाँसी बिक्री वितरण गर्नु कानुनविपरीत ठहरिन्छ ।

गाँजा प्रशोधन गर्ने मेसिनसहित गाँजा

घरमै खुलमखुला गाँजा प्रशोधन गर्ने मेसिन राखेर गाँजा र सुर्ती प्रशोधन गरी बिक्री गर्दै आएको थाहा पाएपछि हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा बयक्तानिवासी सुवास राईका छिमेकीमात्रै होइन, अवैध कारोबार गरेको थाहा पाउनेले जिब्रो टोक्ने गरेका छन् ।
५० ग्रामसम्म गाँजा राखे ३ महिनासम्म कैद र ३ हजार रुपैयाँसम्म जरिवाना ऐनमा उल्लेख छ । तर, राईको घरबाट गाँजा प्रशोधन बन्दोबस्तीका सामानसहित ७ किलो गाँजा बरामद गरिएको हो । ऐनमा २५ बोट गाँजा खेती गर्नेलाई ३ महिनासम्म कैद वा ३ हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङद्वारा जारी प्रेस विज्ञप्ति

संयुक्त राष्ट्रसंले ‘द सिंगल कन्भेन्सन अन नार्काेटिक ड्रग्स १९६१’ पारित गरेको थुप्रै भयो । उसले ९१६१ मा पारित गरेको अभिसन्धिमा नेपालले समेत हस्ताक्षर गरेको छ । सो अभिसन्धिमा सन् १९७६ मा हस्ताक्षर गरेपछि नेपालले लागूऔषध नियन्त्रणसम्बन्धी कानुन बनाएको हो । त्यसयता गाँजा खान, खेती तथा भण्डारण गर्न र बिक्री वितरण गर्न अवैध ठानियो ।

गाँजालाई अफिमजस्तै लागूऔषध मान्दै प्रतिबन्ध लगाउनुअघि अर्थात् सन् १९७० सम्म नेपालमा गाँजा खेती र व्यापार वैधानिक मानिन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्