
‘प्रत्येक नेपालीलाई गाँस, बास र कपास सर्वसुलभ होस् । बिरामी पर्दा स्वास्थ्योपचार गर्न सक्ने हुन्,’ युवा नेता राजुविक्रम चाम्लिङको मान्यता छ, ‘स्नातक तहसम्म राज्यले नै पढाओस् ।’
नेता चाम्लिङ राजनीतिशास्त्रका विद्यार्थी हुन् । राजनीतिशास्त्रमा एमफिल गर्दै छन् । राज्यको कार्यकारी निकायमा रहेकालाई जनताका समस्या, आवश्यकता सुनाउँदा सुनिदिने हैसियत बनाउन सकूँ भन्ने युवा नेता राजुविक्रम चाम्लिङसँग तुवाचुङ साप्ताहिकका लागि दीपेन्द्र राईले गरेको कुराकानीको सम्पादित अंश :
गहते भात स्वादिस्ट
सबै खानेकुरा स्वाद मानी–मानी खाने बानी छ । तर, प्रोचे रों (मकैको च्याख्ला र गाउँमा फलाइएको धानको चामल) मिसाएर पकाइएको खाना असाध्यै मन पर्छ । गाउँमा फलाइएको धानको चामल र गहत मिसाएर पकाएको गहते भात त्यत्तिकै मीठो लाग्छ ।
खानकै लागि रेस्टुरेन्ट पुग्दिनँ । कामविशेषले पुगिहाल्दा लेकमा फलेको मकै र भटमास मगाउन बिर्सन्न । पकाउने रुचि खासै छैन । भान्छामा पस्नै पर्दा आफूले पकाएको खानेकुरा आफैंलाई मीठो लाग्छ ।
रोजाइमा रातो
अवस्था हेरेर कपडा लगाउँछु । रातो रङका कपडा रोजाइमा पर्छन् । गाउँमा छँदा कपडा सिलाएरै लगाइन्थ्यो । हिजोआज तयारी पोसाकै किन्ने गरेको छु । कपडा सिलाउन परे यदाकदा रेमन्ड पुग्छु । नत्र सामान्य टेलर्समै सिलाउँछु ।
कहिलेकाहीं ब्रान्डेड कपडा किन्छु । विदेशीमा केल्मी राम्रो लाग्छ । स्वदेशमी सोनाम । स्वदेशीलाई पनि प्रवद्र्धन गर्नुपर्छ भनेर सोनाम किन्ने गर्छु । यसैगरी ढाकाटोपीमात्रै होइन, ह्याट र क्यापसमेत लगाउँछु ।
आलु कम
फिटनेससम्बन्धी केही गर्दिनँ । डाइटिङ पनि छैन । वजन बढ्दै गएकाले आलु र खाना कम खान थालेको छु ।
बर्सेनि ५ हजारको किताब
हिजोआज अन्तर्राष्ट्रिय कानुन, संगठन, महासन्धिसँग सम्बन्धित किताब पढ्दै छु । विश्वव्यापी असर, प्रभाव, उत्पत्ति, अन्त्य, सत्यतथ्य तथा विज्ञानमा आधारित र प्रमाणित पुस्तक अध्ययन गर्न जाँगर चल्छ ।

मन पर्ने स्वदेशी/विदेशी लेखक थुप्रै छन् । त्यसमध्ये विक्रम सुब्बा र रवीन्द्रनाथ टेगोरको नाम सगर्व लिन्छु । मेरो निजी पुस्तकालयमा केही किताब छन् । सालिन्दा तीनदेखि पाँच हजारसम्मको किताब किन्छु ।
धपक्कै ढोरपाटन
जीवन भनेकै घुमफिर हो । घुम्न सधैं समय निकाल्ने प्रयास गर्छु । नेपालको ६१ जिल्ला घुमिसकेको छु । १६ देश टेकेको छु । तर, सिमाना घुमघाम गर्दा १९ देश पुगेको छु । एसिया, अफ्रिका, उत्तर अमेरिका र युरोप घुमेको छु । अस्ट्रेलिया र दक्षिण अमेरिका घुम्न बाँकी छ ।
