पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई सर्प पाल्न ७२ करोड


सर्लाही । जिल्लाको लालबन्दी नगरपालिका–६ मा स्थापित ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ले साढे ८ बिघा जमिनमा विषालु सर्प पाल्न ७२ करोड अनुदान पाएको छ ।

प्रतिष्ठानको सर्प पालन एवम् एन्टी स्नेक भेनम उत्पादन परियोजनाका लागि संघीय सरकार, प्रदेश नम्बर २ सरकार र लालबन्दी नगरपालिकाले ७२ करोड अनुदान उपलब्ध गराउने भएको हो । यसका लागि प्रतिष्ठानले तीनवटै तहको सरकारसँग सम्झौता गरिसकेको प्रतिष्ठान अध्यक्ष रेवती पन्तले बताए ।

सर्पको विष उत्पादन गरेर सुरुमा भारत निर्यात गर्ने र पछि स्वदेशमै ल्याब स्थापना गर्ने प्रतिष्ठानको योजना छ । विषालु सर्पले टोकेर नेपालको तराई क्षेत्रमा सालिन्दा धेरै मानिसको ज्यान जाने गरेको छ । सर्पले टोकेको बिरामीलाई बचाउन प्रयोग गरिने ‘एन्टी स्नेक भेनम’ सर्पकै विषबाट बनाइन्छ । अहिलेसम्म नेपालले ‘एन्टी स्नेक भेनम’ उत्पादन गर्न सकेको छैन र सर्पदंशको उपचारमा भारतसँग निर्भर हुनु परेको छ ।

नेकपा वरिष्ठ नेता झलनाथ खनालका नाममा खुलेको सो प्रतिष्ठानले सर्लाहीको लालबन्दी नगरपालिका–१ मा साढे ८ बिघा जग्गा खरिद गरेर विषालु सर्प पाल्ने तयारी अगाडि बढाएको अध्यक्ष पन्तले जानकारी दिए । अध्यक्ष पन्तका अनुसार सर्प पाल्न प्रतिकठ्ठा साढे ३ लाखका दरले टेन्डरमार्फत खरिद गरिएको उक्त जग्गामा तीनै तहका सरकारको लगानी छ ।

सम्झौताबमोजिम ‘एन्टी स्नेक भेनम’ उत्पादनका लागि जग्गा खरिद गरी भवनसमेत बनाउन लागिएको उनले बताए । असोज अन्तिमसम्म भवन निर्माणको ठेक्का लागिसक्ने उनको भनाइ छ । उनका अनुसार अबको दुई वर्षभित्र भवनलगायतका सबै संरचना बनिसक्ने र सर्पको विष उत्पादन हुन थाल्नेछ । सुरुमा उत्पादित विष भारतको ल्याबमा पठाएर ‘एन्टी स्नेक भेनम’ बनाइने र त्यसपछि नेपालमै ल्याब बनाइने योजना रहेको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका झलनाथ खनालले २०७० को संविधानसभा निर्वाचत सर्लाहीबाट पनि लडेका थिए । पूर्वप्रधानमन्त्री खनालको चुनावी प्रचार–प्रसारक्रममा विषालु सर्पले टोकेर उपचार नपाई एकजनाको मृत्यु भएको थियो । उनले सर्लाहीको निर्वाच्न प्रचारक्रममा उक्त घटनाबारे थाहा पाए । त्यही घटनाबाट उत्प्रेरित भई नेपालमा सर्प पालन गर्ने र ‘एन्डी स्नेक भेनम’ बनाउने मुख्य उद्देश्य राखेर ०७१ मा ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ स्थापना भयो ।

अहिले नेकपा सर्लाही अध्यक्ष रेवती पन्तलाई प्रतिष्ठानको अध्यक्षको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्