ए अपराधी ! तिम्रो पक्षपाती नजरको चिहान खन्न लागेको छु



बिस्तारै हिँडिरहेको मान्छे पनि
हस्याङफस्याङ गर्दै दौडिरहेझैं देख्छु
बिस्तारामा पल्टिरहेको मान्छे पनि
भीरको टुप्पोबाट हामफालिरहेझैं देख्छु
कोही पानी पिइरहेको भए पनि
आगो ओकलिरहेझैं देख्छु
कोही हाँसिरहेको भए पनि
रोइरहेकोजस्तो देख्छु
खासमा के हो आजकाल ?
यो दुनियाँँ बहुलायो कि !
कि म बहुलाएँ ?
अपराधीहरूको बहुमत देख्छु !

बाटोमा भेटिनेहरू
कार्यस्थलमा देखिनेहरू
सबैको सबै अनुहार पढ्छु
शिर – पाउ, पाउ – शिर आँखा डुलाउँछु
माटो बेचुवाजस्तो देख्छु
सम्हालिएर हेर्दा पनि
पानी बेचुवाजस्तो देख्छु
हैट्ट के भयो आजकाल मलाई ?
टाउको यस्सो हल्लाउँछु र होशमा आउन खोज्दै हेर्छु
अगाडि देश बेचुवा मलिसाप्रोको झोले नाचिराखेको देख्छु
खासमा के भयो आजकाल मलाई ?
किन यो दुनियाँँ बहुलाहा बनाइँदै छ
कि म उस्तो बनें ?
जसलाई भेटे पनि किन अपराधीजस्तो देख्छु ?

म किन बहुलाएँ, यो दुनियाँँमा ?
सहरभरि माफिया दौडिरहेको देख्छु
चोक–चोकमा दलालहरूको घुइँचो देख्छु
गल्लीगल्लीमा जालीझेली र षड्यन्त्रकारीहरूको लावालस्कर भेट्छु ।
खासमा आजकाल के भएको हो ?
सकेसम्म मसँग बोल्न डराउँछन्
परपरै हच्किन्छन्
यसले त सत्य कुरा पो बोल्छ है भनेर !
मलाई उल्टै लपेट्न खोज्छन्
ए अपराधी !
तिम्रो पक्षपाती नजरको चिहान खन्न लागेको छु
होस् गर !

प्रतिक्रिया दिनुहोस्