घुमेकामध्ये ढोरपाटन, क्यान्जिन, लाङटाङ हिमाल असाध्यै मन पर्यो । त्यस्तै जेनेभा स्वीट्जरल्यान्डका गाउँ, थाइल्यान्डको क्रावी, मलेसियाको सब्बाह कोटाकिनाबलु, दक्षिण अफ्रिकाको दर्बान र जोहानेसवर्ग, टर्कीको इस्तानबुललगायत देशका गाउँठाउँ त्यत्तिकै मनमोहक लाग्यो । से–फोक्सुन्डो ताल घुम्न असाध्यै मन छ ।
भाइटीकामा समेत ‘बीजी’
राजनीतिकभन्दा प्रहरी, प्रशासन, वैदेशिक रोजगारीसँग सम्बन्धित सामाजिक काममै व्यस्त रहन्छु । बिदा बस्ने समय छुट्याएको छैन । भाइटीकाको दिनसमेत कुनै न कुनै काम गर्नुपर्ने बाध्यता आइलागिरहन्छ । अथवा विदेशको कुनै न कुनै कार्यक्रम परिराखेको हुन्छ । कुनै न कुनै काममा लागिरहनुपर्ने भएकाले फुर्सदै हुँदैन ।
परिवारकै लागि भनेर समय छुट्याएको छैन । काठमाडौं रहँदा बिहान बेलुका परिवारसँगै हुन्छु । कहिलेकाहीं पारिवारिक घुमघाम गरिन्छ । परिवारसाथ घुम्न, रेस्टुरेन्टमा खान गइन्छ । बाँकी समय आफ्नै तालमा बितिजान्छ ।
प्राथमिकतामा प्रीति
मलाई भलिबल मन पर्छ । पूर्वाञ्चलस्तरीय भलिबल खेलेको थिएँ । कुनै रिसबिना प्रतिस्पर्धीलाई पिट्नुपर्ने किक बक्सिङ त्यति मन पर्दैन । फुटबल पनि मन पर्छ । ब्राजिलको टीम मन पर्ने नै भयो । क्रिस्टियानो रोनाल्डो (पोर्चुगल) र प्रीति राई (नेपाल)को खेल उत्कृष्ट लाग्छ ।
बोल्ने/फोटो खिच्ने छुट्टाछुट्टै मोबाइल
मसँग दुई मोबाइल सेट छन् । कुराकानीका लागि २५ हजारको सामुसुङ र फोटो खिच्न आइफोन–१३ प्रोम्याक्स प्रयोग गर्दै आएको छु । प्रयोग गरिराखेको मोबाइल बिग्रेपछि मात्रै अर्को किन्ने गरेको छु । मोबाइलका अधिकांश एप्लिकेसन आवश्यकताका आधारमा चलाउँछु ।

टीभी किनेकै छैन
टीभी अहिलेसम्म किनेको छैन ।
१७ वर्षअघि हलमा
पछिल्लो समय युट्युबमा चलचित्र ‘नाङ्गो गाउँ’ हेरेको थिएँ । १७ वर्षअघि हलसम्म पुगेर चलचित्र ‘हामी तीन भाइ’ हेरेको हुँ । हेरेकामध्ये चलचित्र लाहुरे, घामछाँया र साथी असाध्यै मन पर्यो । दयाहाङ राई, मिरुना मगर र गोविन्दाको अभिनय जीवन्त लाग्छ ।
ग्यास्ट्रिकले गाह्रो
ज्यानलाई ठीकठाक छ । बेलाबखत ग्यास्ट्रिकले सताउँछ । समय–समयमा ‘होलबडी चेकअप’ गर्दै आएको छु । खानपानमा ध्यान दिएकाले अहिलेसम्म तन्दुरुस्तै छु ।
अलि आक्रामक
