त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर बिहानदेखि बेलुकासम्म नियाल्ने हो भने वैदेशिक रोजगारीमा जानेको ‘क्याराभान’ देखिन्छ । वैदेशिक रोजगारीमा जाने गएकै छन् । तर, नेपालमै बसेर केही गर्नुपर्छ भन्नेहरू पनि छन् ।
रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ खोटाङबाट उच्चशिक्षा हासिल गर्न काठमाडौं पसेका जनक राई जतिसुकै अप्ठ्यारो पर्दा पनि विदेश जाने सपना देखेनन् । भन्छन, ‘कन्सेप्ट बेचेर खानुपर्छ । कन्सेप्ट बेचेर खाने जमाना हो । कन्सेप्ट बलियो भयो भने आर्थिक समृद्धिका लागि विदेश जानुपर्दैन ।’
२६ वर्षअघि काठमाडौं पसेका राईले अहिलेसम्म ‘कन्सेप्ट’ बेचेरै जीविकोपार्जन गर्दै आएका छन् । किरात राई यायोक्खा केन्द्रीय समिति महासचिवसमेत रहेका उनले सामूहिक रूपमा सुम्निमा कल्चर एकेडेमी, सुम्निमा सेभिङ एन्ड रेमिट, सुम्निमा कलेक्सन सञ्चालनमा ल्याएका छन् भने निकट भविष्यमा सुम्निमा इन्भेस्टमेन्ट प्रालि र सुम्निमा मिनरल्स सञ्चालनमा ल्याउँदै छन् ।
मुन्दुम दर्शनअनुसार किरात राई समुदायले भगवान्माथि विश्वास गर्दैनन् । पुर्खा भएकाले हामी छौं भन्ने उनीहरू विश्वास गर्छन् । सुम्निमा किरात सभ्यताका आदिम महिला पुर्खा हुन् । उनै पुर्खाको सम्मान र सम्झनामा सुम्निमालाई विश्वमै स्थापित गर्न/गराउने अभियानस्वरूप आफूले गर्ने काममा सुम्निमा जोडेको किरात राई कलाकार संघ पूर्वअध्यक्षसमेत रहेका राईले बताए । राईको सुम्निमा सपनाबारे तुवाचुङ साप्ताहिकले जान्ने प्रयास गरेको छ ।
सुम्निमा कल्चर एकेडेमी
सुम्निमा कल्चर एकेडेमीले नेपाली कला संस्कृतिको संरक्षण तथा सम्बद्र्धन गर्दै आएको छ । विशेषतः किरात राई समुदायको कला संस्कृति संरक्षण तथा सम्बद्र्धनमा जोड दिँदै आएको छ । त्यतिमात्रै होइन, सम्बन्धित व्यक्तिमा निहित प्रतिभा र कला प्रशिक्षण माध्यमबाट प्रस्फुटन गर्दै स्थापित गर्न/गराउन मञ्चसमेत उपलब्ध गराउँछ ।
संवत् २०६१ मा स्थापित एकेडेमीले गीत, संगीतको अलावा अभिनय, उद्घोषण र भाषणसम्बन्धी तालिमसमेत दिने गरेको छ । उसले सांस्कृतिक भेषभूषा भाडामा उपलब्ध गराउँछ । राई समुदायको सांस्कृतिक भेषभूषा काठमाडौं उपत्यकामा भाडामा समेत लिन पाइँदैन ।
सुम्निमा कल्चर एकेडेमीबाट विभिन्न विधामा सालिन्दा चारदेखि पाँच सयजना प्रशिक्षित हुन्छन् । ऐकेडेमीबाट विभिन्न विधामा प्रशिक्षित रेवत राई, जानुका राई, सागर राई, पदम राई, बबिना किराती, निर्मला पुलामीमगर र रन्जिता लिम्बूजस्ता थुप्रै प्रतिभा स्थापित भइसकेका छन् ।
सुम्निमा सेभिङ एन्ड मनि ट्रान्सफर
बचत गर्नु भनेको खर्चमा कटौती गर्दै लैजानु हो । दुई/चार पैसा बचत गरे ब्याज पाइन्छ । सीपमात्रै होइन, जाँगर र इमानदार व्यक्तिले आर्थिक कारणले उद्यम÷व्यवसाय गर्न सकेका छैनन् भने सुम्निमा सेभिङ एन्ड मनि ट्रान्सफरले ऋण उपलब्ध गराउँछ । पाएको ऋणले सम्बन्धित व्यक्तिलाई व्यवसाय सञ्चालन गरेर आत्मनिर्भर बन्न सघाउँछ ।
