
तीनधारे प्राथमिक विद्यालयतिर सोझिने पाइला चम्पावती माध्यमिक विद्यालय बुइपातिर मोडियो । अध्ययनले निरन्तरता पाउँदै गयो । ७ कक्षामा अध्ययनरत छात्राले राजनीतिक सुगन्धको गोरेटो पहिल्याउन थालिन् । ‘त्यतिबेला सांस्कृतिक फाँटबाट राजनीतिक सुगन्धको गोरेटो पहिल्याएँ,’ एमाले कोसी प्रदेश कमिटी सचिवालय सदस्य वीणादेवी राईले विगत सम्झिन्, ‘जनवादी गीत गाउँदै नाच्दै अघि बढें ।’
यसर्थ, एमाले कोसी प्रदेश कमिटी सचिवालय सदस्य राईको राजनीतिक जग चम्पावती माध्यमिक विद्यालय बुइपा, खोटाङ बन्न पुग्यो । त्यहाँदेखि यहाँसम्म आइपुग्न मेम्बर राई, छत्रमान राई, रमिता राईहरूको प्रेरणाले काम गरेकै थियो । घरपरिवारको सहयोग त्यत्तिकै थियो । पत्रकार किसनचन्द्र राईले श्रीमती वीणादेवी राईलाई राजनीतिको राजमार्ग पहिल्याउन सघाउ पुर्याए ।
‘म धेरैजसो नाच्थें,’ उनले थपिन्, ‘गाउँथें पनि ।’ दुवै कामले निरन्तरता पाएकै थियो । एसएलसी परीक्षा लेख्नासाथ जनसांस्कृतिक मञ्च काठमाडौंमा तालिम लिने अवसर पाइन् । तालिममा ७५ जिल्लाकै प्रशिक्षार्थी थिए । जेबी टुहुरे, मधु गुरुङ, खगेन्द्र राई र आकाश थापाहरूबाट तालिम लिइन् । गायन र नृत्य तालिमले आफूमा भएको प्रतिभा परिष्कृत गर्दै अघि बढ्न हौसला बढायो ।
‘तालिम लिएपछि खोटाङ सदरमुका दिक्तेलमा तालिम दिएँ,’ उनले जानकारी गराइन्, ‘संवत् २०५७ देखि ०६० सम्म त्यो क्रम जारी रह्यो । कलाकारितालाई निरन्तरता दिइरहें । जुन दिन छोरी जन्मिन्, त्यो दिन बिहानसम्म तालिममा व्यस्त थिएँ ।’
दिक्तेल बहुमुखी क्याम्पसमा समेत यो क्रमले निरन्तरता पायो । दिक्तेल बहुमुखी क्याम्पसबाटै आईएसम्मको अध्ययन पार लगाएकी उनी पढाइभन्दा नाचगान र तालिममा व्यस्त भइन् ।

संवत् ०६२ मा काठमाडौं टेकिन् । काठमाडौं टेक्नासाथ एमालेनिकट खोटाङ–काठमाडौं सम्पर्क मञ्चमा जोडिइन् । मञ्चको क्षेत्रीय, जिल्ला हुँदै सगरमाथा अञ्चल कमिटीको महिला विभाग प्रमुख भएर सक्रियपूर्वक काम गरिन् ।
यही बीचमा आरआर क्याम्पस प्रदर्शनीमार्ग काठमाडौंमा भर्ना भइन् । समाजशास्त्रमा स्नातक तहसम्मको अध्ययन पूरा गरिन् । क्याम्पसका स्ववियु सभापति राजकुमार राई थिए । लोभलाग्दो सक्रियता देखेर वीणादेवी राईलाई जिम्मेवारी दिने भनिए पनि उनले लिइनन् । किनकि उनको सक्रियता धेरै ठाउँमा बाँडिएको थियो । किरात राई यायोक्खा केन्द्रीय समितिमा समेत पदाधिकारीमै रहेर काम गरेको अनुभव छ । उता, खोटाङ सेवा समाजमा पनि आबद्धता छँदै थियो । उनी समाजको कोषाध्यक्षको भूमिकामा थिइन् ।

काठमाडौंको बौद्धमा रहेको अरुणिमा फाउन्डेसनको सहकारीमा केही समय काम गरिन् । तीन वर्षजति काम गरेको जागिरे अनुभव सँगालेकी उनले ०६२ देखि ०७० सम्म काठमाडौं रहँदा सम्पर्क, सम्बन्ध रहरलाग्दो बनाइन् । रहरलाग्दो सम्पर्क सम्बन्ध अझै विस्तार गर्न ०७० मा खोटाङ फर्किन् । पहिलो स्थानीय तह निर्वाचनमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको उपमेयरमा उम्मेदवारी दिइन् । नभन्दै विजयको माला पहिरिइन् । उपमेयरकै भूमिकामा रहँदा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको बाहुलीबाट प्रवल जनसेवीश्री चतुर्थ पदकबाट विभूषित भइन् । यो पदक पहिलोपटक जनप्रतिनिधिलाई प्रदान गरिएको थियो ।
दुई वर्षीय बिरामी छोरा आमालाई छाडेर जनप्रतिनिधि बनेकी उनलाई घरपरिवारभन्दा आफूसम्बद्ध पार्टीको संगठन ठूलो लाग्छ । ‘त्यसैले गर्दा सामाजिक काम गर्ने अवसर पाएकी छु,’ अखिल नेपाल महिला संघ केन्द्रीय सचिव वीणादेवी राईले खुसी व्यक्त गरिन्, ‘यस्तो काम गर्न पाउँदा असाध्यै आनन्द लाग्छ । यस्तो काम गर्न थुप्रै छ । जुन काम मैले गर्नै बाँकी छ ।’
कामले काम सिकायो । भूमिकामाथि भूमिका थपियो । राईले एमाले कोसी प्रदेश कमिटी सचिवालय सदस्य, अखिल नेपाल महिला संघ केन्द्रीय सचिव र अखिल नेपाल महिला संघ, कोसी प्रदेश इन्चार्जसमेतको भूमिका एकसाथ निर्वाह गर्दै आएकी छन् । अनेमसंघको नेतृत्व गरेकी विद्यादेवी भण्डारीले दुई–दुईपटक राष्ट्रपतिको जिम्मेवार सम्हालिसकेकी छन् भने अन्य थुप्रैले जिम्मेवार भूमिका पाएका थिए । वीणादेवी पनि त्यही बाटो र लयमा छिन् ।
‘राजनीति भनेको विशाल वरको रूख हो,’ लेखक केशव दाहालको भनाइ छ, ‘जुन रूखले सुरक्षा, शीतल र न्यानो दिन्छ ।’

राजनीतिरूपी विशाल वरको रूख बनेर सुरक्षा, शीतल र न्यानो दिन आफू लागिपरेको अखिल नेपाल महिला संघ, कोसी प्रदेश इन्चार्ज वीणादेवी राईको भनाइ छ ।



