डा. हरि रोकाले हलेसीमा यसरी गरे संगठन विस्तार


तस्बिर : केदार मगर

सुनकोसी सुसाएको प्रस्टै सुनिन्छ । साबिक दुर्छिम गाउँ विकास समिति–४, गणेटारबाट सुनकोसी सुसाएको सुन्दा कम्ती आनन्द लाग्दैन । पुष्पलाल मध्यपहाडी लोकमार्गको छापडाँडाबाट, साल्तेम्मा, भन्ज्याङ, चुमाखु हुँदै सुनकोसी झर्दा गणेशटार पुछारको गाउँ । कम्युनिस्ट पार्टीमा आस्था राख्ने नेताहरू संवत् २०३६ सालदेखि गणेटार आउजाउ गर्थे । त्यसमध्ये डा. हरि रोका पनि एक थिए ।

पञ्चायतकालीन समय । तसर्थ, भूमिगत रूपमा भेटघाट, संगठन विस्तार गर्नुपर्ने बाध्यता । पञ्चायती व्यवस्था अन्त्यसँगै ०४६ मा बहुदलीय व्यवस्था आयो । त्यसपछि हलेसी क्षेत्रमा कम्युनिस्ट नेताको उपस्थिति झन् बाक्लियो । संगठन निर्माणका लागि हरि रोका, टंक राई, अशोककुमार राईहरू हलेसी आइरहन्थे । हलेसी क्षेत्रका गणेश राई, बच्चु राई, कुवेर राई, रमेशचन्द्र गिरी, सजना राई, श्याम राईहरूको रहरलाग्दो उपस्थिति छँदै थियो । तसर्थ, ०४७ सालमा दुई दिनसम्म हलेसीमा ‘कम्युनिस्ट जागरण अभियान’ चलाइयो । हलेसीको मेला लाग्ने ठाउँमा जाँगर अभियान भव्य रूपमा सम्पन्न गरियो । गणेशटारमा सालिन्दा देउसी–भैलो खेल्दा जनवादी गीत गाउँदै नाच्न सिकाइन्थ्यो । पंक्तिकारसमेत नाचगानमा सहभागी हुन्थे । जागरण अभियानमा गणेशटारबाट नाच्न पंक्तिकारसमेत हलेसी पुगे ।त्यतिबेला हलेसी बजार सामान्य थियो । सडक र यातायात सुविधा थिएन । उदयपुरको कटारीबाट नुन, तेल, चामल बोकेर ल्याउनुपथ्र्यो । जागरण अभियानमा जिल्लाबाट तात्कालिक मालेसम्बद्ध धेरै नेता तथा कार्यकर्ता हलेसी आएका थिए । खानाका लागि हलेसीमै रहेको खाद्यबाट उसिना चामल निकालियो । कटारीबाटै ढाकरमा बोकेर ल्याइएको मुसुरो दाल प्रयोग गरियो । चामल लिन हरि रोका आफैं रिठाबोटेदेखि अलि माथि भित्तामा रहेको खाद्य पुगेका थिए । रोका आफैंले पनि चामल बोके । खाना पकाउन आफैं अघि सर्थे । रातो दालमा धेरै पानी हालेर पकाउँथे । किनकि धेरैलाई दाल पुर्याउनुपथ्र्यो । मुसुरोको दाल र उसिना चामलको भातलाई त्यतिबेला ‘जनवादी भान्सा’ भनिन्थ्यो ।

जागरण अभियानपछि पनि हरि रोका गाउँ–गाउँ पुगिरहे । घरदैलो गरिरहे । कार्यकर्ता र मतदातालाई भेटिरहे । ०४७ देखि ०४९ सम्म गणेशटार आइरहे । गणेशटार आउँदा हप्ता दिनसम्म बस्थे । गणेशटारमा रहँदा गाउँलेसँगै बस्थे । खान्थे । गाउँलेको काममा सहभागी हुन्थे । डाले घाँस काटिदिन्थे । खनजोत गरिदिन्थे । गहते भात (गहत र मकै च्याँख्ला मिसाएर पकाइएको भात), उसिनेको फर्सी, बदाम खाँदै मनदेखि काम सघाउँथे । उनी त्यसताका जेनजी उमेरका थिए । गणेशटारमा होचो कद र गहुँगोरो वर्णकाको बसोवास थियो । अग्लो न अग्लो, कालो वर्णका भएकाले गाउँलेले उनलाई टाढैबाट चिन्थे ।

हिउँद लागेपछि शुभकार्य भइरहन्थ्यो । गणेशटारमा पानी समस्या विकराल थियो । हिजोआजजस्तो धाराको सुविधा थिएन । गाउँबाट करिब पौन घन्टा हिँडेर नाहिमा पँधेरोबाट पानी बोकेर ल्याउनुपथ्र्यो । त्यहाँ पनि पानी प्रशस्त थिएन । अगाडि पुगेकाले पानी भरिसकेका हुन्थे । पानी पाइएन भने त्यहाँबाट २० मिनेट हिँडेर ङलालीमा रहेको कुवामा पानी भर्नुपथ्र्यो । शुभकार्यमा पानी धेरै चाहिन्थ्यो ।शुभकार्यमा उपस्थित हरि रोकाले डोकोमा गाग्री बोकेर तीन दिनसम्म पानी भर्न सघाए । रोकाले पानी भरिदिँदा गणेशटारवासी विश्वस्त भए, ‘कम्युनिस्टले जनतासँगै काम गर्दारहेछन् । उनीहरू जनताका सच्चा साथी रहेछन् ।’

संविधानसभा सदस्यसमेत रहेका हरि रोकाले भारतबाट पीएचडी गरेपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्तरीय सेवा–सुविधासहितको जागिर खाने सम्भावना बलियो थियो । तर, नेता रोकाले स्वदेशमै बस्ने, स्वदेशकै सेवा गर्न रहर गरे । त्यतिमात्रै होइन, योग्यता, क्षमता हुँदाहुँदै चार वर्षअघि गाउँ (खोटाङ) फर्केर कृषिकर्ममा लागे । लागिरहेका छन् । कृषिकर्मको सुख–दुःख नजिकबाट नियाले । नियाल्दै छन् । नीतिगत सुधार नभएसम्म किसानको भविष्य कमजोर रहने निष्कर्ष निकाले । यही अवस्थामा डा. हरि रोकालाई आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले खोटाङको उम्मेदवार बनाइयो । किसानका हितलाई सर्वोपरि ठानेर आफूलाई निर्वाचित गराउन उनी चुनावी अभियानअन्तर्गत जिल्लावासी मतदाताको घरदैलो पुगिरहेका छन् । जिल्लावासीको वास्तविक समस्या संसद्मा घनिभूत रूपमा सुनाउने र कार्यान्वयनमा लागिपर्ने वाचा गर्दै मतदान गर्न आह्वान गर्दै आएका छन् । उनको दोस्रोपटकको सिंहदरबार यात्रा मतदाताको मतदानमा निर्भर रहन्छ ।

प्रतिक्रिया दिनुहोस्