
श्री रुद्रकुमार राईज्यू
वडाध्यक्ष,
हलेसी तुवाचुङ नगरपालिका–१, बाहुनीडाँडा, खोटाङ ।
तपाईंकै कारण वाम्बुले राई समुदाय विभाजित भएको छ । विभाजित काम गर्ने तपाईंलाई हामीले माफी दिए पनि इतिहासले दिने छैन । तपाईंले समुदाय विभाजित गर्न गरेको कसरत सफल भएको छ । ननुहिने बाँसको तामाजस्तै आफ्नो जिद्दी कायम राखेर तपाईंले समग्र वाम्बुले राई समुदाय फुटाएर पुरुषार्थ देखाउनुभएकोमा थुप्रै धन्यवाद अनि शुभकामना पनि ।
किरात वाम्बुले संग्र्रहालय स्थापनाका निम्ति परेको ३० लाख बजेट आफ्नो अनुकूलमा चलाउन समुदायलाई फुटाउनुभयो । तर, वाम्बुले राई समाज (वाम्रास) जस्तो हजारौं वाम्बुले समुदायको आस्थाको केन्द्रबिन्दुमाथि तपाईंको स्वार्थको दूषित पाइतालाले कुल्चन कदापि दिने छैनौं । त्यस्ता पाइताला ठनक्क गिँड्नेछौं ।

तपाईं वाम्बुले राई समुदायको शिर उच्च पार्ने बाहुनीडाँडाको जनप्रतिनिधि भनेर बुझेका थियौं । हाम्रो बुझाइ गलत भयो । हलेसी तुवाचुङ नगरपालिका–२, डिकुवाको दाम्लीमा भएको २७औं वाम्रास स्थापना दिवस र २५औं वाम्बुले राई भाषाको कविगोष्ठीमा तपाईं अनुपस्थित हुनुले संशय पैदा भएको थियो । तपाईंको त्यो निच हर्कत पुष्टि भएरै छाड्यो ।
आफूअनुकूलका केहीलाई उचालेर तपाईंले आफ्नो स्वार्थ पूर्ति गर्न खोज्नुभयो । उचालेको कुकुरले मिर्ग मारेको रेकर्ड छैन । अध्यक्षज्यू आफूअनुकूलको स्वार्थ पूर्ति गर्न त्यति सजिलो छैन । मरेको कुकुरलाई उपियाँले छोडेजस्तो तपाईंलाई त्यस्तो दशा लागेको यी आँखाले देख्न नपरोस् ।
रुद्रकुमार राईज्यू,

तपाईंले आफ्नै समुदायलाई विभाजितमात्रै गर्नु भएन, प्रताडितसमेत गर्नुभयो । सिंगो समुदायलाई हराएर आफूले मात्रै जित्नु ठूलो कुरा होइन । तपाईंसँगको लडाइँ समुदायको जित नभइन्जेलसम्म चलिरहनेछ । हामी अस्तित्वको संकट खेपिरहेको, कम जनसंख्या भएको वाम्बुले समुदाय धार्मिक, सांस्कृतिक, आर्थिक र राजनीतिक चपेटाबाट उठ्न नसकिरहेको अवस्थामा तपाईंको काइते कर्मले के परिणाम दिन्छ ? हामीले बुझिसकेका छौं । तपाईंको उद्देश्य प्रदेश सरकारबाट विनियोजित ३० लाख रुपैयाँको योजना आफ्नो अनुकूलमा खर्च गर्नु/गराउनुमात्रै हो । त्यसो गर्न हलेसी तुवाचुङ नगरपालिकामा तपाईंले ३२ नम्बरमा दर्ता गराएको बाम्बुले राई सेवा समाजको भविष्यमाथि कालो बादल मडारिन थालेको हेक्का होस् ।

किरात वाम्बुले संग्रहालय निर्माणका लागि वाम्राससँग सहकार्य र समन्वयका लागि निरन्तर प्रस्ताव राख्दासमेत तपाईंले बेवास्ता गर्नुभयो । वाम्रास अध्यक्ष गजुरधन राईले पटक–पटक अनुरोध गर्दा तपाईंले एक कानले सुनेर अर्को कानले उडाउनुभयो । तपाईंलाई तपाईंकै हठ प्यारो छ । तर, हामीलाई हाम्रो समुदाय र वाम्रासको मार्गचित्र प्यारो लाग्छ ।

समग्र वाम्बुले राई समुदायले तपाईंलाई पहिचानविरोधीको कित्तामा राखेको छ । वाम्बुले राई समाज (वाम्रास) को २७ वर्षे इतिहास मेट्न खोज्ने तपाईंको कुकर्मले त्यसै भनिरहेको छ । वाम्रास हुँदाहुँदै अर्को संस्था दर्ता गरेर त्यस्तो काम नगर्न संस्थाले पत्राचार गर्दा तपाईंले बाहुनीडाँडा वडाको लेटरप्याड प्रयोग गरी विज्ञप्ति निकाल्दा कसको इज्जत बढ्यो होला ? उत्तर दिन सक्नुहुन्छ ? वाम्बुले राई समाज (वाम्रास) केन्द्रीय समितिले २०८१ चैत ५ गते निकालेको विज्ञप्तिविरुद्ध वडाको लेटरप्याड दुरुपयोग गरी वाम्राससँग सिङ जुधाउन खोज्नुभएपछि तपाईंको वास्तविकता छर्लंङ्गै भएको छ ।
वाम्बुले राई सेवा समाजको रसिद छापी वाम्बुले किरात संग्रहालय निर्माणका लागि आवश्यक जग्गा खरिद गर्न रकम उठाउन थालेको जानकारी पाएपछि वाम्रासले ध्यानाकर्षणका लागि विज्ञप्ति जारी गर्यो । उसले किरात वाम्बुले संग्रहालय निर्माणका लागि वाम्रास जिल्ला कार्यसमिति खोटाङ र सोमातहत रहेको वाम्रास वडा कमिटी बाहुनीडाँडासँग आवश्यक समन्वय गर्न अध्यक्ष गजुरधन राईद्वारा हस्ताक्षरित विज्ञप्ति जारी गरे पनि तपाईं धोती लगाइदिनुभयो । तपाईंले संग्रहालय निर्माणका लागि वाम्रास केन्द्रीय कार्यसमितिसँग अनुमति लिन आवश्यक नरहेको विज्ञप्ति निकाल्नुभयो । तपाईं बुझक्कड हुनुभयो ।

अन्त्यमा, जयराममा आयुर्वेदिक औषधालय खोलेर तपाईंले गर्न खोजेको सेवाबारे लेख्ने विषयवस्तु बनेकै छ । जयराममै सहकारी खोलेर तपाईंले गर्नुभएको कुकर्म कसले लेख्ने होला ? जयराममा पक्कीपुल नबन्दा यातायात क्षेत्रमा तपाईंले गरेको दादागिरी पनि लेख्नुपर्ने नै छ । तर पनि, तपाईंको सधैं भलो होस् ।