आफूले भन्न खोजेको कुरा प्रस्ट्याउन सक्छुजस्तो लाग्छ । भाषण गर्दा कुनै थेगो प्रयोग गरेको थाहा छैन । आफ्नो भाषण आफैंले सुन्दा अलि आक्रमक भएको अनुभूति गर्छु । केही तथ्यमै विषय राख्छु । भाषण गर्नुअघि विषयअनुसार तथ्य, तथ्यांकसम्बन्धी ‘अपडेट’ हुन्छु ।
परिस्थितिअनुसार पिउने
अवस्था हेरेर मापसे गर्छु । विदेशको प्रत्येक बैठक, कार्यशाला, भेला, तालिममा पहिलो वा अन्तिम दिन ‘सोलिडारिटी नाइट’ मापसेसहितको हुन्छ । गर्मी वा जाडोमा लिने मापसे अवस्थाअनुसार कोठा वा घरमै पकाएर खाइन्छ ।

विदेश जाँदा फर्कंदा ड्युटी फ्रिमा रहेकाले चाख्नकै लागि अघि सर्छु । कहिलेकाहीं महिनामा तीनपटकसम्म विदेश पुगेको छु । विदेश जाँदा स्वाद थाहा पाउन लागि पिएकै हुन्छु । गाउँघर पुग्दा घरेलु पिउँछु । मुलुकका विभिन्न गाउँ, सहर, बजार पुग्दा स्थानीय उत्पादन नपिउने कुरै भएन । कार्यक्रम, सामाजिक कार्य वा कार्यालयीय काममा अवसर पाउँदा पिउँछु । साथीभाइसँग भेघाट वा विदेशी साथीलाई स्वागत/बिदाइ गर्दा पिउनै पर्यो । तर, ज्यानलाई असहज हुने गरी पिउने बानी छैन ।
देउसी–भैलोमा रहर पूरा
सम्भव भएसम्म गीत–संगीत सुन्छु । सुन्दै काम गर्ने, हिँडडुल गर्ने बानी छ । सुजन चापागार्इं, मेलिना राई, प्रकाश दुतराज, राजेशपायल राई, रामकृष्ण ढकाल, कुन्ती मोक्तान र माइकल ज्याक्सनको आवाज कर्णप्रिय लाग्छ ।
बाल्यकालमा देउसी–भैलोमा रहर पुग्नेगरी गीत गाइयो । तर, आफूलाई मन परेको गीत गुनगुनाउने गर्छु ।
माछा चोर्दा रामधुलाइ
सुनकोसीमा टिप (उँभौलीमा माछा पार्न थाप्ने, सिटो घाँसबाट बुनेको चाल्नो)मा परेको माछा निकाल्नुलाई ‘माछा चोरेको’ भनिन्थ्यो । मैले त्यही माछा निकालेको हुँ । उँभौलीमा माछा कोसीछेउछउ भएर उकालो लाग्दा टिपमा पर्छ । कोसीछेउछेउमा सानो, गहिराइमा अलि ठूलो हुँदै दुईदेखि तीन लाइन माछा लामबद्ध भएर उकालो लाग्दा घागी (पानी पेलिएर बनेको छाल)बाट उकालो नगई छेउको पानीबाट जान खोज्छ । जहाँ बनाइएको कुलोकुलो जाँदा सिटाको चाल्नोले छेकेर साइडमा माछा छिर्ने प्वाल पानीसँगै झर्ने गरी राखिन्छ । पानी धाराजस्तै झर्दा अर्को चाल्नोमा नाङ्लोजस्तै राखिएको हुन्छ । जुन पानी चाल्नोबाट छिरेर जाँदा माछा अडिन्छ । यसरी उनाउ हिँड्ने माछाको लहर पाँचदेखि १० किलोमिटर वा एउटा उनाउ एकदेखि तीन दिनसम्म लामबद्ध चर्दै उकालो लाग्छ । त्यस्तो अवस्थामा टिपमा परेको माछा निकाल्न जाँदा उनाउ माछा भड्किँदा आफ्नो लाइन छाडेर फेरि छाल भएबाटै उफ्रँदै उकालो लाग्छ । त्यो अवस्थामा निकाल्दा माछा टिपमा पर्दैन ।