सुम्निमा सेभिङबाट ऋण लिएर झन्डै एक हजारजनाले व्यापार/व्यवसाय गर्दै आएका छन् । उसले १७ जनालाई रोजगारी दिएको छ । ‘सहकारी भनेको ‘कम्युनिटी बेस’ मै सञ्चालन गरिन्छ,’ सुम्निमा सेभिङ एन्ड मनि ट्रान्सफर सचिव जनक राईले सुनाए, ‘यो ग्राहकभन्दा सदस्यताका आधारमा चलाइन्छ । हाम्रो समुदायका कमैमा बचत गर्ने बानी भएकाले सुम्निमाले सबैलाई बचत गर्नुपर्छ है भनेर सिकाउँछ ।’
प्रत्येक मानिस आर्थिक रूपमा समृद्ध हुनुपर्छ । बचतमात्रै होइन व्यापार व्यवसाय गर्नसमेत सुम्निमा सेभिङ एन्ड मनि ट्रान्सफरले सिकाउँछ ।
सुम्निमा कलेक्सन
किरात राई समुदायको संस्कृतिलाई व्यापारिक हिसाबले संरक्षण तथा प्रवद्र्धन गर्न २०६७ मा सुम्निमा कलेक्सन स्थापना भएको हो । कलेक्सनले राई समुदायले दैनिक जीवनमा प्रयोगमा ल्याउने विभिन्न सामग्रीका साथै सांस्कृतिक भेषभूषा व्यावसायिक रूपमा संरक्षणमात्रै होइन, प्रवद्र्धनसमेत गर्दै आएको छ ।
दुई उद्देश्यले स्थापित कलेक्सनले किन्न खोजिरहेका ग्राहकलाई एकैठाउँमा सबै सामान सहज रूपमा उपलब्ध गराउँछ भने आदिम पुर्खाले लामो समयदेखि जोगाउँदै ल्याएको सीपलाई व्यावसायिक बनाउन सघाउँछ । व्यावसायिक बनाउन सकिएन भने सीप एकादेशको कथा बन्न पुग्छ । भेषभूषासँग सीप जोडिएको हुन्छ । सीपमात्रै होइन, निर्मित सामग्रीको मूल्य–मान्यता र महत्वबारे थाहा दिन उसले मिहिनेत गरेको छ ।
कलेक्सनमा विशेषतः कोकटीको कपडा, हातले बुनेको गरगहना, लोप हुनै लागेका सामान पाइन्छन् । सधैं बनाउन नसकिने र अन्य ठाउँमा नपाइने कपडा संरक्षणका हिसाबले भाडामा उपलब्ध गराइन्छ । धामीले टाउकोमा लगाउने सामग्री, ढ्याङ्ग्रो, पुराना बत्ती, माटाका भाँडा र सर्पको काँडाको मालासमेत कलेक्सनमा पाइन्छन् ।
काठमाडौं उपत्यकामा म्युजिक भिडियो, भिडियो छायांकन, मौलिक वस्तुलाई देखाएर फोटो खिच्नुपरे कलेक्सनले सहयोग गर्छ । यसको लोकप्रियता बढ्दै गएको छ । सुम्निमा कलेक्सनमा दिनहुँजसो अवलोकन गर्न, फोटो खिच्न, अध्ययन अनुसन्धान गर्दै गरेका अनुसन्धातासमेत पुग्छन् । ६ फिट उचाइको चिन्डो (वाबु) कलेक्सनको आकर्षण हो ।
सुम्निमा इन्भेस्टमेन्ट प्रालि
सुम्निमा इन्भेस्टमेन्ट प्रालि निकट भविष्यमा सञ्चालनमा ल्याइँदै छ । प्रालि व्यापारिक दृष्टिले अघि बढ्ने सुम्निमा इन्भेस्टमेन्ट प्रालिका परिकल्पनाकारमध्ये एक जनक राईले सुनाए । राईका अनुसार उसले नाफामूलक काममा लगानी गर्नेछ । प्रालिले हाइड्रोपावर, कृषि र सेयरबजारमा लगानी गर्ने सोच बनाएको छ ।
सुम्निमा मिनरल्स
काठमाडौं उपत्यकालाई आधार बनाएर सुम्निमा मिनरल्स सञ्चालनका लागि सर्वे भइसके पनि यसलाई दीर्घकालीन योजनामा राखिएको छ । मिनरल्सका लागि लगानी ठूलै चाहिन्छ । मेलम्चीको पानी काठमाडौं ल्याउने प्रयास जारी रहँदा पानीमा लगानी कति प्रभावकारी हुन्छ भन्ने छलफल चलिरहेको छ ।
‘पानी कारखाना खोल्न पानीको मुहान चाहिन्छ,’ राईले भने, ‘मुहानसहित जग्गा किन्नुप¥यो । मुहान भएकै जग्गा किन्दा पनि मुहान मेरो जग्गामा परेको छ भनेर कारखाना सञ्चालकले मात्रै चलाउन पाइँदैन रहेछ ।’ तैपनि सुम्निमा मिनरल्छ दीर्घकालीन योजनामा परेकै छ ।