
‘गणतन्त्र स्थापना भएको पाँच वर्षपछि आफूले ल्याएको गणतन्त्रबाट आफैं लखेटिएकी थिएँ,’ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), बागमती प्रदेश कमिटी सदस्य जानुका धमला ‘सन्ध्या’ले वास्तविकता सुनाइन्, ‘त्यो पनि केवल जीवनयापनका लागि ।’
तत्कालीन जनमुक्ति सेना नेपालकी कम्पनी कमान्डर सन्ध्याले जनयुद्धमा श्रीमान्, बहिनी र ऊर्जाशील समय गुमाइन् । सर्वस्व गुमाउँदा पनि मुलुकमा सोचेजस्तो परिवर्तन नभएको उनको ठम्याइ छ । ‘क्यान्टोनमेन्टबाट फर्कंदा मैले भौतिक शरीरबाहेक गुमाउन बाँकी केही थिएन । क्यान्टोनमेन्टबाट बाहिरिएपछि पुरुष साथीहरू घर फर्के । उनीहरूको पैतृक सम्पत्ति छँदै थियो,’ एक दर्जन फौजी कारबाही र भिडन्तमा सहभागी उनले दुःखेसो पोखिन्, ‘विवाहित महिला श्रीमान्सँगै घर गए । मेरो त जाने ठाउँ थिएन । श्रीमान् गुमाएकीले घर जाने अवस्था थिएन । माइतको ढोका बन्द थियो । विद्रोह गरेर जनयुद्धमा हिँडेकीले माइतको ढोका ढप्किएको थियो । विकल्प नभएपछि हरियो पासपोर्ट बोकेर विदेश पुगें ।’
लेखक र पत्रकारको परिचय बनाएकी उनको ‘बारुदभित्र जीवन’ नामक पुस्तक सार्वजनिक भइसकेको छ । साढे दुई वर्षअघि नेपाल फर्केर उद्यमी बनेकी पूर्वजनमुक्ति सेना नेपाल, बागमती प्रदेश उपाध्यक्ष जानुका धमला ‘सन्ध्या’को जीवनशैलीबारे दीपेन्द्र राईले गरेको कुराकानीको सम्पादित अंश ।

विदेशमा रहँदा नेपाली खाना ‘मिस’
नेपाली खाना दालभातै मन पर्छ । विदेशमा रहँदासमेत नेपाली खाना ‘मिस’ गर्थें । खानेकुरा सबै मीठो लाग्छ । खानकै लागि रेष्टुरेन्ट जान्न । कामविशेषले पुगिहाल्दा बारा र अन्डा ‘अर्डर’ गर्न बिर्सन्न । पकाउन असाध्यै मन पर्छ । मैले पकाएको मसरुम स्वादिष्ट हुने प्रतिक्रिया पाएकी छु ।
सालिन्दा १५/२० हजारको पोसाक
नेपाली पोसाक मन पर्नु अस्वाभाविक होइन । तर, ट्रयाक–सुट, टी–सर्ट–पाइन्ट लगाउन सजिलो लाग्छ । कपडामा सोखिन छैन । सालिन्दा १५/२० हजार रुपैयाँ कपडामा खर्चन्छु । कपडाको रङ उमेरअनुसार परिवर्तन हुँदोरहेछ । हिजोआज सेतो कपडा मन पर्छ । विदेशबाटै ल्याएको कपडा लगाइरहेकी छु । जाराको कपडा रोजाइमा पर्छन् । सिलाउन परे जहींतहीं पुग्छु ।