मेरोसहित सात परिवार मिलेर थापेको टिपको माछा निकाल्दा आपाले कन्सिरी तानेर एक घन्टा झुन्ड्याए । त्यसपछि तीन दिनसम्म थला परें । कन्सिरी समातेर आपाले उचाल्दा छाला लोट्किएर कानको जालै गएजस्तो लागेको थियो ।

टिफिन टाइमपछि अंग्रेजी विषय पढाइ हुन्थ्यो । टिफिनपछिको घन्टी लाग्नसाथ अंग्रेजी शिक्षक कक्षा प्रवेश गर्नुभयो । भलिबल खेल्ने र हेर्ने कक्षामा थिएनन् । शिक्षकले कक्षाका सबै विद्यार्थीलाई दुवैपट्टिको गालामा चड्कन हान्नुभयो ।
केटाकेटीमा काकाकै नेतृत्वमा हिँडिन्थ्यो । बिगार पनि गरिन्थ्यो । आफू सहभागी नहुँदासमेत उहाँहरूले बदाम खन्दिन्थे । केरा खाइदिन्थे । कतिपय अवस्थामा मैले पनि गाली खानुपथ्र्यो ।
छैन नि
अहिलेसम्म घर बनाएको छैन । आपाकै घरको भर ।
विश्वास नलाग्ने
मेरो राशी वृश्चिक हो । अहिलेसम्म ग्रहदशा देखाएको छैन । ग्रहशान्ति गराएको छैन । ग्रह र नक्षत्रको फलप्रति विश्वास लाग्दैन ।
अवसर पाइहालेमा लिने
कपालमा कहिलेकाहीं तेल लगाउँछु । फेसियल गर्ने बानी छैन । अनुहारमा क्रिम लगाउँदिनँ । विदेशको कार्यक्रममा सहभागी हुँदा सेन्ट प्रयोग गर्छु । कार्यक्रममा जाँदा अवसर पाइहालेमा स्टीम लिन्छु ।
परेन प्रेम
हामीले मागीबिहे गरेका हौं । कसैलाई प्रेम गरिनँ ।
स्नातकसम्म निःशुल्क
प्रत्येक नेपालीलाई गाँस, बास र कपास सर्वसुलभ होस् । बिरामी पर्दा स्वास्थ्योपचार गर्न सक्ने हुन् । स्नातक तहसम्म राज्यले पढाउन सकोस् । त्यस्तो नेपालको कल्पना गरेको छु ।
म राजनीतिशास्त्रको विद्यार्थी हुँ । राज्यको कार्यकारी निकायमा रहेकालाई जनताका समस्या, आवश्यकता सुनाउँदा सुनिदिने हैसियत बनाउन सकूँ ।

समय–समयमा विदेश जाने गर्छु । विदेश गइरहन्छु । तर कार्यक्रम, तालिम, अध्ययनका लागि मात्रै ।
धन्नधन्नले जोगिएँ
जन्मेपछि मर्नै पर्छ । यो प्रकृति र समयको खेल हो । मृत्यु शाश्वत सत्य भएकाले डरसँग सम्बन्धै रहेन । तर, कसरी भन्नेमा अन्योल हुन्छ ।
मृत्युको नजिक पुगेको थुप्रै घटना छन् । गाउँको आहालमा पौडी खेल्दा डुबेर पानी खानसम्म खाएँ । गाउँकै काकाले निकाल्नुभयो । सुनकोसीमा पौडी खेल्दा बगाइरहेको समय काकाले नै बचाउनुभयो । पीपल खान पस्दा हाँगोमा भाँचिएर पछारिँदा धन्नले बाँचेको थिएँ ।
मृत्यु सहज होस् भन्ने लाग्छ । जोकोहीलाईलाई दुःख नहोस् ।