बिहान–बिहान दौडिने
बिहान–बिहान दौडिन्छु । अन्य शारीरिक अभ्यास पनि गर्छु । डाइटिङ गरेकी छैन ।
संस्मरण, दैनिकी पढ्न जाँगर
स्नातक तहमा अध्ययनरत छु । सामाजिक अध्ययनसँगै अनुसन्धान गरिरहेकी छु । साहित्यमा संस्मरण, दैनिकी विधा पढ्न जाँगर चल्छ । म्याक्सिम गोर्की, कार्ल माक्र्स, जेनी माक्र्स, ऋषिराज बराल र तारा राईलगायत लेखक प्रिय लाग्छन् ।
हिँडेरै ६४ जिल्ला
जनयुद्धताका ६४ जिल्ला पुगेकी थिएँ । अधिकांश जिल्ला हिँडेरै पुगेकी हुँ । कतार, जापान, पोर्चुगल, फ्रान्सलगायत युरोपका ‘सेन्जेन’भित्रका सबै देश घुमेकी छु । घुमेकामध्ये बेल्जियम, जर्मनी र अस्ट्रिया असाध्यै मन पर्यो । तर, तुलनै गर्ने हो भने नेपालभन्दा सुन्दर देश संसारमै भेटिँदैन ।
हरियो पासपोर्ट बोकेर विदेश
फुर्सद कसैलाई हुँदैन । फुर्सद निकाल्ने हो । विदेश पुगेपछि समय र श्रमको महत्व बुझें । सडकमा कुचो लगाएँ । म सीपवान् भएर विदेश पुगेकी थिइनँ । गणतन्त्र स्थापना भएको पाँच वर्षपछि आफूले ल्याएको गणतन्त्रबाट आफैं लखेटिएकी थिएँ । त्यो पनि केवल जीवनयापनका लागि ।

क्यान्टोनमेन्टबाट फर्कंदा मैले भौतिक शरीरबाहेक गुमाउन बाँकी केही थिएन । मैले श्रीमान्, बहिनी र ऊर्जाशील समय गुमाएँ । सर्वस्व गुमाउँदा पनि मुलुकमा सोचेजस्तो परिवर्तन आएन । क्यान्टोनमेन्टबाट बाहिरिँदा मसँग मबाहेक केही थिएन । पुरुष साथीहरू घर गए । उनीहरूको पैतृक सम्पत्ति छँदै थियो । विवाहित महिला श्रीमान्सँगै घर गए । मेरो त जाने ठाउँ थिएन । श्रीमान् गुमाएकीले घर जाने अवस्था थिएन । माइत जान ढोका बन्द थियो । विद्रोह गरेर जनयुद्धमा हिँडेकीले माइतको ढोका ढप्किएको थियो । विकल्प नभएपछि हरियो पासपोर्ट बोकेर विदेश पुगें ।
फुर्सद पाइहालेमा किताब पढेर सदुपयोग गर्छु ।
सावित्रा भण्डारीको ‘फ्यान’
क्यान्टोनमेन्टमा रहँदा टेबुलटेनिस खेल्थें । फुटबल, भलिबल र ब्याडमिन्टन पनि खेलें । महिला फुटबलर सावित्रा भण्डारी ‘साम्बा’ असाध्यै मन पर्छ ।
४० हजारको मोबाइल सेट
सामसुङको मोबाइल सेट प्रयोग गर्दै आएकी छु । यसको ४० हजार रुपैयाँ परेको थियो । सामाजिक सञ्जालमा फेसबुक, ट्वीटर, ह्वाटसएपलगायत प्रयोग गर्छु ।
प्राथमिकतामा समाचार

टेलिभिजनमा समाचार प्राथमिकतासाथ हेर्छु । घरमा रहेको सामसुङ टीभीमा अरू पनि कार्यक्रम हेर्ने गरेकी छु ।
विपिन, दयाहाङ र मिरुनाको अभिनय जीवन्त
विदेशमा रहँदा चलचित्र असाध्यै हेर्थें । नेपाल फर्केको साढे दुई वर्ष भयो । नेपाली चलचित्र नहेरेको पनि थुप्रै भयो । पछिल्लो समय कबड्डी कबड्डी हेरेकी थिएँ । हेरेकामध्ये ‘नेपाली बाबु’ र ‘जारी’ असाध्यै मन पर्यो । विपिन कार्की, दयाहाङ राई र मिरुना मगरको अभिनय जीवन्त लाग्छ ।
शरीरभरि बमका छर्रा
जनयुद्धका घाइते हुँ । शरीरमा बमका छर्रा बोकिहिँडेकी छु । जाडोमा अलि गाह्रो हुन्छ । त्यसबाहेक स्वास्थ्य ठिकै छ । अहिलेसम्म तीनपटक ‘होलबडी चेक’ गराएकी छु । सकारात्मक सोचले मानिसलाई स्वस्थ रहन सघाउँछ । त्यतिमात्रै होइन, आफूलाई सधैंजसो शारीरिक रूपमा सक्रिय बनाइराख्नुपर्छ । अनि खानपानमा पनि त्यत्तिकै ध्यान दिनुपर्छ ।

भाषण गर्न जान्दिनँ
म भाषण गर्न जान्ने मानिस होइन । तर पनि भन्न खोजेको विषय प्रस्ट पार्न सक्छु ।
थाहा छैन
मादक पदार्थको स्वाद थाहा छैन ।
रोजाइमा स्वर सम्राट
गीत–संगीत मन पर्छ । स्वर सम्राट नारायण गोपालका गीत धेरै सुन्छु । प्रमोद खरेल, शिव परियार, मेलिना राई र अञ्जु पन्तका आवाज कर्णप्रिय लाग्छ ।
‘त्यो’ किताबमा लेख्छु
जान–अञ्जानमा गल्ती गर्नु मानवीय स्वभाव हो । तर, पश्चाताप लाग्नेगरी गल्ती गरेकी छैन । तर, गल्ती नगरे पनि सजाय पाएकी छु । त्यसरी पाएको सजाय धेरै छन् । प्रकाशोन्मुख किताबमा समेटेकी छु ।

६५ लाखको घर
आफू बस्दै आएको घर मैले नै बनाएकी हुँ । चारकोठे ढलानवाला घर बनाउन ६०/६५ लाख रुपैयाँ लागेको थियो ।
विश्वासै नलाग्ने
मेरो राशी कन्या हो । ग्रहदशा हेराउँदिनँ । ग्रहशान्ति गराउँदिनँ । विश्वास पनि लाग्दैन ।
सनक्रिमको सहारा
कपालमा तोरी तेल लगाउँछु । समय–समयमा कपाल ‘कलर’ गर्छु । घामबाट बच्न सनक्रिम लगाउँछु ।
जनयुद्धमा जनवादी बिहे
जनयुद्धमै रहँदा मैले बिहे गरेकी हुँ । पार्टीमा हामीभन्दा माथिल्लो नेतृत्वले गर भनेपछि हामीले बिहे गर्यौं । नेतृत्वले भनेपछि सरसल्लाह गर्यौं । बुवा आर्मी हुनुहुन्थ्यो । घरपरिवारसँग विद्रोह गरेर हिँडेकीले बिहेबारे सरसल्लाह गर्ने वातावरण थिएन । महिना दिनपछि बिहे गर्ने स्वनिर्णय गरें ।

व्यक्तिकेन्द्रित सपना
हिजो सामूहिक सपना देख्थें । आज व्यक्तिगत सपना देख्छु । हिजो समग्र राष्ट्रहितको सपना देख्थें । आज व्यक्तिकेन्द्रित । यो मानवीय स्वभाव हो ।
मुलुक मजबुत बनाउन सर्वप्रथम सभ्य समाज निर्माण गर्नुपर्छ । त्यसका लागि आधारभूत वर्ग पहिचान गर्नुपर्छ । आधारभूत वर्ग पहिचान गरेपछि उनीहरूसम्म पुग्नुपर्छ । उनीहरूको वास्तविक समस्या पहिचान गरेर निप्टारा लगाउँदै जानुपर्छ । त्यसो गर्नु भनेको साम्यवादको सुरुवाती चरण पनि हो । स्थानविशेषमा सबैले यस्तो अभ्यास गर्न सके देशलाई मजबुत बनाउन सकिन्छ ।
सहज होस् कामना
जन्मेपछि मर्नैपर्छ । यो ध्रुवसत्य हो । मृत्युसँग कत्ति पनि डर लाग्दैन । डर लाग्ने भए जनयुद्धमा जाने थिइनँ । मृत्यु सहज होस् भन्ने कामना छ । तर, हाम्रो वशमा छैन ।